असान्दर्भिक बन्दै गएका नेताहरुको सत्ता दौड

देशसञ्चार

काठमाडौँ
तस्बिर : देश सन्चार

युवराज घिमिरे

नेपालको राजनीति अब केही दिन भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल यात्राको ‘ह्याङ्ग ओभर’मा रहनेछ। आरोप प्रत्यारोप अनि आफूखुसी र आफ्ना फाइदाका लागि गरिने व्याख्याका केन्द्रीय खलनायक प्रधानमन्त्री केपी शर्मा ओली नै रहने छन्। नेपाली राजनीतिमा देखापरेको सामूहिक हीनभावना र परिचालित तथा परचालित प्रवृतिका कारण ओलीले जनतालाई स्पष्टीकरण दिनुभन्दा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र र बाहिरका आलोचकहरुलाई नङ्ग्याउने अभियानमा लाग्नेछन्, सम्भवतः।

प्रधानमन्त्री र सरकारका तर्फबाट गोयलसँगको भेटबारे स्पष्ट र चित्तबुझ्दो जवाफ नआए पनि त्यसको पृष्ठभूमि र केही पूर्वाभ्यास बुझ्नु जरुरी छ। विभागीय मन्त्री प्रदीप ज्ञवाली या गृहमन्त्री रामबहादुर थापा बादल या सम्बन्धित मन्त्रालयका कुनै वरिष्ठ अधिकारीलाई नराखी सार्वजनिक आलोचनाका पात्र बनेपछि त्यो बैठकमा ओलीसँग उपस्थित परराष्ट्र मामिला सल्लाहकारमार्फत ‘नोट’ पठाइएको तथ्यलाई सरकारको उपल्लो तहले यो पंक्तिकारसँग स्वीकार गरेका छन्।

ओलीको यो जमिन्दारी शैलीलाई उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्री र परराष्ट्र मामिला सल्लाहकारले ‘कूटनीतिक’ चरित्रका रुपमा प्रस्तुत गरे पनि यो अचानक घटित एउटा घटना मात्र थियो भनी स्वीकार्न मिल्दैन। मन्त्री प्रदीप ज्ञवालीले भनेजस्तै यो संयम नभएर सत्ता बचाउने अभ्यास देखिन्छ।

अगष्टको मध्यतिर अर्थात ओली र नरेन्द्र मोदीबीचको चर्चित टेलिफोन वार्ताभन्दा पहिले नै ओलीले एक वरिष्ठ भारतीय कूटनीतिज्ञमार्फत दिल्ली सन्देश पठाएको र त्यसै सिलसिलालाई निरन्तरता दिँदै लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको नक्सासहितका पाठ्यपुस्तकको वितरण रोकेको स्पष्ट बुझ्न सकिन्छ।

प्रकाशित मिति: : 2020-10-30 20:00:00

प्रतिकृया दिनुहोस्