एक स्वाभिमान सिडिओ! (भिडियाे)

आम नेपालीको बुझाईमा ‘ओहोदावाला कर्मचारी’ भनेको सेवाग्राही जनतालाई दुःख दिने व्यक्ति हो। तर, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको व्यक्तित्व  ३ सय ६० डिग्री उल्टो छ। समाजमा चेतना जगाउने तथा पहुँच नहुने सर्वसाधारणको काम छिटोभन्दा छिटो गर्ने कारण उनलाई ‘एकाउन्टिविलिटी ल्याब’ भन्ने एउटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०१५ मा ‘इन्टिग्रिटी आइडल अवार्ड’ बाट सम्मानित गरेको थियो।  
 

सिरहास्थित पुरानो जिल्ला प्रशासन कार्यालय रहेको भवन परिसरमा हिजोआज नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी मात्र नभएर, कर्मचारीको पनि एउटा समूह सरसफाई अभियानमा जुटेको भेटिन्छन्।

सरसफाईको यही अभियानमा झाडु लगाइरहेका भेटिन्छन्, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल। जो भर्खरै सिरहामा सिडिओ बनेर आएका हुन्।

सिडिओ कँडेलसँगै लोली मिलाएर प्रत्येक बिहान सरसफाई अभियानमा सहभागी हुने अन्य व्यक्तिमा नेपाली सेनाको सिरहा, चोहोर्वास्थित शेर गणका गणपती जितेन्द्र गौली, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पँजियार, शसस्त्र प्रहरी बल नं. ७ गण हेड क्वाटर सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरी पनि छन्।  

जिल्लाका सुरक्षा प्रमुख दिनहुँ सरसफाईमा जुटेको खबरले अहिले सिरहा बजार नै तातेको देखिन्छ । 

केही समयअघि सिरहा कारागारमा रहेका ६ सय कैदी बन्दीमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तो अवस्थामा कारागारमा आइसोलेसन वार्डको ब्यवस्थापन गर्न सबैलाई हम्मेहम्मे परेको थियो। तरपनि प्रमुख जिल्ला अधिकारी कँडेलले उपयोगविहीन अवस्थामा रहेको कारागारसँगै जोडिएको पुरानो जिल्ला प्रशासन कार्यालयको भवनलाई आइसोलेसन बार्ड बनाउने योजना बनाए। यसैका लागि अहिले सुरक्षाकर्मी र कर्मचारीको जत्था दिनहुँ बिहान सरसफाईमा जुट्ने गरेको हो। 

‘अबको साता आइसोलेसन सञ्चालनमा आउने छ,’ प्रजिअ कँडेलले बिएल नेपाली सेवासँग भने,‘बजेटको अभाव भएकाले स्थानीयस्तरमै उधारो सहयोगमा आइसोलेसन बनाउन सुरु गरेका हौँ।’

सिरहामा प्रमुख जिल्ला अधिकारी नियुक्त भएर आउनुअघि कँडेल कारागार ब्यवस्था विभागमा महानिर्देशक थिए। उक्त विभागको महानिर्देशक रहेको बेला उनले कैदीबन्दीको समस्या प्रत्यक्ष देखें। 

यी हुन् समाज सुधारको प्रमाण 
नेपाल सरकारका सह–सचिव कँडेलले सिरहामा नियुक्त भएर आएपछि झाडु मात्रै लगाएका छैनन्, समाज सुधारका अनेकन अभियानमा उनी सक्रिय छन्। सिडिओ बनेर करिब एक दर्जन जिल्ला चहारेका उनी जहाँ गए, समाज सुधारकको परिचय पनि बनाए। कँडेलले सुधारवादी अभियान चलाएको जिल्ला मध्येको एक हो, धनुषा। 

उनी समाज सुधार गर्न आफैँबाट थालनी गर्नुपर्ने मान्यता राख्छन्। उनले धनुषाको प्रमुख जिल्ला अधिकारी बनेर आएको केही दिनमै जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा आमुल परिवर्तन गरेर सबैलाई चकित तुल्याइदिएका थिए। 

उनी धनुषामा नियुक्त भएर आउनुअघि मालपोत, नापी, भन्सार, श्रम तथा यातायात जस्तै कमाउँ कार्यालयको छवी बनाएको थियो, धनुषा जिल्ला प्रशासन कार्यालयले पनि। यहाँ बिचौलियामार्फत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले लेनदेनको सेटिङ गरेर मात्र काम गर्छन् भन्ने आम बुझाई थियो। कार्यालय पनि उस्तै अस्तब्यस्त थियो। गुट्खा र पान खाएर जताततै थुकिएका हुन्थें। 

तर कँडेल आएपछि कार्यालयमै आमुल परिवर्तन देखियो। कार्यालय परिसर चिटिक्क भयो। सेवाग्राही बस्ने सुविधा सम्पन्न कोठा बन्यो। सेवाग्राहीलाई निःशुल्क खानेपानी र चियाको ब्यवस्था गरियो। चिया भने सेवाग्राही आफैंले बनाउनु पर्ने नियम बसालिदिएका थिए, कँडेलले।  

उनले कार्यालय बाहिर फ्रि–वाईफाई जोन पनि बनाउन लगाएका थिए। असहाय–अपाङका लागि पनि अपाङ मैत्री कोठाको निर्माण गरिएको थियो। 

उनको यो कार्यको जनकपुरवासीले मुक्तकण्ठले प्रशंसा गरेका थिए। जनकपुरको चिया पसलमा अहिले पनि जनसाधारणले उनको कामको मुक्तकण्ठले प्रसंसा गर्छन्। 

उनले धनुषामा महिला सेवाग्राहीलाई लक्षित गरेर सन्तानलाई दूध खुवाउन स्तनपान कक्षको समेत व्यवस्था गरेका थिए। नागरिकता, सिफारिस र राहदानीबारे सम्बन्धित फाँटले सेवाग्राहीलाई माइकमै बोलाएर वितरण गर्ने परिपाटी बसाले। विद्युतीय टोकनबाट धनुषा जिल्ला प्रशासनले सेवा आरम्भ गर्‍यो।

कार्यालयको सेवा चुस्तदुरुस्त भए नभएको सिसी टिभि क्यामराबाट उनी प्रत्यक्ष निगरानी गर्थे। 

जहाँ गए सुधारवादी अभियान चलाए
उनी पाँचथरको प्रमुख जिल्ला अधिकारी भएर जाँदा सरकारले देशैभरि निरक्षर उन्मुलनको अभियान चलाइरहेको थियो। यहीँ मेसोमा उनले ‘इच वान, टिच वान’ अर्थात् ‘एक व्यक्तिले अर्को एक जनालाई पढाउने’ अभियान चलाए। उनको सोच थियो, एक जना पढेको व्यक्तिले सयौं निरक्षरलाई अक्षर सिकाउन सक्छ। यो अभियान यति सफल भयो, अहिले पनि उनलाई गाउँलेले बिर्सन सकेका छैनन्। 

पाँचथरको अभियानबारे कँडेल सम्झिन्छन्, ‘त्यतिखेर हामीले चलाएको त्यो अभियानपछि धेरै निरक्षरहरु मोबाइलमा फोन गर्न सक्ने, नम्बर हेर्न सक्ने र नेपाली भाषा सामान्य पढ्न सक्नेसम्म भएका थिए ।’

त्यस्तै कँडेलले सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरि कार्यालय व्यवस्थापन चुस्त अनि दुरुस्त बनाउने अभियान सुरु गरेका थिए।

कँडेलले पाँचथर र गुल्मीमा ‘गरिबका लागि कपडा बैंक’ भन्ने अभियान नै चलाएका थिए। इलाममा एउटा संस्थाले त्यस्तै अभियान चलाइरहेको थियो। उनलाई त्यो सोच मन पर्‍यो र उनले पाँचथर र गुल्मीमा यो कार्यक्रमलाई कार्यान्वयन गराए। अहिले पनि पाँचथर र गुल्मीमा त्यो अभियान जारी छ ।

सुधार अभियानमा अवरोध
गुल्मीमा प्रमुख जिल्ला अधिकारी रहँदा कँडेलले सेवाग्राहीसँग सम्बन्ध विस्तार गर्ने नयाँ विधि खोजे। यसका लागि उनले कामका लागि कार्यालय आउने सेवाग्राहीलाई सुरुमा निःशुल्क चियाकफी र पानी पिउने व्यवस्था मिलाएर स्वागत गर्ने अनि काम गरिदिने नौलो अभियान सुरु गरे। 

तर, सामाजिक सञ्जालबाट उनको अभियानको विरोध भयो। केही समाजिक सञ्जालमा उनको विषयमा कुरा उठ्यो–‘सिडिओले सस्तो लोकप्रियताका लागि राज्यको ढुकुटी सक्यो भनेर।’ 

तर, उनले सरकारी ढुकुटीबाट नभई स्थानीय दाताको सहयोगमा त्यो काम गरेका थिए। जसमा स्थानीय राजनीतिक दलका नेता, समाजसेवी लगायतले सहयोग गरेका थिए। उनले त्यसको खर्च विवरण पनि सार्वजनिक गर्थे।

अर्को काम गर्दा पनि यस्तै आरोप खेप्नुपर्‍यो। गुल्मी बडागाउँमा आगलागी भएर पूरै गाउँ खरानी भयो। त्यसको चौथो दिन उनले दलका प्रतिनिधि, सेना, प्रहरी, नागरिक समाज सबै मिलेर ५४ वटा टहरा बनाए।

तर, आलोचकहरुले त्यसलाई पनि सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए। 

कँडेल भन्छन्, ‘समाजमा एकाध मान्छे आफू केही नगर्ने, नगरेमा केही गरेन भन्ने र गरे पनि विभिन्न खोट खोजेर बस्ने रहेछन्। म तिनीहरुको सिकार भएको छु।’

पाँचथरमा रहँदा उनले ध्वनी बडापत्रको अवधारणा ल्याएका थिए। त्यसबाट सेवाग्राहीले सुनेरै ‘यो कार्यालयबाट मैले के–के सुविधा कसरी र कति समयभित्र पाउन सक्छु’ भन्ने कुरा थाहा पाउँथे। 

तर, उनी सरुवा भएलगत्तै बडापत्र हटाइयो। गुल्मीमा भने अहिले पनि ध्वनी वडापत्र कार्यान्वयन छ। पाँचथरमा रहँदा उनी सडक बिस्तारका लागि आफै घन बोकेर हिँड्थे। व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र अव्यवस्था हटाउन कर्मचारीले आफैंबाट त्यो काम थाल्नुपर्ने कँडेलको ठम्याई छ । 

सम्मानको ओईरो
‘एकाउन्टिविलिटी ल्याब’ भन्ने एउटा अन्तर्राष्ट्रिय संस्थाले नेपाल, पाकिस्तान, अफगानिस्तान, लाइबेरिया र घानामा केही वर्षदेखि उत्कृष्ट कर्मचारीको खोजी गरिरहेको छ। त्यस्ता कर्मचारी छनोटका सूचकहरु छन्। अन्तिममा टप ५ मा पुगेपछि पब्लिक भोटिङ गरिन्छ। राम्रो काम गरे वापत सबैभन्दा धेरै मत पाएर कँणेलले सन् २०१५ को ‘इन्टिग्रिटी आइडल अवार्ड’ प्राप्त गरेका थिए। 

पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहँदा अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका मैत्री कार्यालय बनाएवापत उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको सम्मान पनि पाएका थिए।

अमेरिकी सहयोग नियोग (युएसएआइडी), सर्च फर कमन ग्राउण्ड र एण्टेना फाउण्डेशन नेपालको सहकार्यमा सञ्चालित ‘गाउँगाउँमा सिंहदरवार’ नामक अभियानअन्तर्गत कँणेलले सो सम्मान पाएका थिए।

रौतहटदेखि सिंहदरवारसम्मको यात्रा
२०४६ सालमा निजामती सेवामा छिरेका कँणेलले सुरुका दिनमा निजामती सेवालाई एउटा जागिर खाने थलोको रुपमा मात्र बुझेका थिए। 

‘पहिले मैले निजामती सेवालाई एउटा नोकरीका रुपमा मात्र ठानेको थिएँ। सरकारी सेवामा गएर यस्तोउस्तो गरुँला भनेर मसँग कुनै योजना थिएन,’ उनले सुनाए,‘जब निजामतीभित्र छिरेँ, समस्यै समस्या देखेँ। र , कर्मचारीले सेवाग्राहीलाई दिएको दुःख देखेर सुधार गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ।’

कँडेलको घर रौतहटको जुडिबेला भन्ने गाउँमा पर्छ थारु, दुसार, चमार, कछडिया र केही पहाडियाको बाहुल्य भएको बस्तीमा अधिकांश गरिबहरूको बसोबास छ। 

उनी प्रशासन सुधारमा गहिरिएर लाग्नुमा तिनै गरिब र दीनदुःखीको देन मान्छन्। भन्छन्– ‘आफू जमिनदारको छोरो भए पनि गरिब समुदायसँग उठबस हुने भएकाले सधैँ तिनकै दुःख सम्झिन्थेँ र त्यसले पनि मलाई प्रशासनमा सुधार गर्नुपर्छ भनेर घचघच्याइँ रह्यो। 

उनले सिंहदरवारस्थित गृह मन्त्रालयमा समेत कार्यसम्पादन गरिसकेका छन्।

उनले दुर्गम जिल्लामा बसेर धेरै समय काम गरेका छन्। त्यस्ता हिमाली जिल्लाहरु पनि छन्, जहाँ गाउँगाउँबाट सदरमुकाम आउन ५–६ दिन लाग्छ। त्यसरी आएका सेवाग्राहीलाई सरकारी कार्यालयमा कर्मचारीले तेरो यो मिलेन, यस्तो मिलेन भनेर दुःख दिएको पनि देख्थे। त्यस्तो देख्दा उनी सोच्थे–‘गरिबीका कारण उमेरमै अनुहार चाउरिएका र फाटेको लुगा लगाएका उनीहरूको मन कर्मचारीले दुःख थप्दा झन् कति रुँदो हो!’ 

गरिब समुदायसँगको उठबसमा उनीहरुको मर्म बुझेकाले उनी सकेसम्म त्यस्ता सेवाग्राहीको काम सजिलो बनाइदिन्छन्। 

प्रकाशित मिति: : 2020-09-21 08:37:00

प्रतिकृया दिनुहोस्