एक मलामीको वकपत्रः घरबाट घाटसम्म जाने बाटो छ, घाटबाट घरसम्म फर्कने बाटो छैन

एक मलामीको वकपत्रः घरबाट घाटसम्म जाने बाटो छ, घाटबाट घरसम्म फर्कने बाटो छैन

मेरो मोबाइलमा के दोष छ कुन्नि ? रोमनमा 'घर' टाइप गर्दा जहिल्यै 'घाट' देखापर्छ। म घर न घाट भएर लेख्नै छाडिदिन्छु।

आज बलराम बानियाँको मलामी गएर आएपछि बुझ्दै छु, घर र घाटको निस्सीम सम्बन्ध। घरबाट घाटसम्म जाने बाटो छ। घाटबाट घरसम्म फर्कने बाटो छैन। जिन्दगीभरि बाटैबाटा छन्, चिताबाट उता बाटै छैन।

छक्क पर्छु, कुनै दिन बलराम दाइको मलामी जानुपर्ला भनेर मैले सोचेकै रहेनछु। साँच्चै भन्ने हो भने बलराम दाइसँग मेरो सम्बन्ध ‘हाई हेलो’ मात्रै हो । न नजिक, न त टाढा । यस्तो किन सम्भव भयो भने म कसैसित नजिकिनै सक्दिनँ । ननजिकिएपछि टाढिनु पनि परेन।

यस्तो सम्बन्ध हुँदाहुँदै पनि मलाई कसैको हार्दिकता गुमेजस्तो, कसैको प्यार छुटेजस्तो अप्रिय अनुभव भइरह्यो।
यत्ति हो, मलाई उनी अनुजको स्नेह गर्थे, म उनलाई अग्रजको सम्मान।

यो किन पनि भयो होला भने उनीजस्तै म छु अन्तर्मुखी। आत्मविज्ञापित हुन नचाहने लुकुवा।

आज आर्यघाटमा छोरा सुप्रिम बानियाँको खौरेको टाउको देखेपछि म कहालिएँ। छोरी सुस्मिताको आत्मबल देखेर मुग्ध पनि भएँ। यस्तो सुन्दर घरसंसारलाई अलपत्र छाडेर भाग्न पाइन्छ र बलराम दाइ ?

म प्रायः जमघटमा जान्नँ। जमघटमा अनिच्छापूर्वक आफ्नो नामथर बताउँदा कतिपयले भनिदिन्छन्, 'तपाईंको समाचार कान्तिपुरमा पढेको छु बलरामजी।'

म बानियाँ बलराम होइन, राजकुमार हुँ भनेर अभद्रता देखाउन आँट गर्न सक्दिनँ। फोसामा बलरामको क्रेडिट पाउँछु। यो कुरा मैले उनलाई कहिल्यै सेयर गरिनँ ।

बलराम दाइसँग 'के छ ?' 'ठीक छ' भन्दा धेरै अगाडि जान सकिनँ। पहिले कान्तिपुर पब्लिकेसन्समा काम गर्दा पनि त्यस्तै भयो। नागरिकमा केही वर्ष सँगै काम गर्दा पनि त्यस्तो स्मरणीय बसाउठी केही रहेनन् ।

उनी नागरिकको राजनीतिक ब्युरोमा प्रमुख थिए। म त्यसकै डेस्क एडिटर। उनका समाचार लामा हुन्थे। विज्ञापनका कारण कहिलेकाहीँ मुटु–कलेजो समेत निकालेर फाल्न तयार हुनुपर्थ्यो नै। विज्ञापन पनि छाप्नुपर्ने, समाचार पनि छाप्नुपर्ने स्थितिमा त्यस्तो हुन्थ्यो। उनी भनिरहन्थे, 'त्यसरी अंगभंग बनाउनुको साटो भोलि छापेको भए हुन्थ्यो नि।'

उनको र मेरो हिमचिम नहुनुको कारण उनैले खोले, ‘मलाई त तपाईं कम्युनिस्ट हो कि भन्ने लागेको थियो।’ ‘म भूपू कम्युनिस्ट हुँ’, मैले भन्नैपर्ने बाध्यता भयो। कम्युनिस्टहरु अलि चर्का हुन्छन् भन्ने उनलाई लागेको थियो सायद।

हाकिमगिरी कहिल्यै देखाएनन् उनले। सदैव लो प्रोफाइलको जीवन बिताए । अति सामान्य लवाइखुवाइमै रहे। काठमाडौंको पत्रकारिता उनले चप्पल पड्काएर चलाए, हिँडेरै चलाए। तैपनि सामाजिक न्याय र सुशासनको आवाज उठाउन छाडेनन्।

पत्रकारिताको धर्म निर्वाहका क्रममा उनीबाट केही भूलचूक भयो पनि होला। तर चाटुकारिता र छट्टुकारितामा उनले विश्वास गरेनन् । सिर्फ पत्रकारिता गरे ।

उनले दिनहुँ दुईतीनवटा समाचार लेखेकै हुन्थे। उनी मातहतका पत्रकार भने हप्तादिनसम्म केही पनि लेख्दैनथे। डेस्कको नाममा नाली सोहर्न अभिशप्त म उनका शीर्षक, लिडदेखि भाषा र हिज्जेसम्म मिलेको समाचार पाउँदा म मख्खिने नै भएँ।

अल्पभाषी बलरामले कहिलेकाहीँ चिया गफमा जोक्स चाहिँ धाराप्रवाह दिएको देखेर म छक्क पर्थें। पछि उनी नागरिकबाट कान्तिपुरमा फर्किए, केही समयपछि मैले पनि उनकै पदचाप पछ्याए ।

कहिलेकाहीँ लिफ्टमा भेट हुन्थ्यो, कहिलेकाहीँ क्यान्टिनमा। यसो हेर्दा उनी आफैँ बिरामीजस्ता देखिन्थे तर मलाई स्वास्थ्यमा ख्याल गर्न भनिरहन्थे । यस्तो विरोधाभासबीच पनि म द्रवित हुन्थेँ मनमनै।

साँच्चै भन्ने हो भने बलराम दाइको सादगीबाट म प्रभावित थिएँ। कुनै दिन आत्मीय गफ गर्ने दिन जुर्ला जस्तो लागेको थियो। जुरेन। यस्तै भयो।

दाजु राजेन्द्र बानियाँसँग सपत्नीक शिक्षण अस्पताल महाराजगन्जबाट उनको निवास कान्तिपुर मार्ग, तीनकुने पुग्दा म अझै भक्कानिएँ। भाउजूको अवचेतन मन बोलिरहेको थियो, 'म त्यस्तो सोझो मान्छे गुमाएँ। त्यस्तो इमानदार मान्छे गुमाएँ। जसले जिन्दगीभरि परिवार भनेन, साथीभाइ मात्रै भनिरह्यो, आज साथीबाटै धोका भयो।'

उनको अन्तर्मुखी स्वभावबारे आमाले भनेकी थिइन् रे, 'मैले छोरा त पाएँ, तर उसको आत्मामा के छ ? अहिलेसम्म थाहा पाएकी छैन।'

बलराम दाइको दुर्घटना, आत्महत्या या हत्या म जान्दिनँ। त्यो मेरो काम पनि होइन। आर्यघाट पुगेर फर्केपछि मैले भन्नैपर्छ, बलराम दाइको मृत्यु चाहिँ पक्का हो।

साह्रै खेद छ, अब मैले बलराम बानियाँको समाचारको क्रेडिट पाउँदिनँ।

राजकुमार बानियाँको फेसबुकबाट

प्रकाशित मिति: Aug 14, 2020 09:29:17

प्रतिक्रिया दिनुहोस