रहेनन् वरिष्ठ गीतकार रत्नशमशेर थापा

बिएल संवाददाता

काठमाडाै‌ं

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ।  ८१ वर्षीय थापाको उपचारका क्रममा बिहीबार दिउँसो १२ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

उनलाई बुधबार बेलुकी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

कालजयी गीतका रचनाकार थापाको राष्ट्रिय भावनाले ओतप्रोत ‘जाग लम्क चम्क हे नौजवान हो’, जीवन कथामा आधारित ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘विछोडको पीडा नसकी खप्न’ लगायतका गीत चर्चित छन्। 

उनकाे याे किवता उनकै बारेमा

ठ्याक्कै सम्झना छैन
कहिलेदेखि लेख्न थालेँ
स्कुलमा लेखेका कविताहरू
सम्हालेर राखिनँ
पछि लेखेजति सबै कण्ठ छन्
सम्झनामा छ पहिलो कविता–
‘मन पर्छ त्यो रात’
सुरूमा त म प्यारोडी लेख्थेँ
गाएर हिँड्थेँ
तबला बजाउँथेँ
कान्छा उस्ताद भन्थे सबैले ।

००
तीन जना बहिनीहरूसँग हुर्केको
म एक्लो दाइ
विज्ञानको पढ़ाइ छोडेर
मानविकीतिर लागेँ
तर स्नातकोत्तरको शोधपत्रमा
अन्याय गरे मसँग अनि
केही दिन मोरङ सुगर मिलको जागिर
त्यसपछि कोचिङ् क्लासतिर पढ़ाउन लागेँ
त्यसपछि त लेखनमै बित्यो जिन्दगी
कुनै जागिर खाइनँ ।
खै ! कसरी हुर्के दुइटा छोराहरू ?
कसरी चल्यो बिनाजागिरको जिन्दगी ?
पुर्खाहरूले कमाइदिएको
सम्पत्ति पनि लुटिएजस्तो छ
तर आफ्नो सम्पत्ति लुटिएको भन्दा
देश लुटिएकोमा मन दुख्छ
रिस पनि उठ्छ ती लुटेराहरूसँग
र त्यही रिस गीत र कवितामा पोखिन्छन् ।

००
मैले नलेखेको कुनै विधा छैन
गीत, कविता, नाटक, आख्यान
अझ नाटक त
लेखन, निर्देशन, अभिनय सबै गरियो
गीत त मैले अरूको नाममा पनि
रेकर्ड गराएको छु
कत्तिले गीत लेख्न लाउँछन् र हराउँछन्
अस्ति भर्खर एकजना भाइले
रक्सीको गीत लेख्न लगाए र हराए ।
पैसाका लागि कहिल्यै गीत लेखिनँ
अहिले पनि मन परेका भाइहरूलाई
यत्तिकै गीत लेखेर दिन्छु
नभए लेखेर थन्क्याउँछु ।
गीतको पारिश्रमिक पाँच हजारसम्म पाएको छु
त्यो पनि एक लाख भन्दा बढ़ी
एल्बम बिक्री भएपछि ।

००
पैसा भन्दा नि माया पाएको छु
सम्मान पाएको छु
पुरस्कारहरू त कति पाइयो गन्नैपर्छ
नगदकै कुरा गर्ने हो भने
एघार हजारदेखि लाख रूपियासम्म छन् ।

००
सुरा र सुन्दरीको लत कहिले लागेन
तर यो चुरोटले भने कहिल्यै छोडेन ।
माया गर्ने र गफ गर्ने
भाइहरूको सङ्गतमै रमाउँछ मन
बिहानै हिँडेको पेटलाई
मज्जाले हाँस्न पाए
भोक पनि लाग्दो रहेनछ
चार दशक भो होला
हटकेसमा राखेको भात दिउँसो एक्लै खाएको ।

००
ट्युन र मिटर दुबैमा
सजिलै गीत लेख्छु
तर ममा कहिलै घमण्ड आएन
अहिलेका सङ्गीतकारहरूमा परिपक्वता छैन
ज्ञान छ तर कम्प्लेक्स पालेर बसेका छन् ।
अम्बर गुरुङ अद्भुत प्रतिभाशाली थिए
म उनलाई सम्मान गर्छु
नारायणगोपाल, प्रेमध्वज र माणिकरत्नको
म प्रिय गीतकार हुँ ।

००
दुईवटा गीतका
र दुईवटा कविताका
किताबहरू छापिएका छन्
त्यीमध्ये एउटा छाप्ने क्रममा
साझाले सारै दुःख दियो
तै किताब छापियो ।
चुरोट मात्रै होइन
लेखेको सम्हाल्न नसक्नु
पनि मेरो कमजोरी हो ।

प्रकाशित मिति: : 2020-05-28 15:52:04

प्रतिकृया दिनुहोस्