लहानः मधेशको रोल्पा

मधेश मुद्धा–१

चमार समुदायलाई सिनो बोक्न बाध्य तुल्याइन्थ्यो । लहानमा सिनो बहिष्कार आन्दोलन भयो । 

सिनो बहिष्कार आन्दोलनलाई पत्रकार र बुद्दिजिवीको अमूल्य साथ रहयो। धेरै दिनको रस्साकस्सीपछि आन्दोलन सफल भयो। 

अहिले चमार समुदायलाई सिनो बोक्न बाध्य तुल्याइदैन। मधेशमा भएको सफल आन्दोलन मध्ये सिनो बहिस्कार आन्दोलन पनि एक हो।

सिनो बहिष्कार आन्दोलन मात्रै होइन, ठूल्ठूला राजनीतिक परिवर्तन ल्याउनेसम्मका आन्दोलन भएका छन्, सिरहाको लहानमा। तिनै आन्दोलन मध्य एक थियो, ०६३ को जनआन्दोलन लगतै भएको मधेश आन्दोलन । 

भर्खरै शान्तिप्रकृयामा आएको तत्कालीन नेकपा माओवादीका कुनै नेताको दम्भका कारण स्वस्फुर्त नागरिक सडकमा उत्रिएका थिए।

उक्त आन्दोलनको नेतृत्व मधेशी जनअधिकार फोरमले गरेको थियो । फोरमका अध्यक्ष उपेन्द्र यादवलाई राष्टि्रय राजनीतिमा स्थापित गरेको उक्त आन्दोलनलाई माओवादीले प्रतिक्रान्तिको संज्ञा दियो ।

तर, त्यो आन्दोलन मधेश र मधेशीको पहिचानसँग जोडिएको थियो। आन्दोलनकै कारण राज्य पहिलोपटक मधेशको समस्या सम्बोधन गर्न बाध्य भयो।

यसअघि नेपाल सद्भावना पार्टीमार्फत गजेन्द्रनारायण सिंहले पनि लहानलाई नै राजनीतिक गतिविधिको प्रमुख थलो बनाएका थिए।

गोईत , ज्वाला र सिकेहरूको लहान कनेक्सन

शान्ति प्रकृयामा आएपछि सत्ताको स्वाद चाखिरहेको माओवादीबाट अलग भएर जयकृष्ण गोईतले स्वतन्त्र मधेशको माग गर्दै सशस्त्र गतिविधि जारी राखे। गोईतले पनि लहानलाई नै केन्द्र बनाएका थिए।

त्यस्तै गोईतका सेना प्रमुख नागेन्द्र पासवान ज्वालाले गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा फुटाए । ज्वाला नेतृत्वको जनतान्त्रिकले पनि लहानलाई नै केन्द्र बनाएका थिए। 

पछि गएर हतियारधारी समूह धेरै समूहमा विभाजित भयो। अहिले ती समूहहरू अस्तित्वमा छैनन् । भनिन्छ गोईत र ज्वाला छिमेकी मुलुक भारतमा छन। कतिपयले आत्मासमर्पन गरेर साधारण जिन्दगी बिताइरहेका छन।

सशस्त्र समूह मत्थर भएपछि सिके राउतले पनि देश टुक्र्याउने उद्धेश्यले गतिविधि बढाए । संयोग पनि कस्तो भने राउतले पनि लहानलाई नै केन्द्र बनाए ।

शान्तिपूर्ण तबरले राउतले सुरू गरेको अभियानलाई भारतबाट नेपाल भित्रिएका अंगिकृत नागरिकको समर्थन रह्यो । राउतले लहानमा धेरैपटक सभा समारोह गरे। तर पछि गएर केपी शर्मा ओलीसँग उनले घुँडा टेके। अहिले जनमत पार्टी खोलेर राउत राजनीतिमा सक्रिय छन। 

मधेश आन्दोलनको उर्वरभूमी मानिएको लहानमा रैथाने एकता परिषद् नामको संस्था पनि जन्मियो। अंगिकृत नागरिकले राजनीति गर्न नपाउने भन्दै उसले मधेशवादी दलका नेताको पुत्ला समेत दहन गर्यो। 

सिनो बहिष्कार आन्दोलपश्चात लहानलाई थुप्रै गैर–सरकारी संस्थाले केन्द्र बनाए। करोडौं पैसाको चलखेल भयो।

राजनीतिक परिवर्तनमा अंह भूमिका खेलेको लहान भने उस्तै छ, जस्तो कम्युनिष्ट आन्दोलनको उर्वरभूमी रोल्पा छ। लहानको शैक्षिक, आर्थिक, राजनीतिक र सामाजिक अवस्थामा कुनै फेरबदल छैन। 

लहानलाई प्लेटफर्म बनाउनेले लहानको समग्र बिकासको लागि कुनै भूमिका खेलेनन्। यस्तोमा लहानले अर्को बैकल्पिक शक्ति जन्माउन सक्छ। जो लहानको मसिहा बन्ने सम्भावना प्रबल छ।

प्रकाशित मिति: : 2020-10-28 17:39:00

प्रतिकृया दिनुहोस्