सिलवालद्धारा एथ्लेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार जनालाई ४ लाख प्रदान

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ। 

एथ्लेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो।

एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरेको छ। क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो। उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरेको हो। स्व राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन्। सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ।

यता बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ। तीनैलाई घुँडाको समस्या छ। मनीषाको रकम भने नेपाल कबड्डी संघका प्रतिनिधिले बुझेका छन्।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। सो अवसरमा राखेपका सदस्य सुभाष श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतको उपस्थिति थियो।

कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जनाएका छन्। 

कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिदै आएको छ। २०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान १–१ का दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो। 

भुकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग दिइएको थियो। त्यस बाहेक समयस्यामा परेका खेलाडीलाई पनि विभिन्न समयमा कोषले आर्थिक सहायता उपलब्ध गराउदै आएको छन्।

प्रकाशित मिति: : 2020-10-04 14:15:16

प्रतिकृया दिनुहोस्