यार्सागुम्बा टिपेर महिनामा १३ लाख रूपियाँ कसले कमाउँछ? मैले कमाए सर! (भिडियो)

 सिर्जनशील उद्यमी–१ 


पाठकहरूलाई सुरूमै भन्छु, आज म एउटा फकिरलाई पात्र बनाउँदैछु। अहिले ऊ कस्तो छ? त्यो पुरा पाठ पढेपछि थाहा पाइहाल्नुहुन्छ। यसमा प्रयोग हुने निम्न आदरार्थलाई स्वभाविक मान्नुहुनेछ भन्दै अगाडि बढ्छु।


बाआमालाई सन्तान हुर्काउने दायित्व हुन्छ भने सन्तानबाट केही आशा पनि हुन्छन्। ठूलो भएर यस्तो, उस्तो बन्दिएको भए भन्ने चाहना हुन्छ। तर हुर्कनेको जिन्दगानी फरक बनिदिन सक्छ। बाआमाका इच्छा विपरित भइदिन सक्छ। जिन्दगी हिमाली भेगका गारेटोजस्तै उबडखाबड हुँदा खाप्टा र खोल्साले भरिदिदा सोचेजस्तो नहुन सक्छ, तारादेवीको गीत जस्तै।

जसरी खोलाले नदिहुँदै समुद्रसम्म पुग्न हिमाली खोच र खाप्साहरुमा खस्दै, ढुंगामा ठेलिदै, पहाड र मधेस हुँदै कयौं घुम्तीहरु पार गर्नुपर्ने हुन्छ, ठिक त्यसरी नै चौधबिसे हिरा बहादुर बुढा जिन्दगीको समुद्रमा पुग्न खाप्सा र खोलासँग जुहारी खेलिरहेको छ। जसको परिणाम हाल ऊ दुई वटा उद्योगको मालिक छ।

०००

बाबु आमाको सपना थियो छोरो पढेर डाक्टर बनोस्। आफ्नो इज्जत बढाओस्। जिजुबाजेको नाम राखोस्। गाउँको प्रतिष्ठा बनोस्। जिल्लाको मान बनोस्। चौधबिसको सान बनोस्।

तर, छोराले बाआमाले कोरेको सपनाको गोरेटोमा पहिरो खसेर अवरोध गरेजस्तै गरिदेला कहिल्यै अनुमान भएन।

बाआमाको सोच थियो, ‘छोराको कर्मले हरेक दिन हिमाली सिरेटो खाने चिसो चौधबिसलाई न्यानो दिलावस्। कसैले ध्यान नदिएको चौधबीसको परिचय फरक बनाइदेवस्। तर जे नहुनु थियो, त्यहीँ भयो। बाआमाले जे नचाहेको थिए हिराले त्यहीँ गरिदियो। भविष्यमा हिराझैं मूल्यवान र ओझिलो होस् सोचिएको ऊ स्कुले उमैरमै बतास बनेर चौधबीसका कुना कन्दारलाई झन् चिसो बनाएर आँते ज्वरोले जस्तै थरथर कपाउन लाग्यो।

सुरू भयो बाआमाको तनाव। छोरो चौधबिसमा हरेक दिन बिठ्याईँ गर्दै जान्छ, प्रेसरमा रहेका बाको तनाव बढ्दै जान्छ। ‘हिराले फलाना ठाउँ झगडा गर्‍यो’ भन्ने खबर बतासै बनेर ताततातो भान्सामा पस्छ र दन्किएको आगोले समेत चिसो गराइदिन्छ। आमाको एक छाक खाना घट्छ। आमाको खाना रोकिने र बाबुको प्रेसर बढ्ने काम पातरासीको काखबाट बगेको जवा नदिझैं निरन्तर भइरहन्छ।

हिरा आज रोकिएला, रोकिदैन। भोलि रोकिएला, रोकिदैन। विस्तारै न्यानोको आश मर्न थाल्यो। हारेका बाआमा उसले जे खोज्यो त्यहीँ पुर्‍याइदिन थाले। जे चाह्यो त्यहीँ टक्र्याइदिन थाले। यसैबीच एक दिन हिराले बाइक चढ्ने माग राख्यो। त्यो पनि पुग्यो। त्यसपछि हावा हुने गति बुलेट ट्रेन झैं तिव्र हुन थाल्यो।

‘कहाँ के गरे? के खाए? केही थाहा छैन। साथीहरुको संगत भन्दा ठूलो केही हो जस्तै लाग्दैनथ्यो। उनीहरुले जस्तो गरे आफूले पनि त्यस्तै गर्नुमै मर्द भएको भान हुन्थ्यो,’ उसको धुमिल सम्झना।

डिल्लीचौरको लासि बजारमा देखिने हिरा दुई घण्टामा खलंगा र अर्को दुई घण्टा पातारासीमा झुल्किन्थ्यो। छिरबिरे बादलमा सूर्यझैं लुकामारी गरिहन्थ्यो। सुरूङबाट निस्किएको रेलझैं एक ठाउँ पसेर अर्को ठाउँ निस्कुनु नै उसको गतिशिलता थियो। जसको कुनै सिमा थिएन।

न बासको ठेगान, न गासको आफ्नै बन्दोबस्त। तैपनि एसएलसी नदिँदै हिराको कुरकुरे बैंस आयो। गाउँघरले तोकेको एउटा स्ट्यान्डर्ड उमेरमा उसले स्वनिर्णय गर्‍यो। यत्रोविधि उट्पट्याङ गर्ने उसले एकदिन निकै सुधो पारामा घरमा केटी भित्र्यायो। बाआमाले लाजकाजलै बिहे गरिदिनै पर्‍यो। आश थियो, बिहे गरेपछि कहीँ बदली पो जान्छ कि? सुरू भयो नयाँ घरबारे जीवन। तर, ‘लाग्या बानी, कहीँ नजानी’ भनेझैं ऊ बदलिएन।

अब मनमा चिसो पसाउने र प्रेसर बढाउनेहरू बाआमा मात्र थिएनन्, त्यसमा श्रीमती पनि थपिएकी थिइन्। तर उसको गति वसन्त आउनु अघिको हुरीझैं झन् तिव्र हुँदै गइरहेको थियो। बाआमाको आलु पिडालु बेचेको पैसाले कति पुगोस्, तै पनि उसको खर्चको सीमा थिएन। जसरी साम्यवादमा कुनै एक देशको सीमा हुँदैन भनिन्छ।

गाँजा, भाँङ, धतुरो, रक्सी पानीको झन् के कुरा गर्नु? ‘सुइडा जो घाँटी, चिण्डा जो पेट (लामो घाँटी हुने सुइडो र ठूलो पेट हुने चिन्डो)’ भनेझैं पेटमा जति पनि जाने, मुखले जति पनि खाने। त्यसपछिको मुर्खतालाई मापन गर्ने मेसिन सायद यो दुनियाँमा बनेकै छैन। छोरो सुधार्न भनेर बाआमाले काठमाडौंको युनिभर्सल कलेजमा भर्ना गराए तर पनि पार लागेन। ऊ झन् फुक्काफाल भयो, चरीजस्तै खुला आकासमा कावा खान थाल्यो। झन् वेगमा वहने हावा हुन थाल्यो। यता घरमा छोरो जन्मिसकेको छ। बाबुको गति, मति उहीँ छ।

केही नलागेपछि बाआमाले अब अन्तिमपल्ट भन्दै व्यापार गरोस् भनेर खलंगा बजारमा खुद्रा पसल खोलिदिए। व्यवसाय चलेकै थियो। उसको उमेर बढ्दै थियो। तर खर्च गर्ने र बिग्रने क्रम युवा अवस्थामा प्रवेश गर्दै थियो। बिठ्याइहरु झन् परिमार्जित हुँदै नयाँ संस्करणमा आइरहेका थिए।

एकदिन राति रक्सी खाइसकेपछि उसलाई जोस चल्यो। मापसे गरेको बेला बाइक चलाउन हुन्न भन्ने थाहा हुँदाहुँदै पनि जिब्रो लरबराउँदै बोल्यो ‘यस्तो जाबो बाइक चलाउन नसक्ने मान्छे हो र म? हिरा हो, हिरा भाइ।’ त्यसपछि कुदायो बाइक।

कच्ची बाटो। कच्ची शरीर। पक्की रक्सी। पक्का बोली। बिन्दास पाराको स्पीड। ‘रात आम्ना, दिन पाराया’ भनेजस्तै बाइक कुदिरहेको थियो। तर रात आफ्ना भन्ने ऊ मात्रै थिएन। बडेमानको ट्रक ड्राइभर पनि थियो, जो त्यहीँ रात आफ्नो हिस्सा खोजिरहेको थियो। जम्का भेट भयो। त्यही बेला लाख कोशिश गर्दा पनि बाइक कन्ट्रोल भएन। कन्ट्रोल नभएपछि हिरा नराम्ररी बजारियो। ट्रकको मुनीपट्टी छिर्‍यो। मेरूदण्डमा ठूलो चोट पर्‍यो।

अन्तिमपल्ट भन्दै पाखा लागेका बाआमालाई फेरि गलपासो लाग्यो। ऋन, दान गरेर काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरियो। हप्ता दिनमा दिनको एक लाख भन्दा माथिको बिल आउन थाल्यो। १४ लाख रूपियाँ खर्च भए। हिरा, हिरा भाइ हुन सकेन, जसरी सञ्जय दत्त मुन्ना भाइ बने। बजार पुग्छु भनेर पातरासीबाट उँधो कुदेको ऊ धन्न उभो लागेन, सधैको लागि।

सधैंको लागि माथि जानबाट संगोगले जोगिएपछि ऊ काठमाडौंबाट उँधो, उभो गर्दै माथि जुम्लातिर लाग्यो। जुम्ला पुग्दा परिस्थिति निकै बदलिएको थियो। घरमा सबै सुनसान थियो। बाआमा, श्रीमती र छोरा सबै मूर्तिजस्ता थिए। लाग्यो समय टक्क रोकिएको छ। अब हिरासँग समयले प्रश्न गरिरहेको थियो, ‘गति फेर्ने वा यत्तिकै रोकिने?’

‘त्यसबेलाको लथालिंग स्थिति सम्झिँदा अहिले पनि सास लामो तानिन्छ। मलाई समयले अनेकन प्रश्न गरिरहेको थियो। कति सम्झिन सक्दिनँ, कति सम्झेर पनि भन्न सक्दिनँ। केवल यत्ति भन्छु मैले समयसँग बाचा गरेँ, म बाटो फेरेर नयाँ गति लिन चाहन्छु भनेर,’ नदीले बाटो परिवर्तन गरेझैं उसको जीवन बदलियो।

अब कमाउनुपर्छ भन्ने भयो। लाइफ व्यवस्थापन गर्नुपर्छ भन्ने भयो। बाले सुरू गरिदिएको खुद्रा व्यवसायलाई केही व्यवस्थापन गरेपछि लाग्यो अब जुम्लामा चाउमिन उद्योग खोल्नुपर्छ। काठमाडौंबाट सिन्कामा आइरहेको चाउमिनलाई विस्थापन गर्नुपर्छ।

विस्तारै लगानी जुटाउने तरखरमा लाग्यो। हिराले लगानी चाँडो जुट्ने छोटो बाटो अपनायो। ‘यार्सागुम्बा टिप्न म फष्ट डिभिजन हो सर। एक महिनामा १३ लाख रूपियाँ कसले कमाउँछ? मैले कमाएँ। कुरै नगर्नु, म यर्सागुम्बाको त हिरै हो।’

अनि सुरू भयो चाउमिन उद्योग। यो थियो २०७० सालको कुरा।

हेरक दिन डेड क्वीन्टल चाउमिन उत्पादन हुन्छ। ‘बिक्री पनि खुब हुन्छ। लासीमा दुइटा साउजी मात्र छन्। उनीहरुलाई ८० किलो पठायो भने तीन दिनमा चिलिम च्याँट गरेर पठाइदिन्छन्। महिनामा एक लाखसम्म कमाइ हुन्छ।’ लासी चौधबीस क्षेत्रको बजार भए पनि कारोबार कम हुने सानो बजार हो।

हाल उसको चाउमिन उद्योगमा दुई जना कर्मचारी छन्। उनीहरूले कारोबार धानिरहेका छन्।

हिराले नयाँ गति लियो। उद्योगी बनेर नयाँ परिचय निर्माण गर्नलाई गएको चैतदेखि हिराको कान्छो छोराको नामबाट, ‘न्यू सिद्धार्थ इन्टरलक इँटा उद्योग’ खुल्यो। त्यसयता हरेक महिना ६ हजार इन्टरलक इटा उत्पादन भइरहेको छ। माल राम्रो भएकाले माग पनि धेरै भइरहेको छ।

जुम्ला बजार, सिंजा, चौधबीस सबैतिर उनको बजार विस्तारै बनिरहेको छ। उसको इन्टरलक इँटाको बजारको आफ्नै रफ्तार छ। एउटा इँटाको ८० देखि ९० रुपियाँ पर्छ। हिराले बदलेको गति पछि भएको सृजनाले हाल उद्योगमा १० जनाले रोजगारी पाइरहेका छन्। 

हिजोको फजुल खर्च उठिसकेको छ। ऊ निर्धक्क भन्छ, ‘मेरो प्रगति त राम्रै हो। बजारमा त्यत्रो घडेरी छ, लगभग आधा करोडको। बाबुको लगानी त मैले उठाइसकेँ। अब बुबा पनि यसले जसरी कमाइहाल्छ सोच्नुभएको छ।

तर, आमाले अझै पनि त्यस्तो सोच्नुहुन्न। जहिले पनि भान्साबाट निस्कने बेला गोजीमा एक सय रूपियाँ हालिदिनु हुन्छ। म करोडमा पुगिसकेँ तर आमाले सय रुपियाँ दिन छोड्नुभएको छैन। यसले मलाई भावुक बनाउँछ। आमाको मन कति विशाल छ भन्ने लाग्छ। यत्रो बिजनेस म्यान भइसक्दा पनि कतै जान लागेपछि दुइटा रोटी र रूपियाँ खल्तिमा हालिदिनुहुन्छ।’

०००

ऊ अब दुई वटा उद्योगलाई निरन्तरता दिन चाहन्छ। लाखबाट सुरू गरेको उद्योग करोडमा पुगिसकेको छ। ‘अब मलाई अरब, खरब चाहिएको छैन। म बराबर सरकारी कर्मचारीले पनि तलब खान्नन्। यो हाइ लेभलकै कमाइ छ नि,’ श्यामबार खाएर खिया लागेका दाँत डिच्च देखिन्छन्।

हिरा बिहान पाँच बजेदेखि साँझ सात बजेसम्म काममा हुन्छ। अब उसलाई बतासिएको देख्न पाइँदैन। यदि कोही भेट्न चाहनुहन्छ भने चौधबीस भेगको लासीमा जाँदा इन्टरलक इटाको उद्योगमै मजदुरको भन्दा बढी काम गरिरहेको होचो, ख्याउटे, नपत्याउने खालको मान्छे देखेपछि आफैं चिन्नुहोला, यो हिरा हो भनेर।

यदि कोही फेसबुकमा भेट्न चाहनुहुन्छ भने खोज्नुहोला ‘हिरा भाइ’। ट्यापे केटाको जस्तो हेयरकटवाला प्रोफाइल देखियो भने जाने हुन्छ यहीँ हो हिरा। पातरासी हिमालको हिउँझैं टल्किएको, बालीगाडड दहझैं गहिरो सोच बनाएर बसेको।

आजभोलि पातरासी न्यानो छ।

प्रकाशित मिति: : 2020-08-30 13:16:40

प्रतिकृया दिनुहोस्