शैलेश थापा नेपाल प्रहरीको नयाँ महानिरीक्षक

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने भएको छ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको बैठकमा सहभागी एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिए। प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको आईजीपीमा बढुवा नियुक्ति गरिएको हो ।

उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्। २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन्।

प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।

वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन्। उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए।

अबको आइजिपीका लागि थापाबाहेक हरि पाल मात्र उमेद्वार थिए। एआइजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ। 

थापा र पालले एकै दिन अर्थात २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए।

प्रहरी निरीक्षकमा नाम निकाल्दा पनि पहिलो नम्बरमा रहेका थापाले पहिलो नम्बरमै रहेर सेवाबाट अवकाश पाउने छन्। उनी आफ्नै ब्याची र प्रतिस्पर्धीमाझ पनि लोकप्रिय थिए। व्यावशायिक छवि र विवादरहित ट्रयाक रेकर्डका कारण उनले पहिलैदेखि संगठनको भावी नेतृत्व दावेदारका रुपमा हेरिएको थियो।

हाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन बिभागको प्रमुख रहेका थापा डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सफल कमान्ड गरेका अधिकृत हुन् । प्रहरी निरीक्षकदेखि पहिलो नम्बरमा रहेका उनी एसएसपी र डीआईजी हुँदा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा समेत काम गरिसकेका छन् ।


को हुन् थापा ?


२०२५ साल मंसिर २३ गते भक्तपुर कटुन्जेमा जन्मिएका हुन्।  

उनका बुवा शम्भु थापा क्षेत्री पनि नेपाल प्रहरीको नायब महानिरिक्षक-डीआईजीसम्म भएका थिए। शैलेश परिवारका दुई छोरामध्ये कान्छा हुन्। जेठा छोरा पनि सरकारी सेवामा छन्।

बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेका थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी पास गरेका थिए। नेपाल कर्मश क्याम्पस मिनभवनबाट ब्याचलर पास गरेका थापाले त्रिभुवन विश्वविद्यालयबाट पोलटिकल साइन्समा मास्टस गरेका छन्।

थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गरेका छन। बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिएका थापाले संगठनको कामको शिलसिलामा थापाले २२ वटा भन्दा बढी देशमा सहभागी भएका छन्।

थापा प्रहरी निरीक्षक रहँदा उनले प्रहरी एकेडेमी, आइजिपी सचिवालय, सिन्धुपाल्चोक र सल्यानमा काम गरेका थिए।

उनले नायब उपरीक्षक-डीएसपीमा धादिङ, महानिरीक्षक सचिवालय र  प्रहरी एकेडेमीमा काम गरेका थिए। प्रहरी उपरीक्षक-एसपीका रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो, प्रहरी एकेडेमी र आइजिपी सचिवालयमा  पनि काम गरेका थिए।

वरिष्ठ प्रहरी उपरीक्षक-एसएसपीमा बढुवा भएपछि उनी आइजिपी सचिवालय र केन्द्रीय प्रवक्ताको भूमिकामा पनि थिए। नायब महानिरीक्षक-डीआइजी भएपछि उनले महानगरीय प्रहरी कार्यालय-मेट्रोको नेतृत्व गरे भने केन्द्रीय प्रवक्ताका रुपमा आइजिपी सचिवालयमा पनि रहे।एआइजीमा बढुवा भएपछि उनी मानव स्रोत तथा प्रशासन विभागमा निरन्तर छन्।

थापा नेपाल प्रहरीको २८ औँ आईजिपी हुनेछन्। थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए। सबैमा ब्याचीमध्ये पहिलो नम्बरमा थिए।

प्रकाशित मिति: : 2020-07-07 18:51:04

प्रतिकृया दिनुहोस्