बुधबार, २० अगस्ट २०२५

काठमाडाैं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न डिसीसीएमसीको सिफारिस

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडाैं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गर्न सिफारिस गरेको छ। 

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले जारी निषेधाज्ञा एक साता थप गरि भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले बतायो।

यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। तर कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएकोले  बैठकले थप लम्ब्याउन सिफारिस गरेको हो। 

यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन्।

जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन्। प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि हुन्छन्।

 निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाई गर्ने तयारी पनि प्रशासनको छ।

यता सोमबार काठमाडौंमा बसेको बैठकले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो। यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।

यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परीक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सीआईसीटी)सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको थियो।

काठमाडौं उपत्यकामा विगत २४ घन्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा १४ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५ सय ५२ जनामा संक्रमण देखिएको छ।

मंगलबार, भाद्र ०९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)