कुन्ती भन्छिन्- १४ वर्षको उमेरमा गाएको गीत सुनाउनै पाएको थिइनँ, लकडाउनमा रेकर्ड गरेँ

गायिका कुन्ती मोक्तान हार्मोनियम समाएर बसेकी छन्। किबोर्डमा उनकै श्रीमान् शिलाबहादुर मोक्तान छन् भने भायोलिन र गितारमा दुई छोरीहरू शितल र सुवानी। साथमा ज्वाइँहरू मञ्जिलविक्रम केसी र सुजन श्रेष्ठ पनि आ–आफ्नो भूमिकामा तम्तयार छन्।

साँझ ५ बजेको छ। मोक्तान परिवारको लाइभ म्युजिक कन्सर्टमा तपाईंहरूलाई स्वागत छ।

यो प्रज्ञा भवन, सभागृह वा त्यस्तै कुनै सार्वजनिक मञ्चमा हुन लागेको कन्सर्ट होइन। यो कन्सर्टको प्रत्यक्ष प्रसारण हुँदैछ, फेसबुकमा।

लकडाउनबीच सबै किसिमका सार्वजनिक समारोह बन्द भएकाले मोक्तान परिवारले यही जेठ १० गते बौद्धस्थित आफ्नै घरबाट फेसबुक लाइभ कन्सर्ट गरेका थिए।

कार्यक्रममा कुन्तीले 'खुट्टा तान्दै गर', 'गोठालो जाँदा लाएको माया', 'भन्छन् कोही जिन्दगी यो' लगायतका आफ्ना सदाबहार सुपरहिट गीतहरू गाएकी थिइन्। छोरीहरू शितल र सुवानीले पनि सँगसँगै गाएर उनलाई साथ दिएका थिए।

कोरोना महामारीले पूरै संसार आक्रान्त बनाएका बेला मनोरञ्जनका लागि बाहिर निस्कने वातावरण कहिले बन्ने हो ठेगान छैन। यस्तो परिस्थितिमा धेरै कलाकारले फेसबुकलाई दर्शक-श्रोतासम्म पुग्ने माध्यम बनाए। उनीहरूले आफ्ना सांगीतिक प्रस्तुतिदेखि मनका भावनासमेत फेसबुकमै पेस गरे।

यही क्रममा कुन्ती मोक्तान र उनको परिवारले उक्त लाइभ कन्सर्ट गरेको थियो, जसको दोस्रो शृंखला लिएर उनीहरू फेरि आउने तयारीमा छन्।

'कलाकार भनेकै दुःख–सुखको साथी हो,' कुन्ती भन्छिन्, 'नभए दुःख पर्दा मान्छेले किन गीत सुनेर मन बहलाउन खोज्छ! हामीले जस्तोसुकै परिस्थितिमा पनि रोकिनु हुन्न, थामिनु हुन्न।'

यही विचारले लकडाउनमा पनि सांगीतिक प्रस्तुति लिएर दर्शक-श्रोतासम्म पुग्ने हुटहुटी बढाएको उनी बताउँछिन्।

प्रकाशित मिति: : 2020-07-26 08:16:45

प्रतिकृया दिनुहोस्