कोरोनाको उपचारमा खट्दा नर्स आफैँ सङ्क्रमित, निको भएर फेरि उपचारमा जुट्ने अठोट (भिडियो)

धुलिखेल अस्पतालकी स्टाफ नर्स हुन्, सृजना नगरकोटी  (२६)। दुई साताअघि पनि उनी अस्पतालमै हुन्थिन्, अहिले पनि उनी त्यही अस्पतालमै छिन्। तर, पहिले र अहिले उनको चिनारी फेरिएको छ। भूमिका पनि बदलिएको छ। बिएल नेपाली सेवा सँग उनले भनिन्, ‘अस्पतालमै छु। पहिला नर्सको रुपमा हुन्थेँ, अहिले बिरामीका रुपमा छु।’

दुई साताअघिसम्म उनी बिरामीलाई सोध्थिन्, ‘तपाईंलाई कस्तो छ ?’ अहिले उनलाई मोबाइल फोनबाट आफन्त, साथीभाइ र शुभेच्छुक तिनै प्रश्न गर्दैछन्, ‘सृजना, तिमीलाई कस्तो छ ?’

पहिले उनी बिरामीलाई औषधि र स्वास्थ्य ‘टिप्स’ दिन्थिन्।  खुशी बस्न उत्प्रेरित गर्थिन्। निराश नहुन भन्थिन्। अहिले उनी आफैँ त्यो सुनिरहेकी छिन्, ‘निराश नहोऊ, सृजना ! खुशी बस। कोरोना कुनै ठूलो रोग होइन, तिमी सजिलै जित्ने छौ।’

पहिले बिरामीलाई व्यायाम गर्न सुझाउँथिन्, अहिले आफैँ गर्छिन्। दुई साताअघिसम्म ‘भिटामिन– डी’, ‘मल्टि–भिटामिन’ जस्ता औषधि बिरामीलाई दिने सृजना अहिले आफैँ सेवन गरिरहेकी छिन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका, दधिकोटकी छोरी हुन्– सृजना। उनीभित्र आत्मविश्वास छ, ‘कोरोना भाइरसलाई म छिट्टै जित्छु। अनि फेरि ‘पीपीई’ लगाएर कोरोनाविरुद्ध मैदानमा उत्रन्छु। आफू जोखिम मोलेर पनि उपचार गर्नु मेरो धर्म हो।’

सेवा दिएर योगदान गर्नुपर्ने बेलामा आफैँ बिरामी भएर सृजनाको १० दिन बितिसकेको छ– अस्पतालको शैयामा। उनलाई समय खेर गएको जस्तो पनि लागिरहेको छ। घर–परिवार र आफन्तजन पीरमा छन्। साथीभाइलाई चिन्ता छ। आफू बिरामी भएर अस्पतालमा छिन्, तर उनको मन भने आमामाथि छ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै भन्दा पहिला आमालाई सम्झिइन्,  सृजनाले। उनी घरबाट भर्खरै धुलिखेल फर्केकी थिइन्। घरपरिवार सम्झिइन्। ‘मैले सबैभन्दा पहिला मेरो ममीलाई सम्झेँ किनभने उहाँलाई हाइपरटेन्सन पनि छ। म घरमा गएर घुलमिल भइसकेको थिएँ । जोखिम चाहिँ सबैभन्दा बढी ममीलाई थियो’, त्यतिबेलाको क्षण सम्झिँदै भनिन्, ‘मेरो ममीलाई सर्‍यो भने त के हुन्छ होला भन्ने आयो। एकदमै नराम्रो महसुस भयो। म त योङ एजमै छु। स्वास्थ्यकर्मी भइसकेँ। आफूलाई थाहा भइरहेको कुरा भयो नि त ! मैले गर्दा ममीलाई केही भइहाल्यो भने के गर्ने ?!’ आफ्नोभन्दा पनि परिवारलाई जोखिममा पारेँ भन्ने हिसाबले नराम्रो महसुस भएको उनले बताइन्।

कोभिड अस्पतालमा पालैपालो ड्यूटी

सृजना खासमा ‘पेडियाट्रिक नर्स’ हुन्। कोभिड–१९ अघि उनी धुलिखेल अस्पतालको ‘बच्चा वार्ड’ मात्र काम गर्थिन्। अहिले अस्पतालले एउटा ‘ब्लक’  कोभिड–१९ का बिरामीको उपचारका लागि छुट्ट्याइएको छ, जहाँ ५० शैयामा कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्ने व्यवस्था छ।

सबै नर्ससहित स्वास्थ्यकर्मीलाई पालैपालो ‘रोटेसन’ मा खटाउँछ, अस्पताल प्रशासनले। त्यसै अनुसार उनी दुई साताअघि कोभिड–ब्लकमा खटिएकी थिइन्। त्यसअघि एक साता उनी घर गएर बसेकी थिइन– ‘होम क्वारेन्टाइन’।

‘हाम्रो साप्ताहिक पोष्टिङ हुन्छ। एक साता काम गरेपछि छुट्टी हुन्छ, एक साता। फेरि पीसीआर गराएर नेगेटिभ छ भने आफ्नो सामान्य ड्युटीमा जानुपर्छ’, उनले सुनाइन्, ‘छुट्टीमा म पनि घर गएर ‘होम क्वारेन्टाइन’ बसेँ। त्यसपछिको पोेस्टिङ कोभिडमा थियो। अस्पताल आएर पीसीआर गर्दा पोजेटिभ आयो।’

अस्पतालमा कार्यरत कति जना ‘स्टाफ’ मा कोरोना भाइरस देखिएको छ, त्यो त उनलाई थाहा छैन। आफूसँगै काम गर्ने अरु दुई जना साथीलाई पनि कोरोना भएको उनलाई थाहा छ। उनीहरु सँगै छन्।

सामान्य रुघाखोकी र घाँटी दुख्यो

सृजना चार वर्षदेखि धुलिखेल अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत छिन्। उनमा कोरोना संक्रमण गत शुक्रबार (साउन ३० गते) देखिएको हो। त्यसपछिका पट्यार लाग्दा १० दिन उनले अस्पतालकै बेडमा बिताइसकेकी छिन्।

उनले आफूलाई दिनदिनै स्वस्थ महसुस गर्दै छिन्। अलिअलि घाँटी दुखेको पनि ठीक हुँदै गएको छ। ‘मलाई बोल्न गाह्रो छैन। सुरुमा पोजेटिभ आउँदा पनि गाह्रो भएको थिएन’, उनले आफ्नो स्वास्थ्यबारे सुनाइन्, ‘पाँच–छ दिनपछि चाहिँ अलि–अलि खोकी लाग्ने, घाँटी दुख्ने भयो। स्वर पनि बसेको थियो। अहिले पनि स्वर अलि–अलि बसेको छ। गाह्रो केही छैन। अबको टेस्टमा निगेटिभ आउला !’

रोगभन्दा डर बढी !

आफन्त र साथीभाइमा कौतुलह र आशंका पनि छ– बेलायत, अमेरिका, इटाली वा स्पेनजस्ता देशलाई पनि हायलकायल पारेको कोरोनालाई कसरी सजिलै पराजित गर्लिन्– हामी  सृजनाले ? फेरि सजिलो रोग त पटक्कै हैन ! तर पनि कोरोनाको स्वादै नपाएकाहरु कोरोनासँग जुधिरहेकी सृजनालाई ढाडस चाहिँ दिइरहेका छन्, ‘सृजना, तिमीले जित्ने छ्यौ !’

संसारलाई नै एकसाथ लपेट्ने महाव्याधि ‘कोभिड–१९’ विरुद्ध लड्न साहस भएकी एकजना योद्धा हुन्– सृजना। उनले संसारभरि स्वास्थ्यकर्मी आफैँ जोखिममा परेको समाचार पनि पढेकी छिन्। अहिले उनी आफैँ ‘आइसोलेसन’ पुगेकी छिन् तर बिल्कुलै डराउने पक्षमा छैनन्।  ‘अब एक–दुई दिनमै परीक्षण हुन्छ। मेरो रिपोर्ट निगेटिभ आउँछ। त्यसपछि फेरि कोभिड–१९ का बिरामीलाई उपचारमा खटिने छु’, उनले आत्मविश्वास साथ भनिन्।

१३० वर्षअगाडि सन् १८५१ मा नर्स भएकी बेलायती नारी फ्लोरेन्स नाइटिङ्गेलले सुरु गरेको नर्सिङ पेशाको एक जना अनुयायी हुन्– सृजना। उनले पेशाको मूलमन्त्र भुलेकी छैनन्। भनिन्, ‘आफूलाई जोखिम हुने भयो भनेर हामी नर्स, डाक्टर नै भाग्न थाल्यौँ भने उपचार चाहिँ कसले गर्ने ? यो हाम्रो कर्तव्य हो। जोखिम मोलेर भए पनि सकेसम्म बिरामीको जीवन रक्षा गर्नुपर्छ।’

क्रिमियाको युद्धका घाइते बेलायती सैनिकको उपचार गर्न ३८ जना महिला स्वास्थ्यकर्मी सहित सन् १८५४ मा जोखिम मोलेर टर्की गएपछि नाइटिङ्गेलले ‘द लेडी विथ द ल्याम्प’ (बत्ती लिएकी नारी) को उपमा पाएकी थिइन्। उनै नाइटिङ्गेलले सुरु गरेको पेशा हो।  सिद्धान्त पनि उही हो। जोखिम पनि त्यसबेला भन्दा अहिले घटेको छैन।

फेरि पेशामा फर्कने अठोट

साँच्चिकै साहसको कुरा गरिन्, सृजनाले। धुलिखेल अस्पतालको शैयामा ढलेको १० दिनपछि उनले भनिन्, ‘सुरुमा त मलाई विश्वासै लागेन। अरु नै कोही सृजना होला, झुक्किएर मलाई भनेको होला भन्ठानेँ। मलाई केही भएको थिएन। पछि त मेरै रहेछ। मैले नै सेवा गरेका बिरामी धेरै जना लक्षण नै नभएका बिरामी पनि हुनुहुन्थ्यो। त्यस्तै भयो जस्तो लाग्यो।’

आफूलाई कसरी सर्‍यो होला कोरोना भाइरस ? त्यो अनुमान गर्नै सक्दिनन् सृजना। ‘खै, कसरी भयो होला भन्नु ? यस्तै बिरामी हेरेँ। हामीसँग पीपीई पनि राम्रो थियो। उपलब्ध पनि भएकै हो। लाउन, फुकाल्न पनि राम्ररी नै ट्रेन्ड थियौँ’, उनले भनिन्, ‘काम गर्ने क्रममा भयो होला, दुर्घटनावश भयो।’

आफैँले काम गर्ने अस्पताल भएकाले उनलाई असहज महसुस भएको छैन। अहिलेसम्म त अस्पतालले बेड थप्दै भए पनि जसोतसो बिरामी राखेको छ। ‘अहिलेसम्म चाहिँ बेडहरु पनि राम्रै छ,  अब थपिनेहरुका लागि चाहिँ कम हुन्छ कि जस्तो लाग्दै छ’, उनले भनिन्।

उनले कोभिड–१९ बारे पढेकी छिन्। त्यो अनुसार  १४ दिनमा निगेटिभ आउनुपर्ने हो। ‘कसैलाई त त्योभन्दा बढी पनि हुन्छ। मलाई त केही पनि भएको छैन’, उनले भनिन्, ‘खोकी लागेको छैन, रुघा पनि छैन। ज्वरो वा घाँटी सुक्खा पनि भएको छैन। सबै ठीकै छ। १४ दिनमै आउँछ होला।’

बिरामीको उपचारमा खटिँदा उनी आफैंलाई कोरोना भाइरस संक्रमण भइसक्यो। ज्यान नै जोखिममा पारेर जागीर खानू भन्दा छाडेर घर बसौँ भन्ने पनि आउँदो हो कतिपयको मनमा। माओवादी सशस्त्र द्वन्द्वका बेला प्रहरी–सेनाको जागीर छाड्ने क्रम हाम्रै समाजको हो। ’भक्तपुरकै स्थानीय सृजनालाई दुई–चार महिना बेरोजगार बस्दा के नै फरक पर्छ र ! यस्तो कुरो मनमा आउँदैन ?’  उनले यस्तो सोचलाई ठाडै अस्वीकार गरिन्। उनले भनिन्, ‘त्यस्तो लागेको छैन। त्यस्तो सोचेर हुँदैन। मैले त्यस्तो सोचेर छोड्छु भनेँ भने मजस्तै सबै डाक्टर, नर्सले जोखिम छ भनेर छाड्न थाल्नुभयो भने कसले उपचार गर्ने फेरि !? कोभिडका बिरामी झन् बढ्दै जान्छन्। डर मानेर आफ्नो पेशा, काम नै छाड्ने भन्ने मेरो मनमा आएको छैन। म ठीक भएर सेवामा फर्कने हो।’

कोरोनाका बिरामीलाई उपचार गर्दागर्दै आफैँ संक्रमित भएर ओछ्यान परेकी छिन् तर उनलाई एउटा कुराले भने अत्यन्त दुःिखत् बनाएको छ। स्वास्थ्यकर्मीमाथि समाजमा भएको दुव्र्यवहारले उनको मन दुखेको छ। उनले भनिन्, ‘डाक्टर, नर्सलाई नै कतिपय घरपटीले कोठामा बस्न नदिएको घटना भएको छ। स्वास्थ्यकर्मीलाई घरमा परिवारले नै नआऊ भनेको पनि सुनिएको छ। समाजले दुर्व्यवहार गरेको छ। त्यो देख्दा अलि नमज्जा हुन्छ। पीर हुन्छ। मेरो त घर र समाज पनि राम्रो छ। मलाई केही फरक पर्दैन। त्यसैले मलाई कोभिड–१९ भएको छ भनेर फोटोसहित सार्वजनिक रुपमा भन्न सक्छु। अनुहार लुकाउनुपर्ने अपराध मैले केही गरेको छैन।’

प्रकाशित मिति: : 2020-08-26 20:03:00

प्रतिकृया दिनुहोस्