शुक्रबार, ०६ मार्च २०२६

बाहुबली 'बालेन बेग'ले उडायो सपना धेरैको

News Image
• • •

फागुन २१ गते २०८२ साल । नेपालमा बहुप्रतिक्षित मध्यावधि चुनाव सम्पन्न भएको दिन हो । 

यो दिन नेपालको इतिहासमै रास्वपाको घण्टी टिनिनि मात्र हैन, टनन नै बज्यो ।

निर्वाचन  मतगणनाको प्रारम्भिक रूझानले यस्तै संकेत गरेको छ ।  

तर, यसपटक घण्टी यसरी बज्ला भनेर शायदै कसैले सोचेका थिए ।अरूको के कुरा भयो र ?, स्वयं रास्वपा सभापति रवि लामिछाने पनि यसरी सोच्ने अवस्थामा थिएनन् ।

यद्यपि, उनले चुनावी सभाहरूमा रास्वपाको पक्षमा सुनामी आएको बताउने गरेका थिए । चुनावको बेला नेताहरूको कुरा- त्यो सार्वजनिक खपतका लागि मात्र थियो भन्ने बुझ्न कुनै गाह्रो थिएन ।

यतिबेला चुनाव सम्पन्न भएर रास्वपाको पक्षमा सुनामी परिणाम नै आउन थालेको छ । वाचाल रविले भन्न पनि सक्छन् कि ‘यी एक दुई ठाउँमा पनि अरूले कसरी अग्रता लिए ?’

उनले यसो भने पनि अन्यथा मान्नुपर्ने अवस्था छैन । किनकि, घण्टी यसरी बजेको छ कि यो बज्दा बाँकि सबै पार्टीको राजनीतिकै घण्टी बजेको छ ।

अहिलेको ट्रेण्ड हेर्दा यस्तो लाग्छ, प्रत्यक्षतर्फको निर्वाचनमा रास्वपालाई कम्तिमा पनि बहुमत ल्याउनबाट अब कसैले रोक्न सक्ने स्थिति नै छैन । समानुपातिकतर्फ पनि रास्वपाको घण्टी टिनिनि हैन, टनन नै बज्ने प्रारम्भिक रूझान देखिएको छ । 

यदि यही रूझान कायम रहेर प्रत्यक्ष र समानुपातिक दुबैतिर घण्टी टनन बज्ने हो भने रास्वपा दुईतिहाई पार पनि हुन सक्छ । हैन भने पनि रास्वपा प्रचण्ड बहुमत नजिक नपुगी थामिने जस्तो देखिदैन ।

यो भनेको रास्वपाको पक्षमा संविधान संशोधनको म्याण्डेट हो । रास्वपाले आफूलाई परिवर्तनको एजेन्ट भनेको छ र उसले संविधान नै संशोधन गर्ने वाचा गरेको छ । उसले गरेका १०० वाचामध्ये धेरै यस्ता वाचा छन् जसको लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ ।

यी पंक्ति लेखुञ्जेल रास्वपाले आफ्नो पक्षमा मात्र हैन, पुराना दलका धेरै मूर्धन्य नेताको राजनीतिकै घण्टी बजाएको प्रारम्भिक रूझान छ । तीमध्ये सबैभन्दा ठूलो घण्टी एमाले अध्यक्ष ओलीकै बजाएको छ । झापा ५ मा ओली बालेनभन्दा दोब्बर मतले पछि परेका छन् । १० प्रतिशत पनि मत गनिनसकेको अवस्थामा अहिले  नै परिणाम आइसक्यो त भन्न सकिन्न तर अब ओली जित्ने सम्भावना लगभग छैन भने पनि हुन्छ ।

यस्तै अवस्था छ, एमालेका अन्य ठूला नेताहरुको पनि । एमाले उपाध्यक्ष विष्णु पौडेल रूपन्देही २ मा, पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ मा, सचिव डा. राजन भट्टराई काठमाडौं ४ मा, अर्का सचिव महेश बस्नेत भक्तपुर २ मा उठ्नै नसक्ने गरेर थेचारिएका छन् । उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लम्जुङमा र महासचिव शंकर पोखरेल दाङ २ मा तेस्रो स्थानमा छन् भने सचिव भानुभक्त ढकाल तेह्रथुममा कांग्रेस उम्मेद्वारलाई पछ्याइरहेका छन् ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल काठमाडौं ५ मा, उपाध्यक्ष गुरू घिमिरे मोरङ ४ मा, शीर्ष नेता डा. शेखर कोइराला मोरङ ६ मा हारको इतिहास उन्मुख छन् । सर्लाही ४ बाट आएको प्रारम्भिक रूझानले कांग्रेस सभापति गगन थापालाई पनि बालेनको बेगले बाँकि छोड्ला जस्तो छैन ।

अहिलेको स्थिति हेर्दा देश घण्टीमय भएको छ । तर, यो घण्टी पुरानो रालो रवि लामिछानेले बजाएका छैनन्,  नयाँ रालो  वालेन शाहले  बजाएका हुन् । कुनै बेला रास्वपा भनेकौ रवि लामिछाने हुन्थ्यो, अहिले उनै रवि यो दृश्य टुलुटुलु हेरिरहेका छन् । रविका लागि यो आफैंमा एक कष्टप्रद क्षण हो । 

रास्वपाको यो प्रचण्ड जीत हुँदा पनि यसका सभापति सांसदकै सपथ लिन पाउँने अवस्थामा छैनन् । सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पति शुद्धीकरणजस्ता फौजदारी मुद्दा लागेका उनी यस अघिको संसदमै निलम्बित थिए । त्यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले उनले संसदको सपथ नै खान पाउँने छैनन् ।

जनताबाट अपार म्यान्डेट पाउँदा पनि एक किसिमको यो बिडम्पनाबाट रास्वपाले मुक्ति पाउँनेवाला छैन । उही सरकार नै लाग्यो भने त कसको के लाग्छ र? हैन भने रवि संगठित अपराध र सम्पति शुद्धिकरणजस्ता फौजदारी मुद्दाबाट जोगिन सक्ने छैनन् । कथंकदाचित जोगिए नै भने पनि दोहोरो राहदानीको अर्को फौजदारी मुद्दा सर्वोच्च अदालतमा जारी नै छ  जसले उनको सार्वजनिक राजनीतिक जीवनको अध्याय नै सदाका लागि बन्द गरिदिन सक्छ ।

पछिल्लो राजनीतिक अवस्था भनेको देशमा जबर्जस्त रूपमा रास्वपा आइसकेको हो । अबको प्रश्न भनेको अब कसरी सरकार बन्छ र पार्टी नै नभैसकेको अवस्थाको रास्वपाले यसको अन्तरपार्टी डाइनामिक्सलाई कसरी सम्बोधन गरेर अगाडि बढ्छ भन्ने नै हो ।

योसँगै जोडिएर आउँछन्, रविसँग जोडिएका मुद्दाहरू  र उनको राजनीतिक भविष्य ।

रास्वपाले सरकार बनाएपछि कसरी लिन्छ सुशासन र भ्रष्टाचारसँग साइनो गाँसिएका यी सरकारवादी मुद्दाहरू ?  

यसैबाट सुरू हुन्छ, रास्वपाको दुइमुखे नेतृत्वको लिटमस टेस्ट र सोसल अडिटिङ । 

जनता जागेको बेला, लटरपटरले चल्ला जस्तो छैन । आखिर पुरानाले चोरे, नयाँले पनि चोर्न पाउनुपर्छ भन्ने त जनताको म्यान्डेट हैन होला नि ? नेपाली जनतालाई अर्को चोर चाहिएको हैन, नचोर्ने इमान्दार चाहिएको हो ।

अहिलेको सत्य भनेको नेपालको राजनीतिमा बाहुबली बालेनको बेग चलेको छ । यो बेगले कसकसलाई उडाउने भन्दा पनि कसकसलाई मात्र बाँकि छाड्ने हो ? 

यस प्रश्नको उत्तर अझै पनि समयकै गर्भमा छ । उसले नै ऐनामा उत्तर देखाइदिने हो । हाम्रो काम हेर्ने हो, हेर्दै जाउँ । त्यसका लागि बाँच्नुपर्छ, बाँचे देखिन्छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!