डा केसी, जसले राज्यद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको आतंक सम्झेर जुम्ला छोडे

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनशन बसेका डा गोविन्द केसीले सोमबार आफ्नै मनमौजीले जुम्ला छोडेर हिँडेका छन्। 

उनलाई राज्य संयन्त्रले २०७५ साउन ३ गते दमन गरि अस्पतालमा आतंक मच्चाएको हुनाले उक्त घटना फेरि नदोहोरियोस् भन्दै आफै काठमाडौं गएर थप संघर्ष गर्ने निर्णय गरेका हुन्।  

अनशन सुरु गरेको आठ दिनसम्म पनि सत्ताले माग सम्बोधन गर्न कुनै चासो देखाएको थिएन। यसका साथै अस्पताल जस्तो सम्वेदनशील ठाउँमा आतंक र हिंसा हुने त्रासले काठमाडौं जाने निर्णय गरेको उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। 

त्यसपछि उनी अनशन बसेको बाबिरा मष्टोको थानबाट एक दिन नेपालगन्ज बस्ने गरि विमानमार्फत जुम्ला छाडेर हिँडेका हुन्।  

‘माग सम्बोधन गर्नुको साटो रातारात अपहरणको शैलीमा जबर्जस्ती अस्पताल ल्याइयो। तर, माग सम्बोधन गर्ने तर्फ ओली सरकारले कुनै पहल गरेन,’ जाँदाजाँदै उनले भने, ‘दुई वर्षअघि प्रतिष्ठानमा अनसन बसेको बेला राज्यले आतंक मच्चायो। म हत्या हिंसा चाहन्न। थप संघर्ष काठमाडौंमै गर्ने गरी जान लागेको छु।’ 

त्यसबेला भएको झडपमा करोडौंको क्षति भएको थियो। विद्यार्थी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत घाइते भएका थिए भने अस्पतालमा गोलीसमेत चलेको थियो।  

उनले सरकारले माग सम्बोधन नभएसम्म कुनै पनि स्वास्थ्य जाँच गर्न नदिने अडान लिएका छन्। जुम्लामा अनशन बसेको स्थालबाट अस्पताल ल्याए पनि उनले कुनै पनि स्वास्थ्य जाँच गर्न दिएका थिएनन्। 

डा केसीको मनिटरिङमा खटिएका चिकित्सक डा प्रवीणकुमार गिरीका अनुसार दुई अस्पतालमा रहँदासम्म उनले कुनै पनि खालको स्वास्थ्य जाँच र उपचार लिन मानेनन्।

 ‘हामी स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणको प्रयास गर्‍यौं। तर उहाँले जाँच गर्न मान्नुभएन,’ उनले भने।

तथापी उनलाई यथाशीघ्र सुरक्षित अस्पतालमा सार्न डा गिरीको टोलीले सुझाब दिइरह्यो। त्यही आधारमा प्रहरीले असोज ३ गते राति १०ः४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगेको थियो। त्यसयता उनी आइसीयूमा थिए।

‘शनिबारसम्म दिनको तीनपटक सामान्य रुपमा स्वास्थ्य जाँच गर्दै आएका थियौं। तर, अस्पताल ल्याएपछि आइतबारदेखि सबै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको थिएन्,’ डा गिरीले भने, ‘प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न सकिएको थिएन।’ 

उनका अनुसार रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा हुने सम्भावना रहन्थ्यो। 

डा केसीले स्वास्थ्य जाँच तथा उपचारमा पूर्ण रुपमा अस्वीकार गरिरहेको सन्दर्भमा उनलाई जाँच तथा उपचारका लागि सहज हुने स्थानमा स्थानान्तरण गर्न उपयुक्त हुने स्वास्थ्यकर्मीले सुझाब दिएका थिए। 

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेका छन्।

हरेक अनशनको बेला कर्णाली लगायत विकट बस्तीका जनताले सस्तो र सुविधाजनक स्वास्थ्य सेवा पाउन भनेर संघर्ष गर्दै आएका उनले अब यी सबै माग पूरा गराउन काठमाडौंबाट संघर्ष जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-09-21 22:17:02

प्रतिकृया दिनुहोस्