शिक्षकलाई ढाँट्नु आफैंसँग धोका हो

‘करीया अक्षर भइँस बराबर’ अर्थात् लेख्न–पढ्न नजान्ने मानिसको लागि अक्षरको कुनै महत्व हुँदैन।

पुरातनकालमा विद्यार्थीले गुरूकुलमा आचार्यको सानिध्यमा रहेर शिक्षा ग्रहण गर्ने प्रचलन थियो। विद्यार्थी समक्ष महान पुरूष जस्तै हरिश्चन्द्र, राम, लक्ष्मण, हनुमान, भीष्म र महान नारी जस्तै सीता, सावित्री, सती अनसूइया, द्रौपदी जस्तो उच्च चरित्रको व्यक्तित्वको आदर्श प्रस्तुत गरिन्थ्यो। जो विद्यार्थीको चरित्र निर्माणमा प्रेरणादायक हुन्थ्यो। आज पनि यो सन्दर्भ उतिक्कै सान्दर्भिक, महत्वपूर्ण र चर्चायोग्य छ।

शिक्षा पद्धतिको स्वरूपमा समयसापेक्ष परिवर्तन हुँदै विश्वसँगै नेपालमा पनि आधुनिक शिक्षा प्रणाली स्थापित छ र अझ पनि विभिन्न आयामलाई मध्यनजर गर्दै परिमार्जित हुने क्रम निरन्तर छ।

शिक्षाद्वारा विद्यार्थीमा आत्मसम्मान, आत्मविश्वास, विवेकशक्ति र न्यायशक्ति आदि गुणहरू उदय हुनुको साथै व्यक्तित्व विकासको मुख्य पाटो शिक्षा नै हो जो आज आधुनिकतासँगै विभिन्न स्वरुपमा उदीयमान छ।

विद्यार्थी जीवनमा हुँदा किताबबाट चोरी गरी उत्तर दिएर पुरस्कार हाशिल गरेका एक विद्यार्थी जो भोलिपल्ट शिक्षक समक्ष आफ्नो गल्ती स्वीकार गर्दै पुरस्कार फिर्ता गरेका थिए, उनी हुन् भारतको राष्ट्रपिता महात्मा गान्धीको राजनीतिक गुरू गोपाल कृष्ण गोखले।

गोखलेले पुरस्कार फिर्ता गर्न जाँदा शिक्षकले उनीसँग भनेका थिए, ‘तिमीले उत्तर चोरी गरेको सन्दर्भमा मलाई थोरै दुःख छ। तर मलाई ठूलो खुसी यो कुराको छ कि तिमी आफ्नो गल्ती आफैं पहिचान गर्‍यौं। तिमी एकदिन देशको महान व्यक्तित्वको श्रेणीमा गनिने छौ।’  

विद्यार्थी जीवनमा आफूले आफैंलाई धोका दिएका मानिस कति होलान्? झूट बोलेर शिक्षक/अभिभावकलाई ढाँट्ने प्रयास आफैंमाथिको अन्याय हो भन्ने कुरा मनन् हुँदासम्म धेरै ढिलो भइसकेको हु।। जीवन भोगाईको क्रममा नैतिकता र अनुशासन जस्ता गुणहरु आफ्नै परिवार, टोल, छिमेक र समाजबाट प्राप्त हुन्छ जुन किताबी शिक्षामा पाइँदैन।

यी बाह्य गुणहरुको कारण विद्यार्थीमा किताबी शिक्षाले जीवनलाई प्रकाशमान बनाउँछ। यी गुणहरु असल विद्यार्थी र सफल जीवनको लागि अति महत्वपूर्ण पक्ष हो।

कर्मशील र प्रसिद्ध पुरुषहरुको जीवन कथा पढ्नु जति राम्रो हो त्यो भन्दा कैयौं गुणा राम्रो हो त्यो सन्दर्भ दैनिक व्यवहारमा उतार्नु हो।

०००

विद्यार्थीले शिक्षक वा अभिभावकलाई ढाँटेर आफू र आफ्नो भविष्यमाथि कसरी अन्याय गर्ने गर्दछन् भन्ने विषय कतिपयको जीवनको वास्तविकता हुनसक्छ। हिजोको वास्तविकता नै आजको कथा हो भने आजको कथा आफूभित्र आत्मसात गर्ने हो भने भोलि उदाहरणीय इतिहास बन्न सक्छ । यही सेरोफेरोमा प्रस्तुत छ मननयोग्य कथा।  

***

आधुनिक यो संसारको आकांक्षा अनुसार एक दिन कक्षा १२ का चार जना विद्यार्थीले मधयरातसम्म भोज खाँदै खुब रमाइलो गरे। सदावहार मस्तीमा रहेका उनीहरू अघिल्लो दिन बिहान कक्षा परीक्षण छ भनेर थोरै पनि याद गर्न भ्याएनन्। मानौं उनीहरुलाई उक्त परीक्षाको कुनै अर्थ थिएन। मुलभूत जिम्मेवारीलाई बुझेनन्। यस्तोमा अध्ययन र तयारी गर्ने कुरै भएन।

भोज खाएर ब्रह्म मुहर्तमा गफिँदै जब उनीहरू घर फर्किरहेका थिए तब उनीहरुलाई भोलिको कक्षा परीक्षण हुने बारेमा याद आयो। परीक्षाको केही घण्टाअघि उनीहरू परीक्षा बारे सोचमग्न हुँदै छटपटिए, के गरौं ? कसो गरौं? विचार गर्दै गर्दा युक्ति निकाल्न भ्याए। उनीहरूले भोलि प्रधानाध्यापकसँग बहाना बनाएर परीक्षाबाट उम्कने मनगढन्त कहानी गढे र आ-आफ्नो घर लागे।

घरबाट नुहाइ धुवाइ गरेर चारै जना बजारको चोकमा जम्मा भए। आफ्नो चाहना पुरा होस् भन्दै देवी सरस्वतीलाई मनग्ये ढोगे। मनगढन्त कथाको पात्रझैं आफूहरूलाई सुसज्जीत पार्न गाडी मर्मत गर्ने दोकानबाट खराब भइसकेको ग्रीज र मोबिल मागे। ग्रीज, मोबिल र धूलोको मद्दतले गाडी मरम्मत गर्ने प्राविधिक जस्तै आफ्नो स्वरुप तयार पारे र केहिबेरपछि अति नै शारीरिक परिश्रम गरे जस्तो मुहार बनाई प्रधानाध्यापक सामू उपस्थित भए।

त्यहाँ उनीहरुले भने, ‘सर, हामी हिजो आफ्नो टोलका एक बिरामीलाई राति अस्पताल लिएर गएका थियौं। जब हामी फर्कंदै थियौं, हाम्रो कारको टायर बिचबाटोमा पन्चर भयो। हामीले कारलाई धकेलेर टाँढा रहेको घरसम्म लिएर आयौं। समय अभाव र थकानले हामी अध्ययन गर्न सकेनौं। कृपया हाम्रो समस्यामाथि विचार गर्नुहोस्,’ भन्दै हारगुहार गरे।

प्रधानाध्यापकले उनीहरूको सहयोगीपरक कथा ध्यानपूर्वक सुने। बिरामीलाई अस्पताल पुर्‍याएको आफ्नो विद्यार्थीको वचन सुनेर उनी प्रसन्न भए पनि सानैदेखि पढाएको उनीहरूको आनीबानीको बारेमा जानकार रहेका प्रधानाध्यापक शशंकित थिए। तर कुशल प्रधानाध्यापकले कुनै प्रकारको शंकाकुल प्रकृतिको भाव उनीहरूसामू मुहारमा प्रकट गरेनन्।

प्रधानाध्यापकले भने, ‘ठीक छ, म तीन दिनपछि तिमीहरूको परीक्षा लिन्छु, जाऊ परीक्षाको तयारी गर।’ उनीहरू असाध्यै खुशी भए र प्रधानाध्यापकको कक्षबाट बाहिरिए। प्रधानाध्यापकलाई धुर्तयाईँपूर्वक झुक्याएको भन्दै हाँसो ठट्टा गर्दै विद्यार्थीहरु मख्ख थिए।

तीन दिनपछि कक्षा परीक्षण हुने समय आयो। चारैजना प्रधानाध्यापकको कक्षमा हाजिर भए। प्रधानाध्यापकले ती चारजनालाई अलग–अलग कोठामा परीक्षाको व्यवस्था मिलाएका थिए। उनीहरुलाई प्रश्नपत्र दिइयो। त्यसमा मात्र दुईवटा प्रश्नहरू थिए।

१) तपाईँको नाम के हो ? – (१ अंक)

२) गाडीको कुन टायर पन्चर भएको थियो? (९९ अंक)

विकल्पः

(क) अगाडिको दायाँ (ख) अगाडिको बाँया

(ग) पछाडिको दायाँ (घ) पछाडिको बाँया

प्रश्नपत्र हेरेपछि, चारै जनाको हालत के भएको होला? उत्तर कसरी दिएका होलान्? परीक्षाको लागि आउँदासम्म सन्तुलित उनीहरुको मानसिक स्थिति प्रश्नपत्र हातमा परेपछि कस्तो भएको होला? निश्चित रुपमा उनीहरुको उत्तर एक समान हुने कुरै थिएन। गुरू किन गुरू हुन्छन् भन्ने कुरा उनीहरूले त्यसबखत बुझे र गुरुसँग क्षमा मागे।

प्रधानाध्यापकले भने, ‘तिमिहरूले बोलेको झुटको प्रभाव शिक्षक उपर पर्ने नभइ तिमीहरु आफूले आफैसँग गरेको धोका हो भनी बुझ्यौ भने तिमिहरू जीवनको प्रगति पथमा निरन्तर हिँडिरहने छौ अन्यथा जीवन कस्तो हुन्छ आफैं विचार गर।’

०००

मानिसमा शैक्षिक विकास भनेको रूप, आधुनिक पोशाक, महङ्गो मोबाइल, इन्टरनेट र सवारी साधन लगायतका संसाधनले कदापि उच्च हुने होइन। यदि फेशन र पैसाले मानिसलाई शिक्षित, गुणवान र चरित्रवान बनाइदिने हो भने कसैले पनि विद्यालय जानुपर्ने आवश्यकता हुने थिएन होला।

विद्यार्थीहरुले के मनन् गर्नुपर्छ भने जुन प्रविधि र फेसन प्रयोग गरेर हामी आफूलाई आधुनिक र विकसित ठानिरहेका छौं सोको आविष्कारकर्ता उनीहरू हुन् जो आफूलाई फेशनमा नभइ पूर्ण रुपमा शिक्षामा समाहित गरेर विज्ञ बन्न सफल भएका थिए, छन् र हुने छन्।

अघिल्लो पुस्ता मध्येबाट जसले समयमै भूल सुधार गरे उसले जीवन साकार पारे। तर, जसले शिक्षकलाई ढाँटेर क्षणिक आनन्द पूर्तिको लागि आफ्नो जीवन अंधकार पारे, त्यो समय अब फर्केर आउँदैन र वर्तमान पुस्ताले यसबाट पाठ सिक्नुपर्छ।

मोजमस्तीको लागि शिक्षक वा अभिभावकलाई ढाँट्ने प्रयास गर्नु आफैसँग धोका गर्नु हो भनेर आत्मसात गर्नुपर्छ। उमेर, अवस्था र पेशा अनुसार सबैको सरोकार फरक फरक हुनसक्छ। जस्तै उदाहरणको लागि शिक्षकको लागि अध्यापन, किसानको लागि कृषि, चिकित्सकको लागि स्वास्थ्य सेवा, कर्मचारीको लागि राष्ट्र सेवा र सरकारको लागि नागरिक पारायण कर्तव्य निर्वाह हो, त्यस्तै विद्यार्थीको लागि शिक्षा गह्रण गर्नु मूल कर्तव्य हो।

विद्यार्थीले आफ्नो कर्तव्यलाई महत्व दियो भने भोलि राष्ट्रको सबै तह र निकायमा योग्य व्यक्तिको बहाली हुनसक्छ र देश प्रगति पथमा लम्किने छ। मानवीय मूल्य सहित बौद्धिक, शारीरिक, साँस्कृतिक र भावनात्मक रुपमा विद्यार्थीलाई हुर्काउन सरोकारिक निकाय, अभिभावक, विद्यालय, विद्यार्थी र शिक्षक सबै पक्षको ध्यान जानु जरुरी छ।

ज्ञानी, असल, अनुशासित विद्यार्थीबाट नै परिवार, विद्यालय, समाज र राष्ट्रले आशा गरेको सपना पूरा हुन सक्छ। विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्ति राष्ट्रको असल नागरिक भएर बेथितिलाई समाप्त पार्दै राजनीति, स्वास्थ्य, शिक्षा, समाजसेवा, उद्योग, आदि क्षेत्रमा योग्य भई देश विकासमा महत्वपूर्ण योगदान दिन सक्छन् र साथै आफू पनि सम्मानजनक जीवन बाँच्न सक्छन्।

प्रकाशित मिति: : 2020-09-12 15:53:23

प्रतिकृया दिनुहोस्