बिहिबार, ०५ मार्च २०२६

सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू

News Image
• • •

एउटा भयानक शून्यता, रिक्तता। रगतले लतपतिएका सडक अनि जलिरहेको, बलिरहेको र पुत्ताइरहेको देश।

इतिहासकै यति भयंकर अन्योल र अनिश्चितताको कुहिरोभित्रका करिब ४८ घण्टाहरू सुशीला कार्कीका लागि कम्ता सकसपूर्ण थिएनन्।

उनि आफै भदौ २३ गते माइतीघरमा देशका नवपालुवामाझ उभिएर उनिहरूलाई हौसला दिएकी थिइन्। इन्टरनेटका वेभहरूबाट सडकमै विष्फोट भएको जेनजी विद्रोहको त्यो शान्तिपूर्ण सुरुवातले सबैको साथ र हौसल पाइरहेको थियो। आन्दोलनमा मिसिएको आक्रोश बढिरहेको थियो। बढिरहेको त्यो भीड संसद भवनसम्म पुग्दा इतिहासको अर्को प्रारब्धले छोप्यो। धमाधम कलिला मुनाहरू रगतमा लतपत भए। हेर्दा हेर्दै सयौं ज्यान सडकमै ढले।

रगतको खोलाबाटै निस्किएको अर्को दिनको आक्रोशको आगो संसद हुँदै सिंहदरबार र देशको सर्वोच्च न्यायालयसम्मै पुग्यो। त्यो नरसंहार अनि त्यो विध्वंश दुबैबाट पोलिन थालेपछि २४ घण्टामै एउटा शक्तिशाली सरकार ढल्यो। जो संसदका दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनाएका थिए। संसद थिएन। सरकार थिएन। सर्वोच्च न्यायालय थिएन। राष्ट्रपितको भूमिका मात्रै औपचारिकता थियो। त्यही बेला नेपाली सेना अघि सर्‍यो। ‘ओली राज’ हेलिकोप्टरबाट वेपत्ता भएपछिका केही घण्टाहरू यस्तै सकसपूर्ण थिए। जेनजीहरू ‘डिस्कर्ड’मा प्रधानमन्त्री खोजिरहेका थिए। सडकमा प्रधानमन्त्रीका लागि कैयौ ‘हर्क’हरू जुलुम गर्दै थिए। सेनाको धपेडी र अनिर्णित राष्ट्रपति रामचन्द्र पौडेल।

त्यही बेला झ्याप्पै आइन् सुशीला कार्की आशा, सपना र भरोसाको भारी बोकेर। त्यो भारी उनले आज फागनु २१ गते साँझ ५ बजे ‘सानदार’ तरिकाले बिसाएकी छिन्।

प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिका अघि ‘देश र जनताका नाममा’ सपथ लिँदै गर्दा त्यो बेला सुशीलाले भनेकी थिइन् ‘छ महिनाभित्र निर्वाचन गरेर नयाँ संसदलाई यो सरकार जिम्मा लगाउँछु…।’ आखिर यो दिन आयो। अबका केही घण्टापछि प्रधानमन्त्री सुशीला कार्कीले संसदमा आफ्नो अन्तिम सम्बोधन गर्नेछिन् र नयाँ सरकारको प्रतीक्षामा रहनेछिन्। जिम्मेवारीको यो गह्रुङ्गो तर इतिहासको सबैभन्दा अमूल्य भारी बिसाउँदै गर्दा उनै राष्ट्रपति रामचन्द्र पौडेलका कुटनीतिपूर्ण अनि सहयोगी हातहरू बिर्सन मिल्दैन। जसले ‘बडो जुक्ति’लगाएर सुशीलालाई यो निर्वाचन पर्गेल्न लगाएका थिए।

‘न्याय र सत्य’को पक्षमा एउटा स्वभावत: हठ लिएर जन्मिएकी सुशीला कार्कीले जीवनमा लेखेको यो दोस्रो इतिहास हो। जीवनको एउटा इतिहास उनले सर्वोच्च न्यायालयमै छोडिसकेकी छिन्, देशकै पहिलो प्रधानन्यायाधीश भएर। नेपालको इतिहासमा कहिलेकाहीँ त्यस्ता व्यक्तित्व जन्मिन्छन्, जसले आफ्नो अस्तित्वलाई केवल व्यक्तिगत जीवनको सफलता वा पदसँग जोड्दैनन्, बरु उनीहरूको सम्पूर्ण जीवन नै राष्ट्र, समाज, न्याय र सामाजिक मूल्यमा समर्पण हुन्छ।

सुशीला कार्की त्यही नाम हो, जसले एक दशकको नेपालमा इतिहासका दुई पानाहरू कोर्न सफल भइन्। नेपालको न्यायिक इतिहासमा सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश भइन्। राजनीतिक परिवर्तन अनि व्यवस्थाको आकष्मिकताले फेरि उनी इतिहासको अर्को पानाको एउट सशक्त हस्ताक्षर बनिन्- नेपालको पहिलो कार्यकारी प्रमुख महिला भएर।

विश्वकै तुलनामा नेपाल एउटा यस्तो देश हो, जहाँ हरेक परिवर्तनको इतिहासमा एउटा न एउटा सशक्त महिला हस्ताक्षर कुँदिएको छ। चाहे त्यो जहाँनियाँ राणा शासन होस्, चाहे पञ्चायत पतनको त्यो इतिहास। वा २०६२-६३ को जनआन्दोलन नै किन नहोस् परिवर्तनका यी हरेक मोडमा नारी शक्ति नै निर्णायक देखिएको छ।

उनको जीवनयात्रा मोरङको विराटनगरबाट सुरु भएको हो। सामान्य परिवारमा जन्मिए पनि उनको सोच असामान्य थियो। शिक्षामा गहिरो लगाव, आत्मअनुशासन र न्यायप्रतिको मोहले उनलाई कानुनको बाटोतर्फ डोर्‍यायो। कानुन पढ्दै जाँदा उनले बुझिन् ,समाजलाई रुपान्तरण गर्ने असली शक्ति न्यायमै लुकेको छ।

वकिलको भूमिकाबाट नेपालभित्र न्यायिक यात्रा थालेकी उनले २०७३ साल असार २७ गते पहिलो महिला प्रधान न्यायाधीश बनेर इतिहास रचेकी थिइन्। त्यो केवल पदमा पुग्ने उपलब्धि मात्र थिएन, त्यो त देशको चेतनामा महिलाले पनि न्यायको सर्वोच्च आसनमा पुग्न सक्छन् भन्ने प्रमाण थियो। तर यो शिखर सजिलै आएको थिएन। न्यायालयको कठोर नियम, पुरुषप्रधान सोच र सत्ता राजनीतिको दबाबबीच उनले निडर भएर हिँड्नुपरेको थियो।

उनी प्रधान न्यायाधीश हुँदा केही फैसला यस्ता आए, जसले सत्ता पक्षलाई असहज पार्‍यो। तर सुशीला कार्कीले सत्यलाई कुनै दबाबले ढाक्न दिइनन्। उनी सधैं निष्पक्ष, निर्भीक र इमानदार भएर उभिइन्। यही निर्भीकताले नै २०७४ सालमा उनलाई संसदको कठघरामा पुर्‍यायो। नेपाली काङ्ग्रेस र माओवादी गठबन्धनले उनको विरुद्धमा महाअभियोग दर्ता गर्‍यो।

महाअभियोग, यो शब्द नै राजनीतिक प्रतिशोधको प्रतीक बन्यो। संसदमा प्रस्ताव दर्ता भएपछि कार्की निलम्बित भइन्। त्यो क्षण केवल एक न्यायाधीशको अपमान मात्र थिएन, त्यो क्षण न्यायालयमाथिको आक्रमण पनि थियो। तर समयले देखायो, महाअभियोग असफल भयो। जनताको आवाज, नागरिक समाजको समर्थन र न्यायप्रतिको आस्था अगाडि राजनीतिक खेल टिक्न सकेन। सुशीला कार्की अझ निखारिँदै जनमानसमा फर्किइन्।

बनारस हिन्दू विश्वविद्यालय र नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनपछि वकालत पेशामा प्रवेश गरेकी सुशीला कार्कीसँग विद्यार्थी कालीन राजनीतिका कैयन अनुभवहरू पनि छन्। नेपालको राजनीतिक इतिहासमा अग्रभागमा आउने कोइराला परिवारको निकटमा रहेका उनका पति दुर्गा सुवेदी काँग्रेस क्रान्तिका एक योद्धा पनि हुन्।

०३० सालमा तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान अपहरण भएको थियो। त्यो बेला पञ्चायतविरुद्ध लड्नका लागि नेपाली काँग्रेसले थालेको क्रान्तिलाई पैसा जुटाउन नेपाल राष्ट्र बैंकको पैसा लुट्न त्यो बिमान अपहरण गरिएको थियो। त्यो बिमान अपहरणका एक मुख्य योजनाकार थिए, दुर्गा। र, उनैले लेखेका छन् एउटा ऐतिहासिक किताब-विमान विद्रोह।    

राजनीतिक अनि सामाजिक न्यायिक चेतले खारिएका सुशीलाका लागि बितेका यी ६ महिनाहरू कम्ता सकसपूर्ण भएन। सयौथरि ‘जेनजी समूह’हरू अनि जेनजीका नाम जोडिएका अनेकानेक स्वार्थी समूहहरू। दूरीले आफ्नै सन्तानसँग टाढा रहेकी सुशीलाका जिन्दगीमा राष्ट्रको एउटा नियतिले फेरि लाखौं सन्तानहरू जोडिदियो। कसैले के भने कसैले के भने।

जब उनले चुनावको घोषणा गरिन् त्यो बेलादेखि नै त्यही आन्दोलनले बिस्थापित गरेका राजनीतिक दलहरू ‘कुनै पनि हालतमा चुनाव हुँदैन’ भनेर गनगन गर्न थालिसकेका थिए। चुनावको पूर्वसन्ध्यासम्म पनि ‘संसद पुनस्थापना हुन्छ’ भनेर र्‍याल चुहाउनेहरू २१ गते बिहानै मतदान स्थलमा पनि झुल्किए। त्यसका लागि अड्डा अदालतमा अझै पनि मुद्दाहरू असरल्ल छन्। ‘जेनजी आन्दोलनको मर्म चुनावमात्रै होइन, हामी चुनाव मान्दैनौं’ भन्ने ‘जेनजी’हरू अघिल्लो दिनसम्म पनि माइतीघरमै थिए। कैयौपल्ट उनि तिनै जेनजीहरूसँग घेरिइन्। सहिदका परिवारसँग घेरिइन्। घाइतेका परिवारसँग घेरिइन्। घेराहरू त अनेक थिए। र, पनि चुनाव भयो। सुशीलाले यी ६ महिना यस्ता कैयौ सकसहरू झेलिरहिन्। कसैलाई छोरा भनिन्। कसैलाई छोरी बनाइन्। सरकारका चलाउनका लागि उनले खोजेका धेरै सारथीहरू अन्तिम समयमा उनको साथ छोडेर चुनावी मैदानमा नारिए। र, पनि उनले हार मानिनन्। लक्ष्य प्रस्ट थियो। गन्तव्य छर्लङ्ग थियो। उनिभित्रै जिन्दगीभरि दरिएको एउटा आँट थियो। कैयौं नैराश्यताका बीचमा पनि उनले एउटा हठ भने छोडिनन् ‘फागुन २१ मा चुनाव हुन्छ हुन्छ…।’ अनि उनले याे पनि भनेकी थिइन् कि ‘याे चुनावमा कसैकाे पनि रगत बग्नु हुन्न...।’ भयाे पनि त्यस्तै एकाधबाहेक सबै ठाउँमा निर्वाचन शान्तिपूर्ण भयाे। उत्साहपूर्ण भयाे। सबभन्दा राेचक त नयाँपुस्ताकाे याे चुनावी अनुभव निकै उत्साहपूर्ण देखियाे सँगै सक्रियता पनि।

यस्तो बेलामा कहिलेकाहिँ उनि बैरागिन्थिन् पनि। र, मनका कुरा खोलिहाल्छिन् ‘कहिले फागुन २१ आउला र आनन्दले बसूँली…।’

जिन्दगीका कतिपय हठहरू यस्ता हुन्छन् जसले लक्ष्य तय गर्छ र गन्तव्यको बाटो कोर्छ। त्यतिमात्रै होइन, त्यो गन्तव्यमा पुर्‍याएरै छोड्छ। न्यायिक यात्राका कतिपय हठहरूले सुशीलालाई फेरि अर्को एउटा मुकाममा पुर्‍याएको छ।

यो फागुन २१ मा उनले आफ्नो जिन्दगीको इतिहासमा मात्रै एउटा पाना थपेकी छैनन्। बरु सिङ्गो देशको इतिहासमा कैयौ पानाहरू जोडेकी छिन्। चुनाव भयो, अब कसले जित्छ त्यो चुनावी अंकगणित नै बोल्नेछ तर आजको दिन अर्थात् २०८१ साल फागुन २१ गते सुशीला कार्कीले जितेको दिन हो। यो राष्ट्र अनि फेरि पनि लोकतन्त्रले जितेको दिन हो। संविधानले जितेको दिन हो। अनि नवपुस्ताले आफ्नो भविष्यमाथि जितेको दिन हो। देशको एउटा पुस्ताको इतिहासमा उनको नाम कहिल्यै मेटिनेछैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!