ढकाललाई सदस्य–सचिवको जिम्मेवारी

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ। 

 असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। 

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए। 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बिहीबारदेखि लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सहित सबै बोर्ड सदस्यको पद रिक्त भएको थियो।

नयाँ ऐन लागु भएसँगै खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालसहित परिषद्का सबै बोर्ड सदस्यको पद खारेज भएको छ।

अब नयाँ सदस्यसचिव नियुक्तिका लागि युवा तथा खेलकूद मन्त्रालयको सचिव संयोजक तथा एक महिला र एक विज्ञ रहेको तीन सदस्यीय समितिले सदस्यसचिवको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ।

मन्त्रालयले सिफारिस भएका मध्येबाट एक जनाको नाम नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ।

मन्त्रिपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई नै सदस्यसचिवमा नियुक्त गर्नेछ।

प्रकाशित मिति: : 2020-07-06 19:53:13

प्रतिकृया दिनुहोस्