बुधबार, २० अगस्ट २०२५

ट्रम्प भन्छन् : सर्वसाधारणलाई अनिवार्य मास्क प्रयाेग गर्न लगाउनु स्वतन्त्रताकाे हनन् हाे

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका
News Image
• • •

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन्।

वासिङ्टनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा सबैले देख्ने गरी मास्क लगाएका ट्रम्पले सर्वसाधारणलाई अपिल गर्न भने अस्वीकार गरेका हुन्।

मास्कको प्रयोग अमेरिकामा राजनीतिक विषय बनेको छ। आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि मतदाता तान्नका लागि पनि एकपटक सार्वजनिक स्थानमा मास्क लगाउन ट्रम्पलाई उनका सहयोगीले आग्रह गरेको बताइन्छ। 

तर राष्ट्रपति ट्रम्पले लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए। उनले अरुले देख्ने गरी मास्क नलगाउने बताएका थिए। 

चर्काे विराेध हुनथालेपछि उनले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाएका थिए। तर सर्वसाधारण त्यसका लागि आग्रह गर्न भने अस्वीकार गरेका हुन्।  

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीलेमास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट बच्ने सम्भावना बढी हुने बताउँदै आएका छन्।

फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग बाध्यकारी बनाउन सुझाव दिएका छन्। उनले मास्क वा रुमालले मुख छोप्नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नु पर्ने बताएका हुन्।

तर शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका छन्।

उनकाे बुझाइअनुसार मास्क लगाउनु व्यक्तिको स्वतन्त्रता हनन् हाे। उनी स्वतन्त्रता हनन् गर्ने पक्षमा आफू नरहेको बताएँछन्। 

यसअघि पनि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले सबैलाई बाहिर निस्कँदा मास्क वा रुमालले मुख छोप्न भनेको थियो। तर ट्रम्पले सो निर्देशन नमान्ने बताएका थिए।

त्यो बेला ट्रम्पले भनेका थिए, ‘मलाई लाग्दै मैले मास्क लगाउँछु। मास्क लगाएर अरु देशका राष्ट्रपति, प्रधानमन्त्री, शासक, राजा, रानीसँग भेट गर्नु, म यो सम्भव देख्दिनँ।’

केही अमेरिकी सञ्चारमाध्यम र ट्रम्पका सहयोगी सल्लाहकारहरुले उनलाई कम्तिमा एकपटक सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सुझाव दिएका थिए।

यता दक्षिणी राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पले आउँदो एक महिनाका लागि मास्क प्रयोग अनिवार्य गरेका छन्।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजार भन्दा बढी पुगेको छ। यस्तै काेराेनाबाट अहिलेसम्म अमेरिकामा एक लाख ३९ हजार भन्दा बढीको ज्यान गएको छ।

शुक्रबार विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। 

सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा थपिएका हुन्।

यसअघि विश्वभर एकै दिन जुलाई १२ मा दुई लाख ३० हजार ३७० जना संक्रमित थपिएका थिए। जुलाईमा काेराेना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या पाँच हजार भन्दामुनि रहँदै आएको छ।

विश्वभर कुल संक्रमितको संख्या शुक्रबार  एक करोड ४० लाख नाघ्यो। यस्तै ज्यान गुमाउनेको संख्या पाँच लाख ९० हजार भन्दा बढी पुगेको छ।

शनिबार, श्रावण ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)