अमेरिकी चुनावः राष्ट्रपति ट्रम्पलाई ५ मुद्धामा घेर्ने तयारी

अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिँदै जाँदा दोस्रो कार्यकालका लागि चुुनावी मैदानमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध चौतर्फी हमला सुरु भएको छ। 

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई विशेषत कोरोना संक्रमण, कालाजाति माथि भएको विभेद, सेनाको विषयमा आपत्तिजनक टिप्पणी, रुस तथा उत्तर कोरियासँगको विषेश सम्बन्धलाई लिएर घेर्ने प्रयास भइरहेको छ। उनीविरूद्ध विभिन्न लेख तथा पुस्तक धमाधम सार्वजनिक हुन थालेका छन्। 

यस्तै माहौलका बीच एक अमेरिकी पत्रकार बब वुडवर्डले ‘रेज’ नामक पुस्कतक आउँदो साता सार्वजनिक गर्न लागेका छन्। यो किताबले राष्ट्रपति ट्रम्पको समस्या अझ बढाउने पक्का छ। पुस्तकमा ट्रम्पको १८ वटा अन्तर्वार्ता समावेश गरिएको छ। र, यो किताबमा ट्रम्पको चुनावी अभियानलाई नोक्सान पुर्याउने पाँचवटा मुद्धा समावेश गरिएको दावी विभिन्न पत्रपत्रिकाले गरेका छन्। 

पहिलो मुद्धा– कोरोना महामारीविरूद्ध झुट 

राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको गम्भीरताको विषयमा पहिले नै थाहा भएको दावी किताबमा गरिएको छ। ट्रम्पलाई कोरोना भाइरस खतरनाक मात्र होइन, संक्रमित पनि भएको थाहा थियो। तर, उनले थाहा हुँदाहुँदै झुटो बोलेको किताबमा उल्लेख छ। ट्रम्पले कोरोनाको विषयलाई लिएर यतिसम्म भन्न भ्याएका थिए–कोरोनाविरूद्ध बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पर्याप्त छ। कोरोनाले बालबालिकालाई कुनै असर गर्दैन। 

वुडवर्डको किताबमा १९ मार्चमा ट्रम्पले दिएको अन्तर्वार्तालाई उध्रृत गर्दै भनिएको छ– मैले यसलाई सामान्य, त्यति प्रभावशाली भाइरस नभएको भन्न चाहेको थिए र यो कुरामा अहिले पनि अडिग छु। किनभने म डरको वातावरण तयार पार्न चाहन्नथें। 

उनले भाइरसको विषयमा सबैलाई आश्चर्यमा पार्ने कुरा गरेका थिए। जसमा उनले बृद्धबृद्धा तथा युवाहरूलाई मात्र कोरोना भाइरसले प्रभाव पार्ने बताएका थिए। 

तर, अप्रिलमा देशमा जारी ‘लकडाउन’ खोल्ने निर्णयमा पुगेका ट्रम्पले वुडवर्डलाई दोस्रो अन्तर्वार्ता दिँदै भनेका थिए, ‘कोराना भाइरस यति तीब्रगतिमा फैलिन्छ, तपाईंलाई विश्वास नलाग्न सक्छ।’ 

दोस्रो मुद्धा–‘खतरनाक’ प्रवृत्तिको मान्छे 

राष्ट्रपति ट्रम्पको प्रशासनमा बसेर काम गरेका व्यक्तिहरू उनलाई खतरनाक प्रवृत्तिको मान्छे भन्न रुचाउँछन्। उनीहरू ट्रम्पलाई राष्ट्रपति पदका लागि आयोग्य मान्छन्। पुस्तकमा ट्रम्पका पूर्व सैन्य सचिव जिम मेटिस र राष्ट्रिय जासुसी संस्थाका निर्देशक डेन कोट्सले सन् २०१९ को मे महिनामा स्विकार गरेका थिए। कोट्सले भनेका थिए, ‘रुससँग ट्रम्पको केही रहस्यमय सम्बन्ध लुकेको छ। रुससँग ट्रम्पको मित्रवत व्यवहार डरलाग्दो छ।’ त्यसैले यी दुबैले ट्रम्पविरूद्ध उभिनुपर्ने प्रतिक्रिया दिएका थिए। 

तेस्रो मुद्धा– सेना र जर्नेलको विषयमा खराब प्रतिक्रिया

ट्रम्पले सन् २०१७ को एउटा बैठकमा व्यापार सल्लाहकार पिटर नवारोसँग सेनाको अधिकारीको विषयलाई लिएर आपत्तिजनक कुरा गरेको वुडवर्डको पुस्तकमा समावेश छ। 

वुडवर्डसँगको कुराकानीमा ट्रम्पले दक्षिण कोरियामा खर्च हुने रक्षा बजेटलाई लिएर पनि आपत्ति जनाएका थिए। यसमा अमेरिकी सेनाविरूद्ध उनले आपत्तिजनक शब्द नै प्रयोग गरेका थिए। 

चौथो मुद्धा– कालाजाति माथि कठोर

वुडवर्डले एउटा अन्तर्वार्तामा ट्रम्पलाई प्रश्न गरेका थिए, के उनले कालाजातिको आक्रोस तथा भावना बुझ्ने प्रयास गरेका छन्? यतिबेला ट्रम्पको उत्तर थियो– छैन। 

अन्तर्वार्ताकै क्रममा उल्टै ट्रम्पले वुडवर्डसँग प्रश्न गरें– के तिमीले कूल–एड (एक प्रकारको कोल्ड ड्रिङ्क) पिएका छौं। 

वुडवर्डले धेरै ठाउँमा कालाजाति माथि ट्रम्पको सोच बुझ्ने प्रयास गरेका थिए। तर, उनी हरेक पल्ट कोरोनाको कुरा गर्थे र कोरोनाले अर्थव्यवस्थामा परेको प्रभावका कारण माहौल बिग्रिएको बताउँथे। 

पाँचौ मुद्धा– रुस र उत्तर कोरियाली नेतासँग सम्बन्ध

ट्रम्पले वुडवर्डलाई उत्तर कोरियाली नेता किम जोङ–उनसँग भएको पत्रको आदान–प्रदानको कपी देखाएका थिए। पुस्तकमा यो कुरालाई पनि समावेश गरिएको छ। पत्रमा दुबै नेताहरू एकअर्काको तारिफ गर्दै आत्मरतिमा डुबेको देखिन्छन्। किमले पत्रमा लेखेका छन्, ‘मेरो सम्बन्ध कुनै काल्पनीक चलचित्रभन्दा कम छैन।’

यस्तै, ट्रम्पले किमसँगको सम्बन्धको विषयमा भनेका छन्–तपाईं कुनै महिलासँग भेट्नुु भयो भने एकै सेकेण्डमा थाहा हुन्छ। उनीसँग कुरा अगाडि बढ्छ कि बढ्दैन।

ट्रम्पले चुनावी अभियानको बेला रुससँगको सम्बन्धलाई लिएर छानवीनको कुरा उठ्दा यसको विरोध गरेका थिए। उनले भनेका थिए– राष्ट्रपति निर्वाचित भएपछि पुटिन र मेरो सम्बन्ध प्रभावित हुन थालेको छ। पुटिनले नै मलाई एउटा बैठकमा भनेका छन्, तपाईं राष्ट्रपति भएपछि हामीलाई कुनै कुरामा सम्झौंता गर्न गाह्रो परिरहेको छ। ट्रम्पले पनि आफूलाई त्यही कुराको अनुभव भएको बताएका थिए। 

प्रकाशित मिति: : 2020-09-13 09:35:36

प्रतिकृया दिनुहोस्