रेडियोबाट पढाइ शुरुः  विद्यार्थी र शिक्षक उत्साहित

रासस

सोलुखुम्बु

जब बिहान ७ः०० र साँझको ६ः०० बज्छ, तब गाउँगाउँका बालबालिका बिहान १०ः०० बजेको समयमा विद्यालय हिँडेझैँ रेडियो नजिक पुग्छन् । 

फेरि यहाँका स्थानीय रेडियोको प्रसारण साँझ, बिहानमात्रै होइन २४सै घण्टा हुन्छ । तर पनि साँझ र बिहान ती बालबालिकाका लागि सबैभन्दा नजिकको साथी रेडियो बन्नुको मुख्य कारण छुट्टै छ । 

बन्दाबन्दीका कारण विद्यालय शिक्षाबाट वञ्चित रहेका कक्षा १ देखि ८ सम्मका विद्यार्थी लक्षित (रेडियोबाट सिकाइ) कार्यक्रम स्थानीय रेडियोबाट हरेक दिन प्रसारण हुन्छ । 

कार्यक्रम सुनेर सिक्नकै लागि उनीहरुले नियमित रेडियो सुन्ने गरेका छन् । कक्षा ७ मा अध्ययनरत थुलुङ दूधकोशी–६ मुक्लीकी दिव्या राईले लकडाउनका कारण पढ्ने बानी कम हुन थालेको भए पनि विगत एक महिनायता पुनः पढ्ने बानीको विकास भएको बताए । विद्यालय शिक्षाबाट वञ्चित  दिव्याजस्ता कैयौँ बालबालिकालाई रेडियोको सिकाइ सहयोगी बनेको छ । 
     
यस्तै कक्षा ४ मा अध्ययनरत दिव्याकै बहिनी सुप्राज्ञ राईको पनि दैनिकी बदलिएको छ । अनलाइनमार्फत पनि कक्षा दोहो¥याई तेहे¥याई सुन्ने गरेको उनको भनाइ छ । शुरुमा अभिभावकले समेत बिहान बेलुकाको समयमा रेडियो सुन्न लगाउनुपर्ने भए पनि अहिले आफँै पढ्न बस्ने गरेको अभिभावक धनरुपा राईको भनाइ छ । 

लकडाउनका कारण पठनपाठन ठप्प भएपछि सोलुखुम्बुमा नयाँ शिक्षण विधि अपनाइएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपाल नामक गैरसरकारी संस्थाले स्थानीय रेडियोमार्फत कक्षा सञ्चालन गरिरहेको छ । बन्दाबन्दीका कारण दुई महिनादेखि घरमा नै बस्न बाध्य बालबालिकाले रेडियोबाट सिक्ने वातावरण निर्माण भएपछि खुशी भएका छन् । 

जनजागृति मावि सल्लेरी कक्षा ३ मा पढ्ने सिसम राईले पनि रेडियोबाट सिक्न रमाइलो लागेको बताए । उनले पनि मोबाइलबाटै रेडियो सुन्दै आफ्नो कक्षा नछुटाई सुन्ने गरेको अभिभावक निमडोमा राईको भनाइ छ । जसबाट विद्यार्थीको शिक्षा लिन पाउने अधिकारसमेत सुरक्षित भएको उनले महसुस गरे । 

कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय केन्द्रित (रेडियोबाट सिकाइ) कार्यक्रम सञ्चालन गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए । विगत एक महिनादेखि जिल्लाको सोलु र हिमाल एफएममार्फत उक्त कार्यक्रम प्रसारण भइरहेको छ । हरेक दिन साँझ र बिहान प्रसारण हुने रेडियोबाट सिकाइ कार्यक्रम प्रभावकारी भएको विद्यार्थी तथा शिक्षकको प्रतिक्रिया छ । 

सोताङ क्षेत्रका विद्यार्थी सानो समूहमा मिलेर रेडियो सुन्ने र सिक्ने गरेको वरबोट आधारभूत विद्यालयका विद्यार्थी सुदीप कार्कीले बताए । आफ्नो घरमा रेडियो नभएकाहरु रेडियो हुने घरमा पुग्ने गरेको शिक्षकको भनाइ छ । सल्यानमा वरपरका साना साना नानीबाबुहरु ७ः०० बजे नै कापी कलम बोकेर रेडियो सुन्न आइपुग्ने गरेको शिक्षक चूडाकुमारी केसीले बताए । उनले रेडियो सुन्दै विद्यार्थीले सिक्दै गरेको र उनीहरुले नबुझेको कुरा आफूले बुझाउनका लागि सहजीकरण गरिरहेको बताए ।  

त्यस्तै दूधकुण्ड हिमालय आधारभूत विद्यालयका विद्यार्थीले फोन गरेरै आज त कथा सुन्यौँ, गीत गायौँ मिस भनेर आफूलाई सुनाउने गरेको शिक्षक रमा कट्टेलले बताए । यो कार्यक्रमले विद्यार्थीलाई मात्र होइन, शिक्षकलाई समेत सहयोग पुगेको शिक्षक सुमन निरौलाको भनाइ छ । शिक्षक केशरी श्रेष्ठले रेडियो कार्यक्रम ज्यादै राम्रो भएकाले विद्यार्थीलाई सिकाइमा निकै टेवा पुग्ने विश्वास व्यक्त गर्दै आफूले पनि दैनिक कार्यक्रम सुन्दै आएको बताए । 

कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने र विद्यालय सञ्चालन नहुन्जेल निरन्तरता दिने रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव गिरीको भनाइ छ  । अष्ट्रेलियन हिमालयन फाउण्डेसनको सहयोगमा वैशाख २१ गतेदेखि रिड नेपालले नियमितरुपमा (रेडियोबाट सिकाइ) कार्यक्रम प्रसारण गरिरहेको छ ।
 

प्रकाशित मिति: : 2020-06-05 17:02:50

प्रतिकृया दिनुहोस्