'कतै उनीहरू नै त यो घटनामा संलग्न छैनन् बाबा?'

'कतै उनीहरू नै त यो घटनामा संलग्न छैनन् बाबा?'

मदन भण्डारी नेपाली राजनीतिका विद्यार्थीका लागि कुनै नौलो नाम होइन। यद्यपि, यो नाम आज उनकै पार्टी र नेताका चरित्रका कारण क्रमश: सम्झन लायक हुन छोडेको छ। नयाँ पुस्ताका लागि त यो नाम अपरिचित नै छ भने पनि हुन्छ। 

मैले पनि मदन भण्डारीसँग पातलो उठबस गर्ने मौका पाएको छु। उनको अन्तर्वार्ता लिएको छु, उनका कयोैं भाषणको रिपोर्टिङ गरेको छु र २०४८ सालमा काठमाडोैं निर्वाचन क्षेत्र नम्बर १ बाट सांसदको उम्मेद्वार हुँदा चुनाव प्रचारकसमेत रहेको छु। त्यही क्षेत्रको मतदाता भएकाले उनलाई मत पनि दिएको छु। योभन्दा बढी म उनको व्यक्तित्व, अध्ययनशीलता, विश्लेषण क्षमता, वाकपटुतालगायतका गुणबाट पनि प्रभावित छु। 

प्रस्तुत पृष्ठभूमिमा मेरा लागि मदन भण्डारी अपरिचित हुने कुरै भएन। तर, मेरो १२ वर्षे छोराका लागि भने यो नाम बिल्कुलै अपरिचित छ। उसलाई आकर्षण गराउने, सम्झाउने र यो नाम सम्झनुपर्ने खासै कारण पनि मैले देख्न छोडेको छु।

अस्ति मैले नेपालमा दुई रहस्यमय ठूला मृत्युघटनाका कुरा गर्ने सन्दर्भमा मदन भण्डारीको नाम लिएको थिएँ। कुरैकुरामा उनकै श्रीमती राष्ट्रपति भएको र उनकै पार्टीको प्रचण्ड बहुमतको सरकार रहेको के भनेको थिएँ, छोरोले सोधी हाल्यो, 'रहस्य भए किन पत्ता नलगाएको त? उनकै श्रीमती राष्ट्रपति र सहकर्मीहरू प्रधानमन्त्री हुँदा पनि किन रहस्य सुल्झाउँदैनन्? कतै उनीहरू नै त यो घटनामा संलग्न त छैनन् बाबा? ' 

उसको प्रश्नले मेरो टाउकोमा घनले हानेजस्तो लाग्योे। मेरो दिमाखमा पनि यदाकदा यो सेकेण्ड ओपनियन नआउने हैन।भनिन्छ,  राजनीतिमा जे पनि सम्भव हुन्छ। यस भनाइलाई आधार मान्ने हो भने यो पनि असम्भव छैन। 

आज मदन भण्डारी स्मृतिदिवश हो। मदन भण्डारीका अगाडि जननेता लगायतका विभिन्न विशेषण थमाएर उनको सम्झना गरिदैछ, गुलावी सम्झनामा प्रशस्ति गाइदैछ। तर, त्यो प्रशस्ति उनीहरू मात्रै गाउँदैछन् जो मदन भण्डारीलाई क्रमश: बिर्सनलायक र असान्दर्भिक बनाउँन मूलरूपमा जिम्मेवार छन्। भण्डारीलाई यस्तो विस्मृतिमा लैजान उनका विरोधीको हैन, उनकै पार्टी र अनुयायीको भूमिका छ।

भनिन्छ, मानिसको सफलता आधा उसको हुन्छ, आधा उसको सन्ततिको। अर्थात्, कुनै पनि मानिस आफ्ना सन्ततिलाई सफल बनाएपछि मात्र पूर्ण सफल मानिन्छ। यही कुरा नेताको हकमा भन्ने हो सफल र दूरद्रष्टि नेता त्यो हो जसले आफ्नो विचारले पार्टीलाई सबल र भावी नेतृत्वलाई सक्षम बनाउँछ।

यो दुई कोणबाट हेर्दा मदन भण्डारी सफल नेता हुन् कि हैनन् ? वहस गर्न जरूरी छ। उनले बहुदलीय जनवादको प्रतिपादन गरे, एमालेलाई आजको आकारमा आउने धरातल दिए। अहिलेसम्म यही कोणबाट उनको सम्मान गरिएको छ, गुणगान गाइएको छ। एउटा दुर्घटनामा मृत्यु भएको र त्यो अझसम्म पनि रहस्यमय भनिदै आएकोले उनीप्रति सहानुभूति पनि छ। त्योभन्दा पनि ठूलो कुरा उनी सत्ताको परीक्षामा सहभागी नहुदै विदा भएकाले उनी भएको भए यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भन्ने छुट छ। 

आज मदन भण्डारी स्मृतिदिवश हो। उनलाई जननेताका रूपमा हेर्ने एउटा पंक्ति नेपालको शासनसत्तामा छ। उनकै श्रीमती नेपालकी राष्ट्रपति छिन्। के त्यही पार्टीका भूतपूर्व महासचिवका रूपमा वा वर्तमान राष्ट्रपतिका पतिका रूपमा सम्झने उनलाई? कि एक सफल र दूरद्रष्टि नेताका रूपमा सम्झने? एक सफल नेताका रूपमा सम्झने हो भने उनले आफ्नो विचारले पार्टीलाई सबल र भावी नेतृत्वलाई सक्षम बनाउँनुपर्ने हुन्छ। यी दुई कोणबाट हेर्दा मदन भण्डारी सफल नेता हुन् कि हैनन्? वहस गर्न जरूरी छ। त्यो बहसको थालनी सेकेण्ड ओपनियनबाट हुन सक्छ। यो टिप्पणी त्यही कोणबाट उठान गरिएको एक विनम्र प्रयास हो।  

उनी पनि सत्तामा पुगेपछि अहिलेका उनका अनुयायीजस्तै मौका नपाएसम्म कम्युनिष्ट त्यसपछि कमाउनिष्ट मात्र हुन्थे कि फरक हुन्थे ? अब यो कहिलै उत्तर नमिल्ने एक अनुत्तरित प्रश्न हो। यसबारेमा पक्ष र विपक्षमा तर्क गर्न सकिने मात्र हो जसको कुनै अर्थ र उपादेयता पुष्टी गर्न थप कसरत गर्नपर्छ। 

उनलाई शंकाको सुविधा त दिन सकिएला तर लगभग उनकै अभिभावकत्व र छत्रछायामा हुर्किएकी उनकी जीवनसंगिनीको अहिलेको विलासी जीवनशैली हेर्दा उनमा पनि शंका गर्नुपर्ने अवस्था चाँहि सिर्जना हुन्छ। साँच्चै भन्ने हो भने श्रीमतीको पम्फादेवी संस्करणले उनको साइकलमा खिचेको तस्विरलाई जिस्क्याइरहेको छ। त्यत्रो विराट व्यक्तित्वकी श्रीमतीमा (त्यो पनि एउटै विचार बोकेकी) उनको त्यो शालीन व्यक्तित्वको छनक किन आएन? या त मदनमा पनि यथार्थमा त्यो क्षमता नै थिएन या त यसलाई एक अपवाद घटना मान्नुपर्ने भयो। 

मदनकी श्रीमतीको जीवनशैलीले पनि उनीमाथि प्रश्न उठाउने ठाउँ दिएको छ। आज पनि भन्नेहरूले उनकी श्रीमतीका विलासी परिघटनासँग जोडेर उनीमाथि औला उठाइरहेकै छन्। हुन पनि हो, मदनको दुर्घटना नभएको भए आज विद्या भण्डारी मदनकी श्रीमतीकै रूपमा रहेकी हुन्थिन्। यदि त्यस्तो नहुँदो र अहिलेको जस्तै सोच र कोणको अनुमान गर्ने हो भने मदन र उनकी श्रीमतीमा ठूलो विरोधाभास रहेको मान्नुपर्थ्यो र पारपाचुके पनि भैसकेको हुनसक्थ्यो। दुई दुईपटक शक्तिशाली राष्ट्रपति भैसक्दा पनि उनी आफ्नो जीवनसाथीको दुर्घटनाको रहस्यको पर्दा खोल्न किन तयार हुन्नन्? उनले चाहेको भए केही नहुने भन्ने प्रश्नै हैन। उनको अहिलेको शक्ति र स्थानलाई बुझ्ने जो कोहीले पनि उनको मौनतालाई स्वभाविक रूपमा लिनै सक्दैन। 

रह्यो मदनका राजनीतिक उत्तराधिकारीहरूको कुरा। उनका तीन सहकर्मी माधव नेपाल, झलनाथ खनाल र खड्ग ओली प्रधानमन्त्री भैसके। उनीहरू मदनको बहुदलीय जनवाद र कम्युनिष्ट पार्टीकै नाममा सत्तामा पुगे। तर, सत्तामा पुगेर के गरे ? जगजाहेर छ। यदि बहुमत बनाउनु र सत्तामा पुग्नु नै सबैथोक हो भने त भन्नु केही छैन, हैन सत्तामा पुगेर कम्युनिष्ट चरित्रको संरक्षण गर्नु र मेहेनतकश जनताको जीनस्तर उकास्नु हो भने त्यो कोणबाट हेर्दा यी नेताहरू सामान्य असफल हैन, असामान्य रूपमै असफल भैसके। कम्युनिष्ट चरित्र सत्यानाश भैसक्यो, वर्गीय सोच अब जातीय, लिंगीय, क्षेत्रीय सोचमा रूपान्तरित भैसक्यो, सैद्धान्तिक र वैचारिक विचलन र सांस्कृतिक अपचलनको कुरा गर्ने हो भने कम्युनिष्ट पार्टीको नाम मात्र बाँकि छ। उनीहरू सबै मौका नपाएर मात्र त्यागी, सादगी भएका रहेछन् भन्ने कुरा उनका क्रियाकलापले पुष्टी गरिसके। 

अर्को कोणबाट हेर्दा मदन भण्डारीले दिएको बहुदलीय जनवादकै कारण नेपालको कम्युनिष्ट आन्दोलन पतन भएको हो भन्न पनि सकिने ठाउँ छ। बहुदलीय प्रतिस्पर्धाको संसदीय व्यवस्थालाई स्वीकारेकै दिनदेखि यसको अवशान सुरू भएको थियो। जसरी पनि चुनाव जितेर संसदमा पुग्ने र केही थान प्रधानमन्त्री, मन्त्री बनाउने प्रतिस्पर्धामा दीपक मनाङेसम्म विना चारित्रिक रूपान्तरण कम्युनिष्ट पार्टीका सांसद भैसके। सेकेण्ड ओपनियनबाट सोच्ने हो भने यो दुर्दशाको जननी नै मदनले प्रतिपादन गरेको बहुदलीय जनवाद हो। यस अर्थमा कम्युनिष्टको नाममा आजको दिन ल्याउन मदन भण्डारीको निर्णायक योगदान रहेकोले उनलाई नेपाली कम्युनिष्ट आन्दोलनकै गोर्भाचोभ पनि भन्न सकिन्छ। 

यसरी हेर्दा मदनले के दिए त नेपाललाई ? नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको बाटोमा लैजाने बहुदलीय जनवाद, कम्युनिष्टका नाममा एक थान राष्ट्रपति, केही थान प्रधानमन्त्री र केही थान उपप्रधानमन्त्री नाममा नवधनाढ्यका आधारभूमि। उनले थोकमा दिएका भनेकै यिनै दुई कुरा हुन्। यिनीहरूको व्याख्या उनका अनुयायीका कोणबाट मात्र गरिएकाले बहुदलीय जनवादका प्रणेता,  जननेताको रूपमा  प्रशंसा गरिए। तर, सेकेण्ड ओपनियनबाट हेर्ने हो भने उनले नेपाललाई तात्विक रूपमा केही नै दिएनन् जसका लागि उनलाई जननेता भन्नु परोस् । उनले सत्ताको परीक्षा नदिई दिएको केही पनि उनकी श्रीमतीको विलाशिता र उनका उत्तराधिकारीको शासनशैली र आचरणका कारण नदिएको सावित हुँदै गयो। 

माथि भनिएजस्तै नेताको सफलता उसले कस्तो पार्टी र नेतृत्व छोडेर जाने भन्नेले निर्धारण गर्छ भन्ने डक्ट्रिनलाई मान्ने हो भने मदन भण्डारी एक असफल नेता हुन् । उनले बहुदलीय जनवादका नाममा नेपालको कम्युनिष्ट आन्दोलनको पतन गराए। र, त्यसको मूल्यमा आफ्नै श्रीमती राष्ट्रपति बन्ने र केही थान नेतालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने आधार बनाइ दिए। अझ यस्ता नालायक व्यक्तिहरू छोडेर गए, जसले उनको मृत्युलाई रहस्यमय बनाएर सत्ताको भर्‍याङ चढे तर त्यो रहस्यको पर्दाफास गर्नतिर कहिलै लागेनन्।
यस कोणबाट हेर्दा मेरो १२ वर्षे अवोध छोराले सोधेको प्रश्नको औचित्य छैन भन्न सकिन्न। म उसकै प्रश्न छोडेर मदन भण्डारीलाई सम्झन चाहन्छु- 'मदन भण्डारीको मृत्यु रहस्यमय भए किन पत्ता नलगाएको त ? उनकै श्रीमती राष्ट्रपति र सहकर्मीहरू प्रधानमन्त्री हुँदा पनि किन रहस्य सुल्झाउँदैनन् ? कतै उनीहरू नै त यो घटनामा संलग्न छैनन् बाबा?'

प्रकाशित मिति: Jun 28, 2020 22:36:09

प्रतिक्रिया दिनुहोस

सबै