बिहिबार, २० नोभेम्बर २०२५

मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

वि.स २०२० साल ताका। साँझको समय। महिना ठ्याक्कै याद छैन। यति मात्र थाह कि त्यतिबेला बुद्धिलक्ष्मी तामाङ ‘ढिडो’ पकाउने तरखरमा थिइन्। 

आगोमा बसालेको पानी उम्लिदैं थियो। बाहिरबाट सदाझैं रक्सी पिएर उनका श्रीमान लक्ष्मीलाई गालीगलौज गर्दै दैलोभित्र पस्दैथिए। 

दिनभरि घरको कामकाजदेखि मेलापात सकेर थाँकेकी लक्ष्मीलाई त्यो दिन भने झनक्क रिस उठ्यो। उनले केही सोचिनन्। र, आफ्नो अगाडि ढिँडो चलाउन राखेको काठमो पन्यूले उनले श्रीमानको खुट्टामा हानिन्। 

सात वर्षदेखि सहदैआएको पीडालाई उनले श्रीमानको खुट्टामा हिर्काएर एकैपटक पोखिन्। 

उनले श्रीमानको खुट्टामा यतिधेरै जोडले हानेकी थिइन् कि भुइँ रगताम्य भयो। भान्साबाट बग्दै गएको रगत झाँक्री श्रीमानको मन्दिर कोठासम्म पुग्यो। 

‘सधैं कचकच सहें। तर त्यो दिन सहन सकिनँ। मलाई मनपरी भनेपछि मैलेपनि पन्यूले हानें’, उनी सम्झिन्छन्, ‘ मैले त्यसरी नहानेको भए त्यसले मलाई नै मार्थ्यो।’

श्रीमतीको कुटाइले असह्य पीडा भोगेका उनी गुहार माग्दै वडाध्यक्षकहाँ गए। तर अध्यक्षले उनको कुरा सुनेनन्। त्यसपछि उनी आफ्नी भान्जीको घर पुगे। भान्जीले उनलाई सान्त्वना दिइन्। 

भोलिपल्ट मिरमिरे उज्यालोमा मामा–भान्जी लक्ष्मीको घरमा गए। र, बाहिरबाटै लक्ष्मीलाई भान्जीले कराउन थालिन्, ‘मेरो मामालाई खुकुरीले हानेर मार्न खोजेको?’

भान्जीको कुराले रिसाएकी लक्ष्मी पनि झोक्किदैं बाहिर निस्किइन्। र, आफूले हानेको पन्यू देखाउँदै भनिन्, ‘यो खुकुरी होकि के हो? आँखा छ कि छैन?’

१४ वर्षकी लक्ष्मीको मनमा डर थिएन। उनी आँटिली थिइन्। सानैदेखि निडर। श्रीमान र भान्जीको अगाडि मच्चिएर बोलिन्। अनि चर्को स्वरमा भनिन्, ‘म कसैसँग डराउदिनँ। कतै भाग्दिनँ पनि। कहाँ जानुपर्ने हो जान्छु।’

लक्ष्मीले यति भनेपछि तीनै जना प्रहरी चौकी पुगे। त्यहाँ लक्ष्मीले सबै कुरा खोलिन्। उनको कुरा सुनेपछि प्रहरीले लक्ष्मीलाई छोडे अनि श्रीमानलाई थुने।

‘मैले सबै सत्य बोलेकी थिएँ। उसले मलाई सधैं कुटपिट गरिरहन्थ्यो। प्रहरीले सबैकुरा थाह पाएपछि मलाई छोडेर श्रीमानलाई जेलभित्र थुन्यो’, लक्ष्मीले भनिन्, ‘गल्ती उसैको थियो पो!’

000

९ वर्षमा विवाह गरेकी लक्ष्मीले श्रीमानको घरमा सुख पाइनन्। बरू, सधैं श्रीमानको कुटाइ र गालीगलौज मात्र सहिरहिन्। 

हुनत उनी माइतमा पनि कहिले पो खुसी भएकी थिइन् र! लक्ष्मी जन्मिनुअगावै बुबा बिते। 

उनले सुनेअनुसार बुबा सिपालु झाँक्री थिए रे। त्यही पेशाले नै बुबाको ज्यान लिएको लक्ष्मीले सुनेकी थिइन्। 

‘म आमाको पेटमा हुँदा बुबा बित्नुभएछ। झाँक्री हुनुहुन्थ्यो। त्यसमा नै गडबड गरेर गरेको भन्छ तर मलाई थाह छैन’, उनले बताइन्। 

बुबाको मृत्यु भएपनि आमा थिइन्। तर आमाले पनि उनलाई जन्माएको १२ दिनपछि छोडेर गइन्। ‘न्वारन’पछि आमाको मृत्यु भएको लक्ष्मीले ठुलो भएपछि मात्र थाह पाइन्। 

धर्तीमा जन्मिएको केही समयपश्चात नै आमाबुबा गुमाएपछि उनी ‘टुहुरी’ भइन्। बुबाआमाबाहेक अरू कोही थिएनन् उनका परिवार। उनी नै पहिलो र अन्तिम सन्तान भइन्। 

आमा बितेपछि १२ दिनकी लक्ष्मी अलपत्रजस्तै भइन्। उनलाई पाल्न कोही अगाडि सरेनन्। बुबाका आफन्तहरूले पनि खुट्टा ताने। 

तर धन्न! 

उनका मामा अगाडि सरेर भान्जीलाई हुर्काउने हिम्मत दिखाए। ‘मेरो दिदीको नासो हो’ भन्दै कपडामा बेरिएकी लक्ष्मीलाई मामाले घरमा लगेका थिए। 

हुनत मामालाई छोराछोरीको कुनै कमी थिएन। दुई भाइ छोरा अनि तीन वटी छोरी थिइन्। तर लक्ष्मीलाई पनि उत्तिकै माया दिएर हुर्काए मामाले।

तर आफ्नै बुबाआमाजस्तो कहाँ हुन्थ्यो मामा–माइजू। छोराछोरी र आफूमा गर्ने व्यवहार बुझेकी थिइन् लक्ष्मीले पनि। 

तर उनका लागि त मामाले घरमा राख्नु नै ठुलो गुण थियो। 

लक्ष्मीलाई याद भएअनुसार चार–पाँच वर्षको उमेरदेखि काम गर्न थालिसकेकी थिइन्। 

उनी पानीपँधेरो धाउँथिन्, आफूले सकेको भाँडोमा पानी ओर्साथिन्। र, माइजूलाई सकेको सहयोग गर्थिन्।  

मामाका छोराछोरी भने स्कूल जान्थे। त्यो देख्दा उनलाई पनि स्कूल जाने रहर लाग्थ्यो। तर त्यसलाई उनले मनैमा दबाइराखिन्।

‘मामामाइजूका छोराछोरी स्कूल जाँदा मलाई पनि इच्छा लाग्थ्यो तर कसले पढाउँथ्यो र?’, उनी भन्छन्, ‘मेरो लागि मामामाइजूले आफ्नो घरमा ठाउँ दिनू नै ठुलो कुरा थियो।’

मामाघरमा हुर्किरहेकी लक्ष्मी ९ वर्ष हुँदैथिइन्। मामाले उनको अगाडि एक पुरुषको प्रस्ताव राखे, विवाहका लागि। 

लक्ष्मीलाई विवाह गर्ने इच्छा थिएन। तर मामाको वचन उनले टार्न सकिनन्। शिशुदेखि हुर्काएका मामाको कुरा अस्वीकार गर्न नसकेपछि लक्ष्मीको बालविवाह भयो। एउटै गाउँका अधबैंसे पुरुषसित। 

विवाह गर्दा श्रीमानको उमेर कति थियो भनेर थाह छैन लक्ष्मीलाई। तर तीन वटी श्रीमतीले छोडिसकेको थियो। 

ती पुरुषबारे सबै कुरा बुझिसकेका थिए मामाले। तर भान्जीलाई उसैसित अन्माइदिए। 

‘छोरी मान्छेले विवाह गर्नैपर्छ। अब ज्वाँइसँग राम्ररी गरिखानू भान्जी। त्यो नै तिम्रो घर हो’, मामाले भनेका ती शब्दहरू ७६ वर्षकी लक्ष्मीलाई अझै याद छ। 

पेशाले झाँक्री रहेका श्रीमानलाई गाउँलेले राम्रै मान्थे। झारफुक गर्न उनी गाउँ–गाउँ पुग्थे। पैसा पनि कमाउँथे। तर लक्ष्मीलाई कहिल्यै घरखर्च चलाउन दिएनन्। 

आफूले कमाएको पैसा सबै जाँड–रक्सी पिएर सिध्याउँथे अनि लक्ष्मीलाई भकुर्थे। यतिसम्म कि, उनलाई काट्नका लागि खुकुरी बोकेरै हिँड्थे। उनी सधैं डराएर भाग्थिन्। जसोतसो ज्यान जोगाउँथिन्। 

‘गाउँमा सबैले झाँक्री भनेर मान्थे तर मलाई सधैं कुट्थ्यो। मार्नको लागि लखेट्थ्यो’, उनी सम्झन्छन्, ‘त्यतिकै तीन वटी श्रीमतीले छोडेको होइन रहिछ नि!’

९ वर्षको उमेरमा विवाह गरेर घरधन्दा सम्हाल्न सिपालु लक्ष्मीले सात वर्ष कुटाइ खाएरै बिताइन्। तर १४ वर्षको उमेरमा उनले पहिलो र अन्तिमपटक श्रीमानलाई हात उठाइन्, कहिल्यै नबिर्सिनेगरी। 

000

बुढीको कुटाइ खाएर घाइते भएका श्रीमान दुई–चार दिनपछि घर फर्किए। केही दिनसम्म उनले रक्सी पिएनन्, बुढीलाई कुटेनन् पनि। 

तर श्रीमतीले दिएको घाउ निको हुँदै गएपछि उनले जाँड–रक्सी पिउन थाले। र, फेरि  लक्ष्मीलाई कुटपिट गर्न थाले। 

उनले श्रीमानको कुटाइ सहेरै दिन कटाउन थालिन्। ‘रक्सी खाएपछि त्यसको व्यहोरा नै त्यस्तै थियो। अब मैलेपनि कुट्यौं भने कति कुट्ने। त्यसैले सहेरै बसें’, उनी भन्छिन्, ‘मैले त भागेरै ज्यान जोगाएँ।’

विवाह गरेको एक दशक बित्यो। लक्ष्मीले पनि एउटा छोरा जन्माइन्। छोरा जन्मिएपछि उनलाई लागेका थियो, अब चाहिँ श्रीमानले कुट्दैन कि!

तर पुरानो आदत। सहजै कहाँ जान्थ्यो र? लक्ष्मीलाई कुट्न छाडेनन् श्रीमानले। छोरालाई पनि पिट्न पछि हटेनन् बुबा। 

छोरालाई जन्माएको तीन वर्षपछि छोरी पाइन् लक्ष्मीले। त्यतिबेला पनि सुध्रिएन श्रीमानको बानी–व्यहोरा। सधैं मातेर छोराछोरीसहित श्रीमतीलाई लछारपछार गर्न छाडेनन्। 

छोराछोरी नै बुबासित थरथरी काँप्थे। बुबाको स्वर सुन्नासाथ आमाको पछाडि लुक्थे। बुबाको अगाडि ठुलो स्वरले बोल्नु त दूरको कुरा थियो। 

बुबाको दबदबामा हुर्किएका थिए छोराछोरी तर आमासँग नजिक थिए। लक्ष्मीले छोरालाई स्कूल पनि पठाएकी थिइन्। तर छोरीलाई पढाउन सकिनन्। 

सायद, आफूले नपढेकोले होला उनले छोरीलाई पनि पढाउन आवश्यकता ठानिन्!

छोरी अर्काको घर गएपनि बुढेशकालमा छोरा आफूसँगै हुन्छ भनेर ढुक्क थिइन् उनी। तर उनले सोचेजस्तो भएन। छोरा उनको साथबाट टाढिए। 

आर्मी बन्ने हुटहुटीले २० वर्षका छोरा काठमाडौं पसे। नुवाकोटबाट काठमाडौं छिरेका छोरा आर्मी बनेको खबरले लक्ष्मी खुसी भइन्। तर दुःखी पनि उत्तिकै थिइन्। 

उनको साथबाट गएका छोरा कहिल्यै फर्किएर आएनन्। नत उनलाई फोनै गरे। छोरा आर्मी बनेको खबर उनले गाउँलेको मुखबाट सुनेका थिए। 

‘छोराले छोडेर गएपछि फर्किएर आएन। छोरा नआएपछि मैले पनि माया मारें’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘छोराछोरीले पनि बुढेशकालमा नहेर्दो रहिछ।’

छोरा नभ एपनि छोरी थिइन् साथमा। तर छोरीले छाडेर गइन्। २२ वर्षको उमेरमा छोरीले भागेर विवाह गरिन्। त्यसपछि आमाको खबर सोध्न कहिल्यै माइत फर्किइनन्। 

छोरीले विवाह गर्नअघि लक्ष्मीका श्रीमान बितिसकेका थिए। छोराछोरी लाखापाखा र श्रीमानको मृत्युपछि लक्ष्मी एक्लो भइन्। 

तीनै जना परिवारलाई गुमाइसकेपछि लक्ष्मी एक्लैले घरधन्दादेखि खेतीपाती सम्हालिरहेकी थिइन्। जसोतसो उनलाई खान पुगिरहेकै थियो। त्यसमाथि उनको वृद्धभत्ता पनि आउँथ्यो। 

६७ वर्षको उमेरमा पनि कसैको साहारा चाहिएको थिएन लक्ष्मीलाई। तर चिनेजानेका सबै आफन्तीहरूले गाउँ छाड्न थाले। कोही सहर त कोही विदेशतिर। 

गाउँ रित्तिन थाल्यो। सधैं चहलपहल रहने गाउँ सुनसान हुन थालेपछि लक्ष्मी पनि विरक्तिन थालिन्। उनमा पनि गाउँ छाडेर सहर पस्ने रहर जाग्यो। त्यही रहरले उनी नुवाकोट छाडेर काठमाडौं हुर्किइन्। 

‘मैले नुवाकोटबाट काठमाडौं आउने गाडीको एकजना मान्छेलाई चिनेकी थिएँ। त्यही गाडीमा उसैसँग काठमाडौं आएँ’, उनी भन्छन्, ‘काठमाडौं आउँदा सोचेजस्तो समस्या भएन।’

000

नुवाकोटबाट काठमाडौं आउँदा उनीसँग चार हजार रुपैयाँ थियो। उनले खाइनखाइ राखेको। त्यही पैसा उनले गाडी भाडादेखि बाटोमा खर्चिइन्। 

नुवाकोटको गाडीले उनलाई काठमाडौंको ‘माछापोखरी’सम्म ल्याइदियो। अब कहाँ जाने भनेर उनी आफैं अन्योलमा थिइन्। 

केही नसोची उनी सडकको किनारामा टुसुक्क बसिरहिन्। केहीबेरपछि एउटा बस आयो। बसको सहचालकले उनलाई ‘नारायणथान जाने हो आमा’ भनेर सोधे। 

केही नबुझेकी लक्ष्मीले पनि ‘हो’ भन्दै बसमा चढिइन्। अनि ‘नारायणथान मन्दिर’ पुगिन्। 

बिनाकारण नारायणथान पुगेकी लक्ष्मीसँग कतै जाने योजना थिएन। उनी मन्दिर छेउमा बसिन्। 

‘बुढीमान्छे’लाई मन्दिरमा बसेको देखेर भक्तालुले चामल र पैसा दिन थाले। त्यो देखेर चकित परिन् लक्ष्मी। त्यसरी बस्दा पैसा पाइने थाह पाएपछि उनी दिनकै मन्दिरमा बस्न थालिन्। 

मन्दिरमा बसेको भरमा पैसा पाउन थालेपछि उनले नजिकै डेरा लिइन्।  

बिहानै उनी मन्दिरमा बस्थिन्। त्यहीँबाट पाएको पैसाले उनले पेटभरि खाना र कोठाभाडा तिर्थिन्। खान–लगाउन कुनै समस्या थिएन लक्ष्मीलाई। 

‘मन्दिरमा बसेर मैले पैसा र कपडाहरू पाउँथे। मन्दिरबाट उठेको पैसाले खाना र सुत्न सकेकी थिएँ’, हाँस्दै उनी सुनाउँछिन्, ‘दिनभरि मन्दिरमा बस्थें। भोक लागे होटल गएर खाना खान्थे अनि सुत्न कोठा जान्थे। सुत्नका लागि मात्र मलाई कोठा चाहिएको थियो।’

नारायणथान मन्दिरमा बसेर गुजारा चलाएको चार–पाँच महिना बित्दै थियो। तर एकदिन महानगर प्रहरीले लक्ष्मीसहित तीन जनालाई उठायो। र, मानव सेवा आश्रम पुर्यायो। 

सुरुमा त उनलाई मनमा डर पनि लागेको थियो। प्रहरीले केही पो गर्ने होकि! तर उनीसित दुई साथीहरू पनि थिए। त्यसैले लक्ष्मी ढुक्क भइन्। 

नारायणथानबाट आश्रम पुगेपछि लक्ष्मी दंग परिन्। उनले आफूजस्तै धेरैजनालाई देखिन्। र, सोच्न थालिन्, ‘यो हाम्रो लागि बनेको आश्रम रहिछ।’

मन्दिरबाट आश्रम आएपछि पनि खुसी नै थिइन् लक्ष्मी। तर सँगै आएका साथीहरू गएपछि उनलाई छटपटी हुन थालेको छ। 

आफूसँगै आएका साथीहरूलाई परिवारले घर फर्काइसकेको छ। तर लक्ष्मी अझै आश्रममा छिन्। उनी पनि घर फर्किन चाहन्छिन्। 

तर बिडम्बना, उनको परिवारै छैन।

छोराछोरी त छन् तर कहाँ छन् उसैलाई थाह छैन। अब त लक्ष्मीले पनि छोराछोरीलाई बिर्सिसकेकी छिन्, एउटा नमिठो सपना सम्झिएर। 

‘म उनीहरूको आमा हुँ। मलाई खोज्न सक्दैन। मैले जन्माएको छोराछोरीलाई मेरो कुनै मतलब छैन भने मलाई पनि उनीहरू चासो छैन’, आफ्नो पीडा लुकाउँदै लक्ष्मी भन्छिन्, ‘सन्तान भएरपनि बुढेशकालमा दुःख पाइन्छ भने त्यस्ता छोराछोरी किन चाहियो। अब मलाई उनीहरू चाहिँदैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!