आइतबार, १६ नोभेम्बर २०२५

‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

ड्रग्सको त्यो तुँवालोले उनको जिन्दगीलाई यतिसम्म धुम्म पारिसकेको थियो कि न अघि बढ्न सक्थे उनी न पछि फर्किन। घरपरिवार, आफन्त, समाज अनि त्यो भन्दा पनि धेरै आफैलाई बिथोलेको ड्रग्सको त्यो कालो बादलबाट एक दिन उज्यालो बाटोमा झुल्किए किरण। गाह्रो छ, तर जब दिलबाटै आउँछ नि सुध्रिने चाहना अनि सुधारको बाटो कठिन हुँदैन। यो ड्रग्सको त्यही कालो बादल चिरेर फेरि जिन्दगीको उज्यालोमा झुल्किएको किरणको कथा हो-


बालखैमा आमाले छाडेर गएपछि किरणलाई बुबाले हुर्काए। एक्लैले छोराको पालनपोषण गरे।

कुनै चिजको कमी हुन दिएनन्। सबथोक पुर्याइदिए। आमाबुबा दुबैको माया दिएर पुलपुलाए। 

तर त्यही छोराले बुबामाथि हात उठाए, त्योपनि ड्रग्सको लतमा। 

काठमाडौंको कंलकीमा जन्मिएका किरण सानैदेखि जिज्ञासु थिए। अरूको नक्कल गर्नु, आफ्नो कुरामा अडिग रहनु त उनको स्वभावै थियो। चाहे उनको कुरा गलतै किन नहोस्। 

उनले भनेपछि त्यो पूरा हुनैपथ्यो। 

अरूको देखासिकी गर्नमा पनि माहिर थिए किरण। टोलका दाइहरूले च्यातिएको पाइन्ट लगाएको देख्दा, गालीगलौज गरेको सुन्दा र चुरोट तानेको देख्दा उनलाई पनि त्यस्तै रहर लाग्थ्यो। 

चुरोट तानेर मुखबाट धुँवा उडाउँदा कस्तो हुन्छ भन्ने उनको मनमा कौल्तुहलता बढ्यो। त्यही उत्सुकताले उनलाई कुलतमा धकल्यो।

चुरोट खाने रहर थियो उनमा। त्यो रहरले उनलाई सडकमा फ्याँकेका चुरोटको ठुटा उठाउने बनायो। 

किरणलाई अझैपनि याद छ, पहिलोपटक सडकबाट उठाएको चुरोट तानेर रहर मेटाएको। उनी मात्र ११ वर्षका थिए। 

पहिलोपटक चुरोट तान्दा उनलाई रमाइलो लाग्यो। कहिल्यै नपाएको सन्तृष्टी पाएजस्तो भयो। तर त्यतिबेला किरणले बुझेनन्, त्यो त मात्र क्षणिक थियो। 

हुनत सानैदेखि जिद्दी थिए किरण। झुठ बोल्नु र घरमा छकाउनु उनको आदतै थियो। त्यही बानीले छुटेको थियो किरणको स्कूले जीवन। 

बुबा काममा जान्थे। घरमा बहिनीसँग उनी एक्लै हुन्थे। स्कूल नगइकन उनी घुम्न निस्किन्थे। बेलुका बुबासँग भने स्कूल गएको भन्दै झुठ बोल्थे। 

‘म सानैदेखि बदमासी थिएँ’, अहिले उनलाई लाग्छ, ‘मेरो व्यवहारले देखाइसकेको रहिछ कि म एडिग नै हुन्छु भनेर।’ 

चुरोट खान थालेपछि उनले लागुऔषध खाने नयाँ साथीहरू बनाए। उनीहरूबाटै किरणले कहिल्यै नसुनेको नशालु पदार्थबारे थाह पाए।

साथीहरूले भनेजस्तै उनले नयाँ–नयाँ अम्मलहरू सेवन गर्दै गए। त्यसपछि उनको डोज पनि बढ्दै गयो।

सुरुवाती दिनमा चुरोटमा सीमित रहेका किरण ड्रग्ससम्म पुगे।

चुरोटबाट गाँजा, गोटी हुँदै ड्रग्ससम्म पुगेको बताउँदै उनले भने, ‘सुरुबेलाको मज्जा खोज्नका लागि मैले नशाको डोज बढाउँदै गएँ। आफ्नै जीवन नर्कमा लगें।’

११ वर्षको उमेरमा चुरोट खान थालेका किरण १४ वर्षमा दुव्र्यसनी भइसकेका थिए। उनलाई बोल्न समेत ड्रग्स चाहिन्थ्यो। 

चुरोटबाट ‘ड्रग्स एडिग’ भइसक्दा पनि परिवार बेखर थिए। उनलाई विश्वास गरिरहेका थिए। 

तर विस्तारै घरबाट पैसा र सामान हराउन थाल्यो। एकाएक घरको पैसा र सामानहरू हराउन थालेपछि किरणमाथि परिवारले गरेको विश्वास पनि गुम्यो। 

‘मैले लागुऔषध खानका लागि घरको पैसा र सामान चोर्न थालेपछि मलाई मेरो परिवारले विश्वास गर्न छाड्यो’, किरण भन्छन्, ‘मेरो स्वभावकै कारण परिवारले मेरो कुलतबारे थाहा पायो।’

दुव्र्यसनी किरण देखेर परिवार आजित भइसकेका थिए। उनको अगाडि पैसा र दराजको साँचो राख्न पनि डराउँथे।

छोरा कुलतमा फसिसकेको थाह पाएपछि निराशिएका बुबाले उनलाई सुर्धान चाहन्थे। तर कसरी सुधार्ने?

त्यही कुराले परिवारलाई पिरोलिरहेको थियो। तर किरण भने बिन्दास थिए। परिवारको मतलबै थिएन। 
ड्रग्स खाएर दिन बिताइरहेका किरणलाई परिवारले सम्झाउन खोजे। तर उनी परिवारसँगै टाढिदैं गए।

उनलाई लागुऔषध नखान भन्दै बुबाले कयौं पटक सुझाए। जवाफमा किरणले उल्टै भनिदिन्थे, ‘मेरो जिन्दगी हो, मलाई जन्माउनुभयो। कर्म दिनु सक्नु भएन। के गर्न सक्नुभयो र?’

छोराले मुखभरिको जवाफ फर्काउँदा बुबाले धेरै पटक आँसु खसाले। तर त्यो आँसुलाई कहिल्यै बुझेनन् किरणले। सधैं आफूले रोजेको गलत बाटोलाई सही ठानिरहे। 

कयौं पटक सम्झाउँदा पनि नटेरेपछि बुबाले एउटा आशामा किरणलाई काममा लगाए, छोरा सुध्रिन्छ कि!

बुबाले आफ्नो दाइ काम गर्ने ठाउँमा किरणलाई पनि काममा लगाए। उनले पनि दुई–चार दिन त ठुलोबुबासँगै ‘लिफ्ट’मा काम गरे। 

तर लामो समय टिक्न सकेनन्। जसको कारण थियो उनको चोर्ने आदत। 

नशा खान नपाएर उनी दिनभरि काममा छटपटिरहन्थे। त्यही सिकनेस उनले कामदारको पैसा चोरिदिन्थे। 

किरणले पैसा चोरेको कारण ठुलोबुबा पनि काम छोड्न बाध्य भए। ‘मैले खाएर पहिलोपटक गरेको काम त्यही थियो। तर मैले राम्रोसँग गर्न सकिनँ। मेरो कारण बुबाले पनि काम छाड्नुपर्यो’, बिएल नेपाली सेवासँग उनले बताए। 

लागुऔषध खान थालेपछि किरणले कहिल्यै काम गरेनन्। तर उनले ड्रग्स नखाएको कुनै दिनै हुँदैन थियो। 

घरमा चोरेर हुन्छ कि साथीभाइहरूलाई ठगेरै भएपनि उनले ड्रग्सको डोज पुर्‍याएरै छाड्थे। ‘मेरो घरमा चामल छैन भन्दै साथीहरूसँग पैसा मागेर भएपनि ड्रग्स खान्थें’, किरणले सुनाए। 

लागुऔषध खाएर राम्रो भइन्छ भन्ने उनको जीवनको सबैभन्दा ठुलो भ्रण थियो। जुन भ्रमलाई बिनाकारण किरणले बढाइरहेका थिए। 

नशा गरेर उनी राम्रो भएनन्। बरू, परिवारसँगको सम्बन्ध बिग्रिदैं गयो। समाजसँग त किरणको ‘पानी बाराबर’ नै थियो। 

‘मैले खाएको चिजलाई राम्रो भन्ने व्यक्ति मात्र मलाई ठिक लाग्थ्यो। मलाई गाली गर्ने मान्छेको संगतै गर्न मन लाग्दैन थियो’, किरणले विगतलाई कोट्याउँदै भने। 

जब किरणले बुबामाथि हात उठाए

ड्रग्स नखाइ बस्न नसक्ने अवस्थामा पुगिसकेका थिए किरण। त्यो पाउनका लागि उनी जेसुकै गर्न तयार हुन्थे। 

एकदिन उनी ड्रग्स खाएरै झुलिरहेका थिए। त्यतिबेलै बहिनी अत्तालिदैं उनीकहाँ आएर भनिन्, ‘बुबा कौसीबाट खसेर अस्पालमा हुनुहन्छ।’ 

बहिनीको कुरा सुनेर उनी सरासर घर गए। र, बुबाले लुकाएको पैसा खोज्न थाले। 

कौसीबाट खसेर रगताम्यै भएका बुबालाई आमा र छिमेकी मिलेर अस्पताल पुर्याएका थिए। तर उनलाई कुनै मतलब थिएन। मतलब थियो मात्र पैसाको। ड्रग्सको। 

‘बुबालाई सबैजना मिलेर अस्पताल पुर्याउँदा मैले भने घरमा कोही नभएको फाइदा उठाएर पैसा खोजिरहेको थिएँ’, त्यो कुरा सम्झिदा अझैपनि झस्किन्छन् किरण। 

उनको ड्रग्स आदतले बुबाले छोराको कुटाइ मात्र खाएनन् पूख्यौली घर समेत बेच्नुपर्यो। 

किरण सधैं ड्रग्स खाएर घर जान्थे। उनलाई बुबाले सम्झाउँथे। बुबाको कुरा सुनेर उनी घरमा तोडफोड गर्थे। 

किरणलाई ड्रग्सले पागलपना बनाएको देखेर बुबाले हात उठाउन खोज्थे तर छोराले नै बुबालाई कुट्थे। यतिसम्म कि बुबाछोराको झगडा छुट्याउन छिमेकी नै आउनुपथ्यो। 

दिनरातको झगडा देखेर छिमेकीसमेत आजित भइसकेका थिए। ड्रग्स खाने किरणको बानीका कारण परिवारलाई नै थुक्न थालिसकेको थियो समाजले। 

समाजको त्यही अपहेलना सहन नसकेका बुबाले काठमाडौं छोड्ने निधो गरे। र, हेटौंडा बस्ने निर्णय गरे। 

हेटौंडा उनकी कान्छी आमा माइती घर थियो। त्यसैले आमाबुबाहरूले उतै गएर बस्ने योजना बनेका थिए। 

आमाबुबाको योजनाले खुसी थिएनन् किरण। तर उनकै कारण समाजको अगाडि परिवारको शिर निहुरिएको थियो। 

‘मैले धेरै पटक भनेको थिएँ काठमाडौंको घर नबेच्ने भनेर तर बुबाले मान्नुभएन। तेरो कारण हाम्रो धेरै बेइज्जत भइसक्यो। कहीकतै चोरी भयो भने पनि तेरो छोराले चेर्यो भनेर हामीलाई आरोप आउँछ। अब हामी यहाँ बस्न सक्दैनौं। टाउको उठाएर हिँड्न पनि हामीलाई लाज भइसक्यो’, डेढ दशकअघि बुबाले भनेका ती शब्दहरू अझै याद छ किरणलाई। 

घर बेच्ने आमाबुबाको निर्णयले तनावमा थिए किरण तर लागुऔषध खान छोडेका थिएनन्। 

एकदिन उनी घरमा थिए। टोलका एक भाइलाई उनले ‘पिल्स’ किन्न पठाए। तर ती भाइ फर्किएर आएनन्। 

बरू, रविन कार्की आए। जोसँग किरणले पैसा मागेर नशालु पदार्थ सेवन गर्थे।  

किरणले सुनेका थिए रविनले ‘सुधार केन्द्र’ सञ्चालन गरिरहेका छन् भनेर। तर उनी आफैंले प्रत्येक्ष भने देखेका थिएनन्। 

पिल्स किन्न गएका भाइको पर्खाइमा रहेका किरणलाई रविनले सोेधेका थिए, ‘के गरेर बसिरहेको भाइ?’

रविनको कुरा सुनेर किरणले भाइलाई पर्खिरहेको बताए। तर त्यतिबेलै रविनले भनिदिए, ‘भाइलाई कुर्नुपर्दैन मैले सुधार केन्द्र पठाइदिइसकें।’

रविनको मुखबाट सुधार केन्द्रको नाम सुनेपछि किरणले पनि भने, ‘दाइ म पनि एक महिनाको लागि रिह्याब बस्न चाहन्छु।’ 

अम्मलमा रुमलिरहेका किरणले नै रिह्याब बस्ने रहर देखाएपछि रविनले पनि उनलाई ‘जीवनशैली सुधार केन्द्र’मा राखे। 

तर किरणको सर्त थियो रिह्याबमा एक महिना मात्र बस्ने। 

२० वर्षको उमेरमा पहिलोपटक सुधार केन्द्र पुगेका किरण छटाहजस्तै भएका थिए। 

उनी आफैंसँग बरबराउँथे, गालीगलौज गर्दै हिँड्थे। किरणको अवस्था देखेर डाउन थालिसकेका थिए छिमेकीहरू पनि। 
तर धन्न! उनी बेलैमा सुधार केन्द्र पुगे। 

६ वर्ष लगातार लागुऔषध खाएर हिँडेका किरणलाई रिह्याबमा नशाबिनै बस्न सहज थिएन। उनी कयौं रात सुत्न अनि खाना खान सकेनन्। 

ड्रग्स खान नपाउँदा उनलाई सुधार केन्द्रमा बस्नु बेकार लाग्यो। तर त्यही सुधार गृहले दियो किरणलाई नयाँ जीवन। 

आफ्नै खुसीले रिह्याब आएका किरणले जसातसो दिनहरू कटाइरहेका थिए। १८ औं दिनमा बुबाले घर बेचे। उनको हस्ताक्षर लिन वकिल रिह्याबमै पुगे। 

‘म १८ दिन मात्र क्लिन थिएँ। बुबाले घर बेच्नुभएको रहेछ। मेरो हस्ताक्षर लिनका लागि वकिल रिह्याबमा आउनुभएको थियो’, उनी सम्झिन्छन्, ‘मेरो लागि बुबाले एक तले घर काठमाडौंमा लिनुभएको रहेछ।’

बुबाआमा घर बेचेर हेटौंडा पुगिसकेका थिए। किरणको आफन्तीबाहेक कोही थिएनन् परिवार काठमाडौंमा। 

परिवारै बसाइँ सरेर गएपछि किरणमा झनै सुध्रिने चाह बढ्यो। उनले एक महिना रिह्याबमा बिताइसकेका थिए। तर उनी बाहिरिएनन्। 

‘मैले सोचेको थिएँ मात्र एक महिना बस्छु तर रिह्याबमा तीन महिनाको प्रोग्राम थियो। त्यसैले तीनै महिना कटाएँ’, उनले सुनाए। 

एक महिनाका लागि सुधार गृह आएका किरण तीन महिना बसे। त्यसपश्चात उनी रविनसँगै हेटौंडा पुगे। मनमा धेरै अपेक्षा बोकेर।

‘पहिलोपटक रिह्याब बसेर सुध्रिएको थिएँ। अब मलाई मेरो परिवारले बुझ्छन्। मेरो कुरा सबै मान्छन् भनेर सोचें’, उनी भन्छन्, ‘तर त्यस्तो केही भएन।’

तीन महिना सुधार केन्द्र बसेर हेटौंडा पुगेका किरणलाई देखेर बुबाआमा खुसी थिएनन्। 

उनले सोचेभन्दा विपरीत भयो। किरण देखेर परिवार डराए। उनलाई रिह्याब बस्न सुझाए। 

बुबाआमाको कुरा सुनेर फेरि रिह्याबमै बस्न थाले किरण। रिह्याब सेन्टरमा काम गर्न थाले। उनी कर्मचारी भए।

सुधार केन्द्रमा बसेर काम गर्न थालेपछि उनमा सकारात्मक परिवर्तन आयो। लागुऔषध खाएर गुमाएको विश्वास उनले रिह्याबमा पाउन थाले। 

त्यसपछि उनले कहिले नशालु पदार्थको सेवन गर्ने दृढ आफैंसँग गरे। 

‘जब मैले लागुऔषधले गर्ने असरबारे बुझें। त्यसपछि कहिले नशा नखाने प्रण लिएँ’, त्यही दृढले आजसम्म नशाबिहीन जीवन बिताइरहेका छन् किरणले।

पहिलो उपचारबाटै उठेका किरणले नशाको लतमा कयौं गल्ती गरे। तर सबैभन्दा धेरै बुबालाई दिएको दुःख सम्झिदा आत्मग्लानी हुन्छ किरणलाई। 

कहिलेकाहिँ उनलाई एउटा कुराले पिरोल्छ, ‘मैले बुबालाई धेरै दुःख दिएँ। तर राम्रोसँग सुध्रिएर काम गरिरहेको बुबालाई देखाउन सकिनँ।’

रिह्याबमा बसेको १८ महिनापछि किरणका बुबाले संसार त्यागे। तर अहिले पनि बुबालाई सम्झिदा उनी भावुक हुन्छन्। 

आफूलाई माया गर्ने बुबालाई गुमाउनुको पीडा त उनमा छँदै थियो। तर त्योभन्दा धेरै दुःख उनलाई आफ्नो सन्तान गुमाउनुपर्दा लागिरहेको छ। 

‘मलाई एकदम सपाेर्ट गर्ने श्रीमती छिन्। तर ८ वर्ष भयो हाम्रो बच्चा हुन सकेको छैन। भएको बच्चा पनि कोखमै गुम्यो। त्यो कुराले धेरै दुःख हुन्छ’, आजको दिनसम्म उनलाई यही कुराले पीडा दिइरहेको छ। 

३५ वर्ष पुगेका किरणले जिन्दगीमा धेरै कुरा गुमाए। तर अहिले उनी खुसी नै छन्। आफूले गरेको काम देखेर सन्तुष्ट छन्। 

कुनैबेला परिवार र समाजबाट गुमाएको विश्वास अहिले पाएका छन् किरणले। त्यही विश्वासलाई बाँचुन्जेल जिउँदो राख्ने उनको लक्ष्य छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!