म्यान्मारबाट २६ नेपाली स्वदेश फर्किए, सबैलाई सेनाका गाडीबाट होल्डिङ सेन्टरमा पुर्‍याइने (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

म्यान्मारबाट शुक्रबार २६ जना नेपाली स्वदेश फर्किएका छन्। लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किएकाे यो पहिलो समूह हो। उनीहरूलाई म्यानमार सरकार र नेपाली दूतावासको पहलमा स्वदेश फर्काइएकाे हाे। 

म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर उनीहरुलाई नेपाल ल्याएकाे छ। त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टरमा पुर्‍याइने छ।

उनीहरूलाई त्यहाँसम्म लैजान विमानस्थलमा नेपाली सेनाका गाडीहरु पुगेका छन्। विमानस्थल स्रोतका अनुसार उनीहरुलाई लैजान अलग अलग गाडीको व्यवस्था गरिएको छ।

म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन्। 

यता म्यानमारबाट नेपालीलाई लिएर नेपाल आएको सैन्य विमानले नेपालमा रहेका ४० जना म्यानमारका नागरिकलाई लिएर फर्केको छ।

म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्। त्यहाँ ठीक हुनेको संख्या आधाभन्दा बढी छ। १ सय ४८ जना संक्रमणमुक्त भइसकेको म्यानमारमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2020-06-05 11:47:28

प्रतिकृया दिनुहोस्