अमेरिकी कूटनीतिज्ञहरू छेङ्दुस्थित वाणिज्य दूतावास छोड्दै, रमिता हेर्ने र सेल्फी लिनेकाे भिड

एजेन्सी

बेजिङ्ग

चीनले दक्षिण-पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएसँगै कूटनीतिज्ञ त्यहाँबाट बाहिरिन लागेका छन्।

चीनले सो वाणिज्य दूतावास बन्द गर्नका लागि सोमबारसम्मको समय दिएको थियो। अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो।

छेङ्दु वाणिज्य दूतावासका कर्मचारीहरुले बक्स, फाइल तथा अरु सामग्रीहरु ओसारिरहेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड छ। उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेका छन्। 

अप्रिय घटना नहोस् भनेर वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटेका छन्। रमिता हेरिरहेका मानिसहरूलाई उनीहरूले हट्न भनिरहेका छन्।

यद्यपि वाणिज्य दूतावासबाट एउटा बस बाहिरिँदा मानिसहरूले गिज्याइरहेको आवाज सुनिएको समाचार संस्था एएफपीले जनाएको छ।

जानका लागि चिनियाँ कूटनीतिज्ञहरूलाई दिइएको ७२ घण्टे म्याद शुक्रवार सकेपछि अमेरिकी अधिकारीहरू वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएको संवाददाताहरूले देखेका थिए।

सन् १९८५ मा स्थापित चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासमा दुई सयभन्दा बढी स्थानीय कर्मचारी नै कार्यरत थिए।

चङ्गदुस्थित वाणिज्य दूतावास बन्द भएपछि चिनियाँ मुख्य भूभागमा चारवटा अमेरिकी वाणिज्य दूतावास र बेइजिङस्थित दूतावास बाँकी रहनेछ।

विगतमा फ्रान्सको उपनिवेश रहेको हङ्कङमा पनि अमेरिकी वाणिज्य दूतावास रहेको छ।

गत हप्ता टेक्ससको ह्युस्टनस्थित वाणिज्य दूतावास बन्द गराइएपछि अमेरिकामा चीनका चारवटा वाणिज्य दूतावास र वाशिङ्गटन डीसीमा दूतावास बाँकी रहेको छ।

चीनले वाणिज्य दूतावास मार्फत अमेरिकाको बौद्धिक सम्पत्ती चोरी गरेका कारण यस्तो कदम चालिएको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेन्बिनले अमेरिकी आरोप तथ्यको तोडमोड गरी चीन विरोधी भावना अनुसारको रहेको र यसमा कुनै सत्यता नरहेको बताएका छन्।

चीन सँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाइरसको महामारीबारे सुरुमा जानकारी नदिएर वा सुरुमै नियन्त्रण नगरेर अहिलेको विश्वव्यापी महामारीको अवस्था आएको पनि आरोप लगाउने गरेका छन्।

प्रकाशित मिति: : 2020-07-27 07:28:33

प्रतिकृया दिनुहोस्