सुपर ओभरमा मुम्बई फेरि हार्‍यो, गेल र अग्रवालले जिताए पञ्जावलाई

विजयी रनपछि खुसी मनाउँदै क्रिस गेल र मयङ्क अग्रवाल।
मुम्बईलाई दोस्रो सुपर ओभरमा हराउँदै किङ्स इलाभेन पञ्जावले रोमाञ्चक जित निकालेको छ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएलमा) मुम्बईलाई दोस्रो सुपर ओभरमा हराउँदै किङ्स इलाभेन पञ्जावले रोमाञ्चक जित निकालेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल तयार गरेको थियो।

मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुन: बराबरीमा सकियो ।

त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।

सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै निकोलस पुरण र क्रिस गेलले २४/२४ रन जोड्दा मायांक अग्रवालले ११ रन बनाए । दिपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । राहुल चाहरको नाममा २ विकेट रहयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै हार्दिक पाण्डयले ३४ रन जोड्दा कप्तान रोहित शर्मा ९ रनमा आउट भए ।

केइरन पोलार्डले अविजित ३४ रन जोड्दा नाथन कल्टर २४ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २/२ विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले १/१ विकेट लिए ।

जितसँगै पञ्जाबले ९ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा फड्को मारेको छ। समान खेलबाट १२ अंक जोडेको पराजित मुम्बईले शीर्ष स्थानमा जाने मौका गुमायो। यसअघि पनि मुम्बईले रोयल च्यालेन्जर्स बैंलोरसँग भएको सुपर ओभरमा खेल गुमाएको थियो।

समान खेल खेलेको दिल्ली क्यापिटल १४ अंकसहित शीर्ष स्थानमा कायमै छ। समान खेलबाट १२ अंक नै जोडेको रोयल च्यालेन्जर्स बैंलोर तेस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2020-10-19 00:41:00

प्रतिकृया दिनुहोस्