नेकपामा पदको लाभमा नरहेका केन्द्रीय सदस्यलाई मासिक तलब

सत्ताधारी दल नेकपाले राजनीतिक पदको लाभमा नरहेका २ सय ५० केन्द्रीय सदस्यलाई मासिक तलब दिने भएको छ।

संगठित सदस्यबाट मासिक रूपमा उठाइने शुल्क, सांसद तथा मन्त्रीबाट काटिने लेबी, चन्दादाता र अन्य विभिन्न सहयोगबाट उठेको रकम परिचालनबाट केन्द्रीय सदस्यलाई तलब दिने भनिएको छ। आर्थिक रूपमा सबल भएर राजनीतिलाई सेवामुखी बनाउनुको साटो पार्टीबाटै नेताहरूलाई तलब बाँडेर बेतनमुखी बनाइएको कतिपय विश्लेषकको टिप्पणी छ ।

२८ महिनाअघि तत्कालीन नेकपा एमाले र माओवादी एकीकरण भइ बनेको सत्ताधारी दल नेकपाले केन्द्रीय सदस्यलाई मासिक पारिश्रमिक दिन सचिवालय बैठकमा कार्यसूची नै लगेर छलफल थालेको छ।

राजनीतिक लाभको पदमा नहरहेका पूर्णकालीन केन्द्रीय सदस्यलाई सामान्य जीविकोपार्जनका लागि पुग्ने गरी मासिक रूपमा तलबको व्यवस्था गर्न लागिएको पार्टीको भनाइ छ । यस प्रस्तावलाई छलफल गरेर निर्णय भएपछि पार्टीको आर्थिक विभागबाट कति रकम दिने भनेर टुंगो लाग्ने भनिएको छ।

एकीकरणअघि पनि दुवै पार्टीले पूर्णकालीन केन्द्रीय सदस्यलाई मासिक तलब नभनिकन न्यूनतम खर्च दिँदै आएका थिए । तर यसपालि भने राजनीतिक लाभको पदमा नरहेका २ सय ५० जना केन्द्रीय सदस्यलाई मासिक तलब दिन लागिएको हो।

संगठननका नौ लाख सक्रिय सदस्यबाट मासिक २५ रूपैयाँका दरले उठाइने रकम, सांसद र मन्त्रीबाट काटिने लेबी र पार्टीलाई विभिन्न स्रोतबाट आउने रकम परिचालन गरेर तलब दिने भनिएको छ ।  

नेकपाका १ सय ७४ जना संघीय संसदमा छन्। जसबाट नेकपाले पार्टीका लागि प्रतिसांसद मासिक १२ हजार रूपैयाँका दरले लेबी काट्दै आएको छ । त्यस्तै, मन्त्रीहरूबाट १५ हजारका दरले लेबी उठाउँछ। पार्टीको कोटाबाट विभिन्न राजनीतिक नियुक्ति लिनेहरूबाट पनि पार्टीले नियमित लेबी उठाउँछ। त्यस्तै सक्रिय सदस्यबाट पनि नियमित दस्तुर उठाइन्छ।

एकताअघि एमालेले प्रदेश र स्थानीय स्तरका समितिबाट पनि पूर्णकालीन कार्यकर्तालाई खर्च दिने निर्णय गरेको थियो। अहिले केन्द्रीय सदस्यलाई तलब दिन सांसद र मन्त्रीबाट काटिने लेबी नै मुख्य स्रोत हो । तर आफै सबल बनेर राजनीतिलाई  सेवामुखी बनाउनुको साटो नेता आर्थिक रूपमै पार्टीनिर्भर हुने र पार्टीले पनि आयस्रोत जुटाउनतिर लाग्ने हो भने यसले अरू विकृति जन्मिने कतिपय विश्लेषकको टिप्पणी छ।

तत्कालीन एमालले पार्टीको आठौं महाधिवेशनपछि नेतालाई निर्वाह खर्च भनेर मासिक १० हजार दिँदै आएको थियो भने माओवादीले त जनयुद्धकै बेलादेखि पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने गरेको थियो। 

प्रकाशित मिति: : 2020-09-21 22:38:43

प्रतिकृया दिनुहोस्