पीपीई लगाएर पचली–भैरव जात्राः हातजोडेर सहभागी नहुनुस् भन्नुपरेको छ (भिडियो स्टोरी)

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सबै मेला पर्व तथा जात्रा प्रभावित भएका छन्। यस्तै नवरात्रको सुरूसँगै हुने यस वर्षको पचली भैरव जात्रासमेत नराम्ररी प्रभावित भएको छ। तर नवरात्रीको घटस्थापनादेखि पाँच दिनसम्म चल्ने जात्रा यस वर्ष विगतभन्दा फरक तरिकाले मनाइँदै छ । 

पचली भैरव जात्रा व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनले बिएल नेपाली सेवासँग कुरा गर्दै जात्रालाई फरक फरक तरिकाले मनाउन लागेको बताए। ‘पहिला पहिला भए जात्रामा सहभागी हुनुहोस् भनेर हात जोडेर अनुरोध गथ्र्यौं, यसपालि कोरोना भाइरस संक्रमणको महामारीका कारण हात जोडेर सहभागी नहुनुस् भन्नुपरेको छ,’ उनले भने।

विगतका वर्षमा तामझाम र बाजागाजाका साथ राति मनाइने यो जात्रा यसपालि भने फरक शैलीमा मनाइँदै छ।

‘परापूर्व कालदेखि मनाइँदै आएको यो जात्रा नगरी नहुने भनी पूजारीले भन्नुभयो। सिडियो सापसँग सल्लाह गरेँ। बरू भीड नगरी गर्छौँ भन्नेमा मैलै सिडियो सापलाई मनाएँ। त्यसपछि जनसेवा प्रहरी वृत्त र कालिमाटी प्रभागका डीएसपी सापहरुलाई पनि भनेँ’, संयोजक महर्जनले भने, ‘त्यसपछि मैलै समितिमा सल्लाह गरेँ। टोलको नाईकेदेखि क्लवतथा संघसस्थाका अधिकारीलाई बोलाएँ, जात्रामा भीड नगर्ने उपायबारे सरसल्लाह गरेँ।’ 

सबै भीड नगरी जात्रा सम्पन्न गर्न सहयोगी भएपछि आफू अगाडि बढेको‍ उनले जानकारी दिए। 

सुरक्षा सावधानी अपनाउँदै यस वर्षको जात्रामा ‘भैरवको घ्याम्पो’ रहेको खट बोक्ने, गणेश र अजिमाको मूर्ति बोक्ने स्वयम्सेवकले समेत पीपीई लगाउने व्यवस्था गरेको संयोजक महर्जनले जानकारी दिए।  

‘स्वास्थ्य सावधानी अपनाएर मात्र जात्रा मनाउने तयारी गरेका छौं। आवश्यक जनशक्तिलाई पीपीई लगाएर जात्रामा खटाइने छ’, उनले भने, ‘पीपीई लगाएका बाहेकलाई हामीले छुन दिने छैनौं।’

गुर्जुको पल्टनबाट पनि सकेसम्म थोरै सहभागी हुनेछन्। अन्य परम्परागत बाजागाजा पनि अत्यावश्यकलाई मात्र सहभागी गराइने तयारी छ। 

 

पचली भैरव जात्रा २०७६का भिडियाे

प्रकाशित मिति: : 2020-10-19 17:49:00

प्रतिकृया दिनुहोस्