सिरी ए र कोपा इटालियाको खेल तालिका सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसका (कोभिड–१९) का कारण स्थगित भएको इटालीयन ‘सिरी ए’ अन्तर्गत यस सिजन बाँकी रहेका खेलको तालिका सार्वजनिक भएको छ।
कोरोना महामारीपछि सिरी ए  लिग अगष्ट पहिलो साता सकाउने तयारी छ।

इटालियन फुटबल फेडेरेसनले सोमबार सिजनको बाँकी खेल तालिका तय गरेको हो। लिग जुन २० देखि फेरि शुरु हुँदैछ। 

जसअनुसार जुन २० मा दुई खेल हुँदैछ। २५औं चरणका चार खेल बाँकी रहेकोले शुरुमा त्यो खेलहरु सकाइनेछ। त्यसपछि दैनिकजसो सिरी ए मा खेल हुनेछ।

पहिलो दिन टोरिनो र पार्मा तथा हेलास भेरोना क्याग्लिएरिबीच खेल हुनेछ। यस्तै जुन २१ मा एटलान्टा र ससुलो तथा इन्टर र साम्पडोरियाबीच खेल हुनेछ।

यी चार खेलबाहेक सिरी ए मा अझै १२ चरणको खेल बाँकी छ। जुन २२ देखि २६औं चरणका खेलहरु शुरु हुनेछन्। जुन २२ मा लिग लिडर युभेन्ट्स र बोलोग्नाको खेलसहित ३ खेल हुनेछ। युभेन्ट्सभन्दा एक अंकले मात्र पछि रहेको लाजियोले दुई दिनपछि एटलान्टासँग खेल्नेछ।

यस्तै यस सिजनको महत्वपूर्ण र उपाधि छिनोफानो हुन सक्ने खेलको रुपमा रहेको युभेन्ट्स र लाजियोबीचको खेल जुलाई २० मा हुने तय छ।

लगातार नवौं पटक लिग उपाधि जित्ने अभियानमा रहेको युभेन्ट्स २६ खेलबाट ६३ अंकसहित पहिलो स्थानमा छ भने समान खेलबाट ६२ अंक जोड्दै लाजियोले युभेन्ट्सलाई पछ्याइरहेको छ। इन्टर ५४ अंकसहित तेस्रोमा र ४८ अंक जोडेको एटलान्टा चौथोमा छ।

सिरि ए अघि नै इटलीमा जुन दोस्रो साता फुटबल अफिसियल्ली शुरु हुनेछ। कोपा इटालिया अन्तर्गत सेमिफाइनल र फाइनल खेलहरु जुन २० अघि नै हुनेछन्।

सेमिफाइनल दोस्रो लेग जुन १२ र १३ मा हुनेछ। सेमिफाइनल पहिलो लेगमा युभेन्ट्स र एसी मिलानले १-१ को बराबरी खेल्दा नापोलीले इन्टरलाई १–० ले हराएको थियो।

सेमिफाइनलको पाँच दिनपछि जुन १७ मा फाइनल खेल रोममा हुनेछ।

प्रकाशित मिति: : 2020-06-02 11:09:14

प्रतिकृया दिनुहोस्