कोरोना महामारी रहेसम्म अन्तर बैंक एटीएम कारोबारमा शुल्क नलाग्‍ने

 कोरोना महामारी रहेसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै एउटा वित्तीय संस्थाको एटीएम अर्को संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने जानकारी दिएका हुन्।

यसअघि नेपाल बैंकर्स संघले अन्तर बैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा शुल्क लाग्ने बताएका थिए।

कोरोना लकडाउन सुरु गरेपछि सरकारले एक वित्तीय संस्थाको एटीएमले अर्को संस्थाको एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय गरेको थियो।

हिजाे मात्रै नेपाल बैंकर्स संघ, डेभलभमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रायः बैंक तथा वित्तिय संस्था खुलेका र आवागमन खुकुलो भइसकेको भन्दै अन्तर बैंक एटीएमबाट कारोबार गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंकले नै गर्ने जनाएका छन्।

प्रकाशित मिति: : 2020-07-17 17:31:36

प्रतिकृया दिनुहोस्