सबैभन्दा लामो लकडाउनपछि सामान्य बन्दै मेलबर्न शहर, नेपालीहरू काममा फर्किदै

सरिता ढकाल

मेलबर्न (अस्ट्रेलिया)

कोरोनाकालमा सबैभन्दा लामो लकडाउनको अनुभव गरेको अस्ट्रेलियाको मेलबर्न शहर अब सामान्य देखिन थालेको छ। 

१ सय १२ दिन लामो तथा कडा प्रतिबन्धपछि यहाँ बसोबास गर्ने ५० लाख मानिस खुल्ला आकाशमा राहतको श्वास फेरिरहेका छन्। 

बजार र पसल धमाधम खुल्न थालेको छ। मानिसहरू ५ किलोमिटरको सट्टा अब २५ किलोमिटरसम्म आउँ–जाउँ गर्न थालेका छन्। यसबीच लगभग १ लाख ८० हजार मानिस पुरानो काममा फर्किएका छन्। 

भिसाको समस्या तथा प्लेनको टिकट नपाउँदा मेलबर्नमा फसेका नेपालीहरू अब सहजै आ–आफ्नो गन्तब्यतर्फ लाग्न सक्नेछन्।

 भिक्टोरिया राज्यको राजधानी मेलबर्न कोरोनाको केन्द्र बिन्दु मानिएको थियो। 

पछिल्लो समय कोरोना संक्रमणको एउटा पनि घटना नभेटेपछि भिक्टोरिया प्रशासनले २६ अक्टुबरदेखि लकडाउनलाई केही सहज बनाउने घोषणा गरेको थियो। यसमा पनि सरकारले ‘फेजवाइज’ खुकुलो बनाउँदै लगेको थियो।  

सरकारको यो रणनीति प्रभावकारी देखिएको छ। आइतबार संक्रमणको एउटा पनि घटना भेटिएन। 

अस्ट्रेलियामा हालसम्म २७ हजार ५ सय ९० व्यक्ति संक्रमित भेटिएका थिए, जसमा २० हजार भिक्टोरियामै देखिएको थियो। मार्चमा संक्रमण उच्च बिन्दुमा थियो। 

No description available.

१६ मार्चमा सरकारले पहिले दुई साताका लागि आपतकालीन अवस्थाको घोषणा गरेको थियो। अप्रिल महिनामा पुनः अवस्था गम्भीर भएपछि सरकार झस्किएको थियो।

 भिक्टोरियामा मात्र ९ सय ५ मध्ये ८ सय १७ जनाको निधन भएको थियो। जसमा ६ सय ८२ बृद्धबृद्धा थिए। यसैले सरकारले २ अगस्टदेखि लकडाउनको घोषणा गर्नुपरेको थियो। 

७ अगस्टमा त सरकारले राती कर्फ्युको घोषणा गरेको थियो। यति बेलादेखि स्कुल, कलेज, धार्मिक स्थल, रिटेल सेन्टर र एयरपोर्टसमेत बन्द भएको थियो। 

अस्ट्रेलियाबाट प्रकासित हुने विभिन्न पत्रपत्रिकाका अनुसार अहिले अनलाईनबाट सामान किन्ने ग्राहकको नयाँ संख्या १० लाख नाघेको छ। 

भिक्टोरिया सरकारले लकडाउनलाई निकै कडाईंका साथ लागु गरेको थियो। यसको छनक यसबाट पनि लगाउन सकिन्छ, गत मार्चयता लकडाउनको नियम तोड्ने व्यक्तिबाट २७ दशमलव ८ मिलियन डलरभन्दा बढी राजश्व संकलन भएको छ। 

५ किलोमिटर यताउति हिँडडुल गर्न स्थानीय सरकारले लगाएको प्रतिबन्धको नियम उल्लङ्घन गर्ने व्यक्तिलाई आर्थिक जरिवानाको घोषणा गरिएको थियो।
 
लकडाउनका कारण दैनिक १२ सय मानिसले रोजगारी गुमाएको यहाँको पत्रपत्रिकाले लेखेका छन्। 

लकडाउनको अवधिमा १० लाख मानिसले रोजगारी गुमाएको तथा सयभन्दा बढी व्यापारीक संगठन बन्द भएको तथ्यांकले बताउँछ। 

राज्य सरकारले ३ हजार डलरभन्दा माथिको भाडा दरमा केही राहत दिन सहायता प्याकेजको निर्माण गरेको थियो। 

भाडामा बसोबास गरिरहेका मानिसलाई घरबाट ननिकालुन भन्नका लागि सरकारले यी पैसा घर मालिक र एजेन्टलाई उपलब्ध गराएको थियो। 

यस बाहेक आइसोलेसनमा १४ दिन घर बस्ने बेरोजगारलाई १५ सय डलर उपलब्ध गराएको थियो। 

अस्ट्रेलियामा सरकारी तथा नीजि अस्पतालमा कोभिड टेस्ट गर्ने सबैलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2020-11-02 07:15:00

प्रतिकृया दिनुहोस्