विमान परिचारिका भन्छिन्- हामी त डराएका छैनौं, तपाईहरू किन डराउनुहुन्छ? (भिडियो)

‘यात्रु महानुभावहरु ध्यानदिनुहोला ! “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला। उडानका बेला हिँडडुल नगर्नु होला, अति आवश्यक भएमात्र शौचालयको प्रयोग गरिदिनुहुन र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिनुहोला साथै उडान अवधिभर श्वासप्रश्वास सम्बन्धी केही समस्या भएमा, रिङ्गटा लागेमा विमानका कर्मचारीलाई जानकारी गराउनुहोला र विमानबाट ओर्लँदा चार–चार जना मात्र ओर्लनुहोला।’

माथिको भनाई अब हुने उडानमा विमान परिचारिकाले नियमित भन्नेछन्।

सरकारले अन्ततः पाँच महिनापछि हवाई सेवा सुचारू गर्ने निर्णय गरेसँगै नेपालका आन्तरिक तथा बाह्य हवाई सेवा प्रदायकहरू उत्साहित भएका छन्।

कोरोनाभाइरस संक्रमण शून्य हुने सम्भावना नभएपछि सरकारले ‘न्यू नर्मल’ को अवधारणामा जानुको विकल्प नभएको भन्दै विश्वव्यापी मान्यता अनुसार आर्थिक तथा सामाजिक गतिविधि सुचारु गरेको हो।

डकडाउन खुला गरेसँगै छोटो दूरीको सार्वजनिक यातायात सबै सञ्चालनमा आएका छन्। यसैबिच हवाई सेवा सुचारु गर्नैपर्ने आवश्यकता महशुस भइरहेका बेला सरकारले उचित निर्णय लिएको देखिन्छ।

यस निर्णयसँगै हवाई सेवालाई संक्रमणमुक्त बनाउनका उचित मापदण्ड, पूर्वाधार र त्यसको कार्यान्वयनमा विशेष ध्यान दिएको हवाई सेवा प्रदायकहरूले दाबी गरेका छन्। हवाई यातायातले यात्रुलाई सेवामात्र दिन सकोस्, कोरोना संक्रमण प्रसारको माध्यम नबनोस् भनेर सबै सेवा प्रदायकहरू सचेत भएका छन्।

हवाई यात्रुले पनि निश्चित मापदण्ड पुरा गरेर यात्रा गर्न पाउने भएका छन्। लगातारको वर्षाले पनि देशैभर सडक यातायात अवरुद्ध हुँदा हवाई यातायातको महत्व अहिले झनै बढेको छ।

यस्तै बेला हवाई यातायात सुरक्षित तथा आवश्यक पनि छ। तर, कोरोनाका कारण चार महिनादेखि बन्द हुँदा अत्यावश्यकीय काममा पनि यात्रुले देशभित्रै यात्रा गर्न पाएका छैनन् भने अर्कोतर्फ वाह्य सम्पर्क पनि ठप्पजस्तै छ।

हवाई क्षेत्र भने तुलनात्मक रूपमा कम भिडभाड हुने र व्यवस्थित गर्न सहज पनि भएकाले सरकारको निर्णय पालना गर्नेमा सम्झौता नगरिने नेपालको अग्रणी हवाई सेवा प्रदायक बुद्ध एयरले जनाएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र रूपमा बढीरहे पनि हवाई यात्रा गर्ने यात्रुले पूर्ण सुरक्षित यात्रा गर्ने बुद्ध एयरकी विमान परिचारिका सदिक्षा घिमरेले बताइन्।

५ महीनापछि नियमित काममा फर्कन लागेकी घिमिरे आफू पूर्ण सुरक्षित साथ यात्रुलाई सेवा तयार रहेको दाबी गरेकी छन्।

बिएल नेपाली सेवासँग कुरा गर्दै उनले सबै सुरक्षाका उपायहरू अवलम्बन गरेर सेवा दिने भएकाले जो कोही यात्रीले पनि उडान गर्न डराउनुपर्ने अवस्था नरहेको बताएकी छन्।

संकटका बेला आफूले अग्रभागमा बसेर काम गर्नुपर्दा पनि कुनै किसिमको डर नभएको उनले बताएकी छन्। ‘हामी प्रत्यक्ष यात्रुसँग घुलमिल हुनुपर्ने भए पनि हामी आफ्नो सुरक्षामा विश्वस्थ भएकाले डराउनुपर्ने कुनै अवस्था छैन,’ उनले भनिन्,‘कोरोनाकै कारणले डर छैन। सबैले आफ्नो प्रोटोकल हेरेर पनि म विश्वस्त छु। मलाई मेरो कम्पनीले दिएको तालिम र आफूमाथि पूर्ण भरोसा छ, तपाई पनि हामीसँग सुरक्षित यात्रा गर्न सक्नुहुन्छ।’

विश्व स्वास्थ्य संगठन, आइटा र क्यानको गाइडलाइन्स फलो गरेर काम गर्नुपर्ने र तालिम पनि त्यही अनुसारको भएकाले आफूहरू पूर्ण रूपमा सुरक्षित हुने उनको दाबी छ।

आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन्। कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन्।

निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलाइन्सलगायतले आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्वास्थ्य प्रोटोकललगायत मापदण्डको अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

बुद्ध र यतीले दुई महिनाअघि देखि कोभिड महामारीबाट कसरी सुरक्षित उडान गर्ने भनेर कर्मचारी तया यात्रुका लागि अभ्यास उडान ‘डेमो’ उडान गर्दै आएका छन् । सातामा दुई पटकसम्म अभ्यास उडान गरिँदै आएको कम्पनीले जनाएका छन्। ‘हामीले बेला बेलामा संक्रमणमा कसरी सुरक्षित उडान गर्न सकिन्छ भनेर डेमो उडानसमेत गरेका छौ,’ घिमिरेले भनिन्,‘यसबाट पनि हामी सुरक्षित तरिकाले उड्न रेडी छौ।’

हवाई यात्रा गर्नेले अनिवार्य मास्क, फेससिल्ड, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ। मास्क र सेनिटाइजर कम्पनीले उपलब्ध गराउनेछ भने फेससिल्डको कम्पनीले रकम लिनेछ।

स्वास्थ्य सतर्कता अपनाएर सुरक्षित उडान सेवा दिन वायुसेवा कम्पनी पनि तयारी अवस्थामा छन् । उनीहरुले आफ्ना कर्मचारी तथा यात्रुलाई महामारीसँग जुधेर कसरी सुरक्षित हवाई यात्रा गर्ने भन्नेबारे अभ्यास उडान पनि गरिसकेका छन्। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिड महामारीबाट थलिएको हवाई क्षेत्रलाई चलायमान बनाउन आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा शुरु गर्न कम्पनीले तयारी गरिसकेको बताए।

लामो समयपछि उडान खोल्ने सरकारको निर्णयले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको भन्दै उनले आवश्यक सुरक्षा मापदण्डका साथ सेवा पुनःसञ्चालन गरिने उल्लेख गरे । प्रबन्ध निर्देशक बस्नेतले भने, ‘सुरक्षा प्रोटोकल सबैले बनाएका छौँ, नियामक निकायको एकीकृत स्वास्थ्य मापदण्ड र योजनाअनुरुप आन्तरिक वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्छौ, यात्रुको सुरक्षा र सहुलियतलाई पनि प्राथमिकतामा राखेका छौँ ।’

बुद्ध एयरले सामान्य अवस्थामा दैनिक ६ हजारसम्म यात्रु व्यवस्थापन गरेको  थियो । कम्पनीले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ ।

हवाई यात्रुले पालना गर्नुपर्ने नियम

  • १. घरबाट विमानस्थल निस्कदाँ आफ्नो स्वास्थ्य अवस्थाबारे सामान्य जाँच गर्ने।
  • २. सकेसम्म आफ्नै निजी सवारीमा विमानस्थल जाने, सार्वजनिक सवारीमा जानुपरे सामाजिक दूरी कायम गरेर जाने।
  • ३. विमानस्थलमा सकेसम्म १ वटा मात्र झोला प्रयोग गर्ने। ह्याण्डक्यारी नबोक्ने (ल्यापटप ब्याग र महिलाको सानो ब्यागबाहेक)
  • ४. विमानस्थल प्रवेशद्वारमा ज्वरो नाप्ने।
  • ५ सामाजिक दूरी कायम राख्दै कोर्डिङ पास लिने। सकेसम्म इ-टिकट प्रयोग गर्ने।
  • ६. वेटिङ रूममा रहेकै शौचालय प्रयोग गर्ने किनकी विमानमा शौचालय प्रयोगमा प्रतिवन्ध लगाइएको छ।
  • ७. बसबाट विमानसम्म जाँदा पनि सामाजिक दूरी कायम गरेरै जाने।
  • ८. विमान चढ्ने बेलामा स्यानिटाइजरको प्रयोग गर्ने, एयरलाइन्सले दिने मास्क, फेससिडको प्रयोग गर्ने। सामाजिक दूरी राखेरै विमान भित्र छिर्ने र आफ्नै सिटमा बस्ने। विमानमा बसिसकेपछि अनावश्यक हिँडडुल नगर्ने।
  • ९. ओर्लने बेलामा पनि पालैपालो दूरी कायम गर्दै निस्कने।

जहाजकी विमान परिचारिका घिमिरेका अनुसार पहिलाको तुलनामा अहिलेको उडान फरक र विशेष सजगता अपनाउनुपर्ने बाध्यता हुन्छ। ‘अहिलेको उडानमा मनोवैज्ञानिक रुपमा पनि असर पर्छ, यात्रुसँग धेरै कुरा सोध्नुपर्ने हुन्छ। सामाजिक दूरी कायम र धेरै  हिँडडुल नगर्न बारम्बार भन्नुपर्छ’ प्रत्यक्ष डर हुन्छ तर पनि हामी हामीले दिने सुरक्षात्मक सेवाप्रति विश्वस्त भएकाले सुरक्षित हुन्छ, ढुक्क हुनुहोस्, उनले भनिन्।

यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात् दुरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइनबसी ज्वरो नाप्छन्। त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ। भित्र टिकट काउन्टरमा पनि सामाजिक दुरीका साथ बोडरिङ पास दिइन्छ। त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनी त्यसलाई कम्प्युटराइज गर्छन्। पाससँगै अर्को फाराम दिन्छन् उक्त फाराम यात्रुले भरेर जहाज चडेर ओर्लने बेला एयरहोस्टेजलाई दिनुपर्छ। पास लिएर अन्तिम सुरक्षा चाँचपछि यात्रु प्रतिक्षालय हुँदै सम्बन्धित गन्तव्यको उडानका लागि र्‍याम्प बसभित्र छिर्छन्। 
सामान्य अवस्थामा ३५ जनासम्म अटाउने ती बसमा अहिले २० देखि २२ जना मात्रै यात्रु बस्छन्। जहाज चढ्नेबेला भर्‍याङमै एक परिचारिकाले फेससिट वितरण गर्छिन। त्यसपछि यात्रुले आफ्नो सिटअनुसार जहाजमा बस्छन् र कोभिडसम्बन्धी स्वास्थ्य निर्देशिका अनाउन्स हुन्छ, सिटबेल्ट बाँधेर जहाज गन्तव्यतिर उड्छ। यही प्रक्रिया आगामी दिनका उडानमा हुनेछ। यात्रुले विमानस्थलमा करिब एक घण्टाभित्र जहाज चड्नेसम्मका सबै प्रक्रिया पूरा गरिसक्छन्। सामान्य अवस्थामा एक घण्टा अघि यात्रुलाई टर्मिनल भित्र बोलाइन्थ्यो भने अब डेढ घण्टाअघिनै भित्र छिराइन्छ।

यस विषयमा सबैभन्दा अग्रभागमा रहेर काम गर्ने विमान परिचालिक के भन्छिन् हेर्नुहोस् भिडियोमा।

प्रकाशित मिति: : 2020-07-26 13:24:00

प्रतिकृया दिनुहोस्