अमेरिकामा डरलाग्दो हिंसा, धेरै सहरमा आगजनी, ह्वाइट हाउस लकडाउन

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिका यतिबेला कोरोनाभन्दा पनि ठूलो समस्यामा फसेको छ। देश रंगको आधारमा नराम्ररी विभाजित भएको छ। काला रंगका मानिसहरू सडकमा उत्रेर आक्रोश पोखिरहेका छन्। उनीहरूको आक्रोशको अगाडि सारा कुरा गौढ भएको छ। र, अमेरिकाका धेरै ठूला सहर तोडफोड र आगजनीका शिकार भएका छन्। 

मिनेसोटा राज्यको मिनियापोलिसबाट सुरू भएको आक्रोशको ज्वाला देशका ठूला सहरमा फैलिएको छ। मिनियापोलिसमा लुटपाट, तोडफोड र आगजनी भएपछि कर्फ्यु लगाइएको छ । तर, प्रदर्शनकारीहरू कर्फ्युको बेवास्ता गर्दै आगजनी गरिरहेका छन्। प्रहरी कार्यालय, व्याापारिक मल खरानी भैरहेका छन्।  

केन्टकीको लुइभिल र जर्जियाको एटलान्टामा पनि तोडफोड र आगजनीका घटना घएका छन्। एटलान्टामा रहेको सीएनएनको हेडक्वार्टरमाथि आक्रमण भएको छ। आक्रोशित प्रदर्शनकारीहरूले गरेको आगजनीलगायतका घटनाको प्रत्यक्ष प्रसारण गरेपछि उनीहरू सीएनएनसँग आक्रोशित भएका हुन्। प्रदर्शनकारीले सीएनएन हेडक्वार्टरमा तोडफोड गरेर ठूलो नोक्सानी पुर्याएका छन्। यतिबेला त्यहाँ ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको सीएनएनले जनाएको छ।

अमेरिकामा केही समययता एकपछि अर्को अश्वेतहरूको निर्मम हत्या भएपछि काला रंगका मानिसहरूको आक्रोश विस्फोट भएको हो। पछिल्लो समय मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइड निर्ममतापूर्वक मारिएको भिडियो सार्वजनिक भएपछि घटनाले उग्ररूप लिएको हो। त्यसअघि एटलान्टामा अहमद अर्बेरी नामक अर्का अश्वेत युवालाई श्वेत बन्दुकधारीले मारिदिएपछि अमेरिकामा श्वेत-अश्वेतबीचको सम्बन्ध बिग्रन सुरू गरेको थियो। त्यसको केही दिनपछि केन्टकीको लुइभिलमा अर्का एक अश्वेत ब्रेवना टेलर मारिएपछि आक्रोश अरू थपिएको थियो।

यसरी एकपछि अर्को अप्रिय घटनाका कारण समस्या बढिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनकारीलाई ठग भन्दै जब लुटपाट हुन्छ तब गोली चल्छ भन्ने पुरानो रंगभेदी भनाइ ट्विट गरिदिए। उनको ट्विटले वातावरणलाई थप उत्तेजित बनाउन सहयोग पुगेको खासगरी स्थानीय डेमोक्रेट नेताहरूको आरोप छ। उनीहरूले राष्ट्रपति ट्रम्प डेमोक्रेट नेतृत्वलाई असफल देखाएर चुनावी पासा पल्टाउन लागिपरेको आरोप लगाएका छन्। 

राष्ट्रपति ट्रम्पको ट्विटलाई लिएर विपक्षीहरूले त आलोचना गरेकै छन्, उनकै रिपब्लिकन पार्टीका कतिपय नेताहरूले पनि अनावश्यक ट्विट भनेर त्यसको आलोचना गरेका छन्। 

यसैबीच राजधानी वासिङ्टन डीसीमा पनि जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै विरोध प्रदर्शन भएको छ। ह्वाइट हाउसको बाहिर प्रदर्शन भएर तनाव बढ्दै गएपछि ह्वाइट हाउस पनि लकडाउन गरिएको छ। 

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति ट्रम्प जसरी पनि चुनाव जित्ने होडमा छन् भने उनको विरोधी दल उनलाई जसरी पनि चुनाव हराउने अभियानमा जुटेको छ। यही जसरी पनि जित्ने र हराउने प्रतिष्ठा युद्धकै कारण अमेरिकामा बिहारी शैलीको चुनाव प्रवेश गरेको छ। पछिल्लो घटनालाई पनि चुनावी जोडघटाउका कोणबाट हेर्न थालिएकाले समस्या अरू गम्भीर बन्दै गएको छ। 

यो सप्ताहान्तमा प्रदर्शनअरू बढी हिंसात्मक हुने सम्भावना बढ्दो छ। त्यसलाई ध्यानमा राखेर सुरक्षा थप कडा पारिएको छ। कतिपय स्थानमा सेना पनि परिचालन गरिएको छ। 

प्रकाशित मिति: : 2020-05-30 10:12:17

प्रतिकृया दिनुहोस्