बालबालिकाले हेर्ने नेपाली फिल्न नबनेकै हुन् त?

तस्बिरः बिएल
तस्बिरः बिएल

करिव एक वर्ष पहिले २०७६ सालको अन्त्य तिरको कुरा हो। स्कुल पढ्दै गरेकी मेरी ठूली छोरीले बिदा सकिनु केही समय बाकी हुँदा अनायासै हलमा गएर नेपाली फिल्म हेर्ने इच्छा ब्यक्त गरिन्। यस क्रममा छोरीको उमेर सुहाउँदो नेपाली फिल्म कुनै चलेको छ कि भनी खोजी गरियो। उपयुक्त फिल्म नभेटिएको हुँदा छोरीले चाहेको समयमा नेपाली फिल्म हेर्ने इच्छा अधुरो नै रह्यो।

यो प्रसङ्गले मलाई गम्भीर भएर सोच्न बाध्य बनायो। के साच्चै बालबालिका कै निम्ति भनेर अथवा बाल मनोबिज्ञानमै आधारित भएर हालको मितिसम्म कुनै नेपाली फिल्म बनेकै पो छैनन् कि? बालबालिका कै लागि भनेर यदि कुनै नेपाली फिल्म निर्माण भएका नै रहेछन् भने पनि ति फिल्महरुले कस्तो प्रभाव पार्न सफल भए त? 

मैले छायांकन गरेको फिल्म मध्ये ‘बोक्सी’ र ‘छायाँ’ यी दुई फिल्म बाल मनोबिज्ञान मा आधारित रहेर बनेका फिल्महरु हुन्। एउटा बालक पात्रलाई स्याहार्ने नैनी आमाले उक्त बालकलाई ‘तिम्री आमा बोक्सी हो’ भनेर पटकपटक भनेको कुरालाई बालकले विश्वास गरेर आफूलाई जन्म दिने आमालाई साच्चिकै बोक्सी देख्न थाल्ने र उक्त बालक माथि आइपर्ने मनोवैज्ञानिक असरको कथा ‘बोक्सी’ ले भन्छ भने ‘छायाँ’ ले दाजु पात्रको आनिबानिमा आएको परिवर्तनको साक्षि बनेकी बहिनी पात्रले दाजु यौन दुर्ब्यबहारमा परेर त्यस्तो भएको रहेछ भन्ने कुरा बुझेपछि बहिनीले चाल्ने कदमको कथा भन्छ।

तसर्थ यी फिल्म बालबालिकाका साथै अभिभावकका लागि पनि उत्तिकै उपर्युक्त छन् भन्ने पंक्तिकारको विचार हो। यस्तै गरि आजभन्दा सय वर्ष अघिको नेपालमा बाबुको मृत्यु पछि आमा सति जाने र त्यसपछि एउटा बालक पात्रको जीवनमा आइपर्ने उतारचढावको कथा भन्ने "झोला" पनि बालबालिकाका लागि उपयुक्त फिल्म हो।

"छायाँ" हेरिसकेपछि लामो समयदेखि आफ्नो शिक्षकबाट उत्पीडिनमा परेकी छात्राहरुले उक्त सरको दुर्ब्यबहारको विरुद्ध आबाज उठाउन सक्नु के फिल्मको सकारात्मक प्रभाब होइन र? तर यति भन्दाभन्दै फिल्मले पार्न सक्ने नकारात्मक असर लाई कुनै पनि हालतमा नजरअन्दाज गर्न नमिल्ला।

विदेशमा समय समयमा गरिएका विभिन्न खोजमुलक अनुसन्धानहरुलाई आधार मान्ने हो भने फिल्म एउटा यस्तो सशक्त माध्यम हो जसले बालबालिका को कलिलो मस्तिष्कमा सकारात्मक नकारात्मक दुबै किसिमको प्रभाब प्रत्यक्ष अप्रत्यक्ष तरिकाले पारिराखेको हुन्छ।

बालबालिकाले फिल्मबाट मनोरञ्जन प्राप्त गर्नुका साथै सिक्ने, बोध गर्ने, सोच्न, सम्झिन, तर्क, प्रश्न गर्न सक्ने क्षमताको बिकास गर्न सक्छन्, कल्पनासिलता को विकास गर्न सक्छ। बालबालिकाले संवाद र अन्तरक्रिया गर्न सक्ने कौशल अभिवृद्धि गर्न सक्छन्। बालबालिकामा रचनात्मक क्षमताको वृद्धि हुनसक्छ। यसको साथै उपयुक्त र सहि फिल्मले बालबालिकाको समग्र मानसिक र शारीरिक विकासमा नै महत्वपूर्ण भूमिका खेल्न सक्छ र शिक्षा को प्रभाबकारी र शक्तिशाली माध्यम बन्न सक्छ। साथै कतिपय फिल्मले बालबालिकाको सामाजिकिकरणमा पनि उत्तिकै भूमिका खेल्नसक्छ।  साथै हाम्रो देशको विविध भाषा संस्कृति संस्कार भेसभुषा रहनसहन इतिहास भुगोल जान्न फिल्मले पक्कै पनि सकारात्मक भूमिका खेल्छ ।

तर मैले कठोरताका साथ भन्नै पर्छ, हालसम्म बनेका प्रायः सबै नेपाली फिल्महरु बालबालिकाका लागि शत प्रतिशत अनुपयुक्त छन्। माथी उल्लेख गरिएका बाहेक म आफैंले खिचेका अन्य फिल्म पनि बालबालिकाका लागि उपयुर्क्त छैनन्।

किशोरावस्थामा प्रवेश गर्दा नगर्दै प्रेम गर्नैपर्ने कथा भन्ने, यौनजन्य दृश्य समावेश गरिएका, द्विअर्थी र अपमानजनक सम्बाद भएका, हिंसात्मक दृश्य भएका, जाति रुप बिशेष भएका पात्रलाई होच्याउने दृश्य भएका, जसरी भए पनि पैसा कमाउनैपर्छ भन्ने जस्ता विषय बोकेका, धूम्रपान मध्द्यपानका दृश्यहरु अत्यधिक भएका नेपाली फिल्म त बालबालिकाहरुलाई देखाउने नै होइन। 

यस्ता फिल्महरुले बालबालिकाको मस्तिष्कमा र समग्रमा जिबनमा नकारात्मक प्रभाब पार्छ । यसैगरी फिल्ममा देखाइने असम्भव प्रायः र खतरनाक जोखिमयुक्त गतिविधि हरुलाई बालबालिका ले अनुकरण नगर्ला भन्न सक्किन्न।

केही बर्ष अघि बाट कक्षा नौ को अङ्ग्रेजी शिक्षा को पाठ्यक्रम मा फिल्म प्रशंसा पाठ्यक्रम अन्तरगत "झोला" लाई समाबेश गरिनु प्रत्येक फिल्मकर्मिका लागि गौरबको कुरा थियो। पंक्तिकारको बिचारमा अबको आबस्यकता नेपाली फिल्म सम्बन्ध विषय सम्भब भए प्राथमिक तहमै, नभए निम्नमाध्यमिक तह देखि अनिवार्य समाबेश गर्दा लाभदायक होला। यसका लागि संबंधित शिक्षा बिद्हरुले आबश्यक कदम चाल्नु युक्तिसंगत होला।

हामी फिल्मकर्मीको दायित्व चाहिँ बालबालिकालाई उपयुक्त हुने खालको फिल्म बर्षमा कम्तीमा तीन चार वटा जति निर्माण गर्न सके राम्रो हुने थियो। बालबालिकाकै लागि फिल्म बनाउँदा भने फिल्मकर्मि अझ बढी संवेदनशील, जिम्मेवार र उत्तरदायी हुनु जरूरी छ । साथै गहन अध्ययन अनुसन्धानमा पोख्त, उच्च चेतना भएका फिल्मकर्मीले मात्रै यो विषयमा काम गर्न उपयुक्त हुन्छ ।

यी फिल्महरुलाई गाउँ शहरका स्कुल स्कुलमा देखाउने बन्दोबस्त गर्न सकिएको खन्डमा अबको दस वर्ष सम्ममा बाल्यकालदेखि नै एक खालको नेपाली फिल्म हेर्ने सिनेमा संस्कारको विकासमा महत्त्वपूर्ण योगदान हुन सक्थ्यो एकातिर भने देखि अर्को तिर फिल्म सार्बजनिक प्रदर्शनमा आउनु अघि नै निर्माता आर्थिक दृष्टिकोणले सुरक्षित हुने थियो। यसका लागि प्रत्येक स्कुलले अडियो-भिडियो को क्लास अन्तर्गत वर्षमा दुई चार वटा उपयुक्त नेपाली फिल्म देखाउने योजना नै बनाउनसक्छ।

अन्त्यमा आवश्यकता छन् यस्ता फिल्महरु जसले बालबालिकाको असल चरित्र निर्माणमा सहयोग गरोस्, उज्वल भबिस्य निर्माणमा योगदान गरोस्, जसले समग्र राष्ट्र निर्माणमा नै योगदान दिन सकोस्।
 

बज्राचार्य नेपाली सिनेमाका छायाँकार हुन्।

प्रकाशित मिति: : 2020-10-13 20:18:00
# नेपाली फिल्न