आमा म बाँच्न चाहन्छु !

आमा !

म बाँच्न चाहान्छु ।

म चाहेर पनि

किन बाँच्न नपाउनेँ आमा ? चेकअफ गर्दा

डाक्टरले छोरी छ गर्भमा

भनिदियोे

त्यसैले अब

मेरो हत्या हुन्छ ।

आमा !

मेरो रक्षा गर्नुहोस्

म बाँच्न चाहन्छु ।

 

म बुझ्छु आमा !

तिमीलाई आफ्नो अस्तित्वभन्दा

परिवार र समाज ठूलो लाग्छ ।

तिमीले आफ्ना चाहानाहरूलाई

जिउँदै मारेर

परिवारलाई खुशी राख्छ्यौ

छोराको चाहमा

के मेरो हत्या स्वीकार्छ्यौ आमा ?

 

आमा !

म हरदिन हजुरको

श्वास प्रश्वासको रफ्तारसँगै

धड्किन्छु, तिम्रो मुटुमा

निधारमा भाग्य नकोरिंदै

मृत्युरेखा नकोरिदेऊ न आमा !

म बाँच्न चाहन्छु ।

 

के छोरी हुनु पाप हो?

छोरा भाग्य हो भने

छोरी सौभाग्य हो ।

छोरा छोरा छोरा !

छोराले वंश बचाउँछ,

छोराले स्वर्गको ढोका खोल्छ,

छोराले पिण्डदान दिन्छ ।

भन त आमा !

के म छोरीमा ती गुण छैनन् र,

मलाई फालिदिन्छौ ?

 

आमा !

मेरो त गर्भमै हत्या हुन्छ

मलाई पनि यो संसार निहाल्नु छ ।

तिम्रो फुस्रो जिन्दगीमा

रङ्ग भर्नु छ आमा !

म बाँच्न चाहन्छु ।

 

जति आशाको किरण छोरामा छ,

त्यस्तै सयौं किरण

म पनि ल्याउने छु आमा !

म बाँच्न चाहन्छु...!

प्रकाशित मिति: : 2020-07-11 15:25:00

प्रतिकृया दिनुहोस्