मङ्गलबार, १८ नोभेम्बर २०२५

किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!

News Image
• • •

अब यो भन्न लामो भूमिका बाँधी रहनु परेन कि नेपाली जनताको मतबाट निर्वाचित भएर गएकाहरू मध्यकै कतिपयमा रहेको अज्ञानता, लालच, सत्ता शक्ति र आर्थिक स्वार्थ अनि राजकाज चलाउन आवश्यक अध्यन अनुसन्धानको अभावले गर्दा नेपाल भ्रष्टचार र कुशासनको दल दलमा फस्न पुग्यो।

त्यहि भ्रष्टचार र कुशासनको मारमा परिरहनु परेकोले गर्दा जनतामा व्यापक असन्तुष्टि बढन गएको समेत ती भ्रष्ट र नालायकहरूको मण्डलीले समयमा बुझ्न सकेन। तिनैको कर्मले सिर्जना गरेको आक्रोशको जगमा भएको जेनजी आन्दोलनले सुरुमा त तिनै भ्रष्ट, नालायक र अनैतिकहरूको सत्ताको जग हल्लाई दिएकै थियो तर फेरि विडम्वना पवित्र लक्ष्य लिएर शान्तिपूर्ण आन्दोलनमा होमिएका युवा युवतीहरूको त्यो आन्दोलनमा अराजक आतंककारीहरूको व्यापक घुसपैठ भयो।

आन्दोलन भित्र घुसपैठ गर्दै आतंककारीहरूले जे गरे त्यसले त फेरि हाम्रो देशको जगनै हल्लाई दियो। तिनै आतंककारीहरूको आक्रमणमा परेर नेपालको सार्वभौमिकताको प्रतिक सिंहदरबार जल्यो, कानुनी राज्य र न्यायको प्रतिक सर्वोच्च अदालत जल्यो, लोकतन्त्रको अभ्यास गर्नु पर्ने संसद भवन, राष्ट्रको गरिमा राष्ट्रपती भवनदेखि अन्य कैयौं महत्वपूर्ण भवनहरू जल्यो।

त्यती मात्रै कहाँ आतंककारीहरूले आफूहरूलाई कानुनको कठघरामा ल्याउने डरले हुनुपर्छ नेपालको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी वहन गर्ने प्रहरीका सयौं भवनहरू देशव्यापी नै जलाए। समष्टिमा भन्नुपर्दा भ्रष्ट शासकहरूले जर्जर पारेको देशलाई युवाहरूले आन्दोलनमार्फत ठाउँमा ल्याउन खोज्दा त्यहाँ छिरेर आतंककारीहरूले देशलाई झन थिलथिलो नै बनाइदिए।

यथार्थ यही नै हो तर त्यसो हुँदा हुँदै पनि हामीलाई निरास हुने, थाक्ने र थन्किने छुट त छैन। खरानीबाट आफैं पनि उठदै अनि अरुलाई पनि उठाउँदै, सबैलाई जुटाउँदै देशलाई कुशासन र अराजकताबाट मुक्त गर्ने राष्ट्रिय दायित्व सबैले आफ्नो आफ्नो ठाउँबाट वहन नगरी नहुने छ र त्यसो गर्ने एक मात्रै सहज र सुरक्षित बाटो भनेको तोकिएको मितिमा शान्त सुरक्षित निर्वाचन हो।

निर्वाचन नै विद्धमान चुनौतीहरूको सामना गर्दै देशलाई निकास दिने एक मात्रै विकल्प हो भन्ने सत्य हो तर फेरि जानेर वा नजानेर हो कतिपयले निर्वाचनको माहोल बनाउने भन्दा पनि भाँडन सहयोग पुग्ने ढंगले बोलेको, लेखेको वा सोही अर्थ लाग्ने हिसाबले काम गरिरहेको स्पष्ट नैदेखिन्छ। 

यस्तो गर्नेमा आफ्नो सत्ता गुमेकोले छटपट भएका पूर्व शासकहरू मात्रै नभई केही दिग्गज बुद्धिजिवी, सम्माननीय अग्रजहरूदेखि स्वयम् प्रधानमन्त्रीज्युसम्मले पनि चुनावमा संशय पैदा गराउने काम गर्नुभएको छ।

होला, त्यसो भन्दै गर्दा सबैका आफ्ना आफ्ना तर्क होलान् र त्यसलाई पुष्टि गर्न प्रस्तुत गर्नुपर्ने आधार पनि होलान् तर माफी माग्दै भए पनि लेख्नैपर्छ कि ती कुनै पनि कारण र बहनामा चुनाव नहुने अवस्था आयो भने त्यसले देशलाई फाइदा गर्दै गर्दैन।

हो, चुनाव हैन प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने एमालेको भनाइमा पनि संवैधानिक आधार छ किन कि न त हाम्रो देशको संविधानले संसद रिक्तताको यो बाटोको कल्पना गरेको छ न त फेरि यो हिसाबले सरकार निर्माणको कुनै व्यवस्था नै गरेको छ। त्यसैले चुनाव हैन प्रतिनिधिसभा पुनर्स्थापना भन्ने उसको माग पनि आधारहीन छैन।

त्यस्तै अर्काथरी भन्दैछन् वर्तमान संविधानले जनताको चाहना पुरा गर्न सक्दैन, र गर्न सकेको छैन। त्यसैले यो संविधान संशोधन नगरी चुनाव गर्नुको अर्थ छैन। त्यस्तो तर्क पनि आधारहीन छैन किन कि हाल संविधानले व्यवस्था गरेको महत्वपूर्ण प्रादेशिक संरचना जनताले खारेज होस भन्ने चाहेका छन्।

त्यती मात्रै पनि हैन संविधानका कतिपय अरु व्यवस्थाहरू प्रती पनि जनतामा असन्तुष्टि छ र ती असन्तुष्टिहरूको सम्वोधन अनिवार्य छ, संविधान संशोधन अनिवार्य छ र त्यसो गर्न पनि चुनाव अनिवार्य छ। यदी निर्वाचन मार्फत जनादेश पाएर आएका जनताका प्रतिनिधिहरू मार्फत नभई संविधान संशोधन गर्ने अर्को बाटो समात्न खोजियो भने त्यो दुर्भाग्य हुनेछ किन कि त्यसो हुने बित्तिकै सानो सानो झुण्डले हरेक प्रस्तावित प्रावधानको विरोध गर्दै जाने अवस्था बन्छ र स्थिती सम्हाल्न नसक्ने गरि बिग्रन्छ। 

त्यस्तै चुनाव भाडन सहायक हुने हिसाबले ‘उही हिजैको जस्तो चुनाव गर्ने हो भने त कसरी हुन्छ र? ’ अनि ‘त्यसले जेनजी पुस्ताले उठान गरेका मागहरूको सम्वोधन कसरि हुन्छ र?’ भन्ने खालका सवालयुक्त तर्क गर्ने गरिएको छ। यस्तो तर्क गर्नेमा अरु त अरु चुनाव नै गराउने एक मात्रै दायित्व बोकेर नियुक्ति लिएर पदमा बस्नु भएकी स्वयम् सुशिला कार्की पनि हुनुहुन्छ। 

हो अरु जस्तै यो तर्कमा पनि केही आधार छन तर फेरि अहिले आएर हिजो जस्तो नभई अर्को हिसाबको चुनाव गर्ने भन्ने विषय चाहिँ सुन्दा कसैलाई कर्णप्रिय होला तर त्यसले कुनै सकारात्मक अर्थ भने राख्दैन। विद्धमान संविधान अनुसार हुन लागेको चुनाव कुनै नया हिसाबले हुनै सक्दैन र हुन आवश्यक पनि छैन किन कि अहिले हुन लागेको संघीय संसदको चुनाव हो जसबाट निर्वाचित संसदले संविधान संशोधन मार्फत शासकीय स्वरूप लगायत जे बदल्न छ त्यो बदल्न सक्नेछ। 

अनि यदी अर्कै हिसाबले चुनाव गर्नु पर्ने रहेछ भने पनि भविष्यमा त्यस्तै हुने विधि पनि त्यसैले तय गर्न सक्नेछ। त्यसैले घोषित मितिमा चुनाव होला नहोला भन्नेमा नै संशय पैदा गराउने हिसाबले यो तरिकाबाट हैन अर्कै तरिकाबाट चुनाव हुनुपर्छ भनेर उपर्बुज्रुक हुने कुराले राम्रो गर्दै गर्दैन।

अनि हरेक चुनावहरूको समयमा जस्तै अहिले पनि कतिपय मानिसहरू निर्वाचन प्रती उत्प्रेरणा नभई वितृष्णा पैदा गराउनमा नै व्यस्त छन् अनि सदाझैं उनीहरू भन्छन् ‘हे चुनाव भयो भने त फेरि पनि जित्ने उनै पुरानाले त हो नि!’ अनि त्यसमा अझै थप्दै ‘पैसा उनीहरू संगै छ अनि अरु कसले जित्छ त चुनाव?’ भन्दिन्छन्।

थाहा छैन यस्ता निराशाजन्य कुरा गर्नेहरूले त्यसो गरेर के पाउँछन? तर उनीहरूका ती दुःखी तर्कले हामी स्वयंकै इमान्दारीलाई ललकार्ने अनि इतिहासदेखि वर्तमानसम्मका तथ्यलाई दुत्कार्नेवाहेक अरु केही काम कहिल्यै गर्दैन। 

किन? किन भने नेपालमा विगतदेखि आजसम्म भएका आम निर्वाचानहरूमा जनताले विवेकपूर्ण मतदान गर्दै आएका छन। हो एकाध क्षेत्रहरूमा धाँधलीहरू हुने, बल प्रयोग मार्फत परिणाम दायाँ वायाँ पार्ने काम भएका छन तर ती नगण्य हुन्। 

आम रुपमा जनताले आफूलाई ठिक लागेको उमेदवार र दललाई भोट दिएका छन, राम्रो गर्लान भनेर नै दिएका छन्। अब चुनावको बेलामा भन्ने एउटा अनि जितेपछि गर्ने अर्को खालको व्यवहार भएकोमा जनताको के दोष? त्यसैले जनताको विवेक माथि सवाल खडा गराउने, चुनावमा जनताको आम पंक्तिले नै रक्सी र मासुको भरमा भोट हाल्ने गरेका छन् जस्तो गलत भाष्य स्थापित गराउने कामले कहिल्यै कसैको भलो हुँदैन। 

त्यसैले चुनाव हुँदा पनि विगतमा शासन सत्तामा भएकैले जित्ने हुन त्यसैले चुनाव नै गर्नु हुन्न भन्ने गलत तर्कलाई त झन स्विकार्न नै हुँदैन। इतिहास साक्षि छ कि नेपाली जनताले चुनावकै बाटोबाट कतिपयलाई शक्तिबाट सडकमा अनि कतिपयलाई सडकबाट शक्तिमा पुर्याएका छन्। 

स्वयं पंक्तिकारकै बुवा (निम्न मध्यम वर्गीय परिवारको सदस्य) तीन–तीन पटक समाजमा धनाढ्य भनेर चिनिएका हस्तीहरूलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा जम्मा एक लाख रुपियाँ पनि खर्च गर्नु नपरेको अनुभव छ। त्यसैले जनताले लोभ लालचमा परेर भोट हिजो पनि बेच्दैन थिए र अब पनि बेच्दैनन् भन्ने पुष्टि गर्छ।

अतः यो वा त्यो तर्क गरेर चुनावको वातावरण बिगार्ने काम कहीं कतैबाट नगरौं। लामो समयको कुशासन अनि हाल व्याप्त अराजकताको अवस्थाबाट देशलाई बाहिर ल्याउन आवश्यक शक्ति हासिल गर्न जननिर्वाचित निकाय अनिवार्य रुपमा सक्रिय हुन अत्यावश्यक छ र त्यसो गर्ने सहज, सर्वस्वीकार्य र सुरक्षित बाटो भनेको नै निर्वाचन हो।

त्यसैले नेपाली जनताले देश जोगाउन, भ्रष्टचार र कुशासन सिध्याउन अनि अराजकतालाई नष्ट गर्न भूमिका खेल्न सक्ने देशभक्तहरूलाई नै जिताउने काम गर्नेछन् भन्ने विश्वास सहित राष्ट्रिय एकताका साथ चुनावमा होमिनु नै अहिलेको लागि सहि कदम हुनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!