छोरीसँग टेनिस कोर्टमा फर्किइन् सेरेना विलियम्स

कोरोना भाइरसको महामारीका कारण गत फेब्रुअरीदेखि खेलमा फर्किन नसकेकी अमेरिकाकी स्टार टेनिस खेलाडी सेरेना विलियम्स पुनः कोर्टमा फर्किएकी छिन्। 

२३ पल्टकी ग्रान्ड स्लाम उपाधि विजेता सेरेना भर्खरै आफ्नो छोरी ओलम्पियासँग कोर्टमा देखा परेकी थिइन्।

ओलम्पिया आउँदो सेप्टेम्बरमा तीन वर्षमा प्रवेश गर्नेछिन्। छोरीसँग कोर्टमा अभ्यास गर्दै गरेको फोटो सेयर गरेकी सेरेनाले युएस ओपनमा उत्रिने घोषणा गरेकी छिन्। 

सेरेना पनि आउँदो वर्ष सेप्टेम्बरमा ४० वर्षमा प्रवेश गर्दैछिन्। उनका लागि टोकियो ओलम्पिकमा भाग लिन सहज हुने छैन। यस वर्ष भएको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा उनी तेस्रो चरणबाट बाहिरिएकी थिइन। उनले हालसम्म एकल र समूहमा गरेर ओलम्पिकमा तीन स्वर्ण जितेकी छिन्। 

सेरेनाले सन् १९९९ मा पहिलो पल्ट ग्रान्ड स्लाम जितेकी थिइन। लगत्तै उनले २००२, २००८, २०१२, २०१३ र २०१४ मा ग्रान्ड स्लाम उपाधि जितेकी थिइन। उनी गत वर्ष विम्बल्डनको फाइनलमा सिमोना हालेपसँग पराजित भएकी थिइन्।

प्रकाशित मिति: : 2020-07-04 18:33:50

प्रतिकृया दिनुहोस्