दशैंपछि खुलेको सेयर बजारमा उछाल, ४१ अंककाे वृद्धि

दशैं विदापछि पहिलो दिन खुलेको सेयर बजारले आम लगानीकर्तालाई निकै उत्साहित बनाएको छ । नेप्से सूचक बुधबार ४१.२० अंकले बढेर १६४७.४५ विन्दुमा आइपुगेको छ । बजार समग्रमा २.५७% ले बढेको हो ।

चाडपर्वको बेला भए पनि खरिदबिक्री रकममा पनि उमंग देखिएको छ । यस दिन विशेषगरी वाणिज्य बैंकहरुले सेयर बजारलाई तानेको हो । यही समूहको सूचकले समग्र बजारलाई नै नेतृत्व गरेको देखिन्छ । साथमा, अन्य समूहहरु पनि माथि लागेका छन् । 

दशैंमा थप रेमिटेन्स भित्रिंदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा अनुमान गरिएको छ । यसबाहेक दशैं खर्च र पहिलो त्रैमासका लागि यसअघि नै लगानीकर्ताले जोहो गरिसकेकाले पनि अहिले बजार सकारात्मक हुन सहयोग पुगेको हो । यस्तै, बैंकिङ प्रणालीमा रहेको प्रचुर लगानीयोग्य रकमले पनि सेयर बजारलाई सकारात्मक बनाउन सहयोग पुर्याएको हो ।

वित्तीय प्रणालीमा अधिक लगानी गर्न सक्ने रकम छ । यसले ब्याजदर सस्तो बनाएको छ । ब्याजदर घट्दै जाँदा सेयर बजार भने वृद्धि हुँदै गएको विगत वर्षहरुका पनि उदाहरण छन् । कोरोनाका कारण लगानीका अन्य क्षेत्र संकुचित भएका छन् । यसको सकारात्मक प्रभाव बजारमा परेको हो । यस्तै, नेप्से १६ सय विन्दु माथि लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप सकारात्मक बनेको हो । 
 
पछिल्लो समय लाभांश घोषणा गर्ने क्रम बढेको छ । विशेषगरी वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गर्न थालेका छन् । बैंकहरुले अपेक्षाकृतरुपमा राम्रो लाभांश दिइरहेका छन् । अहिलेसम्म लाभांश प्रस्ताव गर्ने सबैले बोनस सेयर दिएका छन् । यसले पनि लगानीकर्ता थप उत्साहित देखिएका हुन् । हाम्रो बजारले बोनस सेयरलाई बढी रुचाउने गरेको छ । यसले पनि बजार थप सकारात्मक हुने लगानीकर्ताको अपेक्षा रहेको छ ।

केन्द्रीय बैंकको नीतिका कारण पनि बैंक तथा वित्तीय संस्थाहरुले बोनसलाई प्राथमिकता दिने देखिन्छ । कोभिडका कारण पनि नगद सकेसम्म रिजर्भ गर्ने र बोनस सेयर वितरणलाई नै प्राथमिकतामा पार्ने सम्भावना थप बढेको छ । तर बजार सधैं बढ्छ भन्ने होइन । तलमाथि गर्दै औसतमा सूचकले माथिल्ला रेखाहरु कोर्दै जाने हो । लगानीकर्ताको मनोबल पनि उच्च हुन आवश्यक छ । 
 
बुधबार १८८ कम्पनीको २ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९३ लाख २२ हजार कित्ताभन्दा धेरैको कारोबार भएको छ । व्यापारिक बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ११०.६८ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूह ५५.१५ अंकले माथि लागेको छ ।

प्रकाशित मिति: : 2020-10-28 15:55:00

प्रतिकृया दिनुहोस्