अधुरो संविधान भएकाे भन्दै मधेसका बिभिन्न स्थानमा विरोध 

पार्टीको केन्द्रिय नीति अनुरुप शनिबार वीरगञ्जमा जसपाले अधुरो संविधान घोषणा भएको दिन प्रदर्शन गरेको छ ।

घण्टाघरबाट निस्किएको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो। नगरपरिक्रमा पछि आयोजित कोणसभालाई सांसद लक्ष्मण लाल कर्ण, , वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलगायतले सम्बोधन गर्दै मधेशका माग नसमेटिएको भन्दै संविधान मधेशलाई स्वीकार्य नहुने बताए। 

त्यसैगरी जसपाले आज बाराको सदरमुकाम कलैयामा पनि प्रदर्शन गरेको छ ।  कलैयाको जानकी मन्दिरबाट निस्केको विरोध र्‍याली कलैया बजारको विभिन्न भागको परिक्रमा गरी कलैयाको भरत चौकमा आएर विरोध सभामा परिणत भएको थियो । 

विरोध सभामा जनता समाजवादी पार्टी नेपालका नेता श्यामप्रसाद गुप्ताले संविधानमा रहेको विभेदको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले संविधान संसोधन गर्नुपर्ने भन्दै मधेसीविरुद्धको संविधान कसैले पनि नमान्ने र संविधान संसोधन नभएसम्म मधेसी जनता चुप लागेर नबस्ने बताए ।

यसैगरी रौतहटमा संविधान दिवसको दिन कालो दिवस भन्दै गौरमा विरोध प्रदर्शन गरिएको छ । 

राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अगुवाईमा कार्यकर्ताहरुले गौरमा विरोध प्रदर्शन गरेका हुन्। 

ओली सरकार विरोधी बिभिन्न नारा लगाउँदै गौरस्थित बिपि चौकबाट सुरु भएको जुलुस प्रदर्शन धड्खन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा राजपाका नेता अनिल सिंह,रेवन्त झा,प्रदेश सांसद बाबुलाल साह,पूर्वसभासद बबन सिंह लगायतले सम्बोधन गरेका थिए।

मधेश जनविद्रोह समिति पर्साले पनि संविधान मधेश विरोध भएको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

प्रकाशित मिति: : 2020-09-19 19:27:17

प्रतिकृया दिनुहोस्