वडाध्यक्ष हनुमान मण्डलका दाजुभाइले पनि ठड्याए पक्कि घर (भिडियाेसहित)

लक्ष्मीपुर पतारी गाउँपालिका बेथितिः ४

गाउँपालिकाको विकाश बजेटमा व्यापक अनियमितता गरेको आरोप लागेका लक्ष्मीपुर पतारी गाउँपालिका वडा–३ का वडाध्यक्ष हनुमान मण्डलले पनि पतारी बजारभन्दा १ सय मिटर दक्षिणमा दुईतले पक्कि घर बनाएको भेटिएको छ।

चुनाव जितेको ६ महिना नबित्दै घडेरी किनेका वडाध्यक्ष मण्डलले त्यस जग्गामा सुविधा सम्पन्न दुईतले पक्कि घर बनाएर सटरहरु भाडामा लगाएका छन्। घरको माथिल्लो तल्लामा भने मण्डल आफै बस्दै आइरहेका छन्। 

लक्ष्मीपुर पतारी गाउँपालिकामा भएको अनियमितता बारे बिएल नेपाली सेवाले शृंखलाबद्ध रूपमा समाचार प्रकासित गर्दै आइरहेको छ। बिएलसँगको कुराकानीमा स्थानीय चन्देश्वर मण्डल भन्छन्, वडाध्यक्ष हनुमान मण्डलले भाई अनिरुद् मण्डललाई गाउँपालिकाको विभिन्न उपभोक्ता समितीमा राखेर विकाश निर्माणको नाममा व्यापक अनियमितता गरेर बिल्डिङ ठ्ड्याएका छन्।’

लक्ष्मीपुर पतारी गाउँपालिकामा भएको अनियमितताबिरुद् गाउँपालिकाबासीले पटकपटक आन्दोलन गर्दै आएको बताउँदै चन्देश्वर मण्डलले थपे, ‘वडाध्यक्ष मण्डलले गाउँपालिका प्रमुख रामबल्लभ साहलाई आफ्नो मुठ्ठीमा राखेका छन्। गाउँपालिका प्रमुख कै मिलेमतोमा गाउँपालिकाभरि हुने विकाश निर्माणको काममा आफूखुशी मान्छे राखेर अनियमितता गर्दै आएका छन्।’

विभिन्न उपभोक्ता समितीमार्फत अनियमितता गर्दै आएका वडाध्यक्ष मण्डलका भाई अनिरुद्धले पनि अहिले धमाधम पक्कि घर बनाइरहेको दावी उनको छ।  

चन्देश्वर मण्डलका अनुसार अनिरुद्धको घर दाई हनुमानको घरभन्दा विपरित दिशामा बनिरहेको छ। स्थानीय तहको चुनावअघि साधारण बोर्डिङ स्कूलमा शिक्षण पेशा गरेर परिवार चलाउँदै आएका अनिरुद्ध दाईले जितेपछि शिक्षण छोडेर ठेक्कापट्टामा हाम्फालेका थिए। 

गाउँपालिकाभरि उपभोक्ता समितीले जिम्मा लिएको काम अनिरुद्धले गर्दै आएका छन्। उनको कामलाई राजेश कुमार महतो र पप्पु महतोले सहयोग गर्दै आएका छन्। 

कागजमा ४० लाख रुपैयाँ अनुमानित गरिएको पुलहरू स्टिमेट विपरित २ देखी ३ लाख रुपैयाँको लागतमा बनाएर बाँकिरहेको पैसा वडाध्यक्ष हनुमान मण्डल, अनिरुद्ध मण्डल लगायतले मिलिभगतमा भागबण्डा गर्ने गरेको पाइएको छ। (हे. भिडियो)

यसअघि उच्चशिक्षा हासिल गरेपनि बेरोजगार बनेर गाउँमा बसेका थिए, अध्यक्ष हनुमान मण्डल पनि। स्थानीय तहको चुनाव हुनु र उक्त चुनावमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमबाट वडाध्यक्षको टिकट पाउनु र चुनाव जित्नु उनको लागि कमाउने अवसर बन्यो।

लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख रामबल्लभ साहले पनि तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट पाएर जितेका हुन्। फोरममा आउनुअघि रामबल्लभ तत्कालीन एमाले पार्टीमा सक्रिय थिए। गाउँपालिका प्रमुखमा रामबल्लभले जित्नु पनि वडाध्यक्ष मण्डलका लागि थप उपलब्धि भयो।

राजा हरिसिंह देव मन्दिर र पतारी पोखरी जिर्णोदरका नाममा व्यापक अनियमितता गरेका वडाध्यक्ष मण्डलले भाई अनिरुद्ध मण्डललाई अघिसारेर गरिएका अनियमितताका धेरै प्रमाण विएल नेपाली सेवासँग सुरक्षित छ।

यस्तै वडाध्यक्ष हनुमान मण्डलले आफ्नै वडा कार्यालयसँग आफैले सम्झौता गरेर आफ्नै नाममा एक पटकमा १ लाख ५० हजार रुपैयाँसम्म निकासा गरेको तथ्य फेला परेको छ। ( हे. तस्विर)

No description available.

लुटको दृष्टान्त 

वडाध्यक्ष मण्डलले आफ्नै वडाका लागि खेलकुद तथा मनोरञ्जनको सामाग्री खरिद र खेलकुद प्रतियोगिताका लागि आफ्नै नाममा सम्झौतापत्र तयार पारी निकासा लिएको सम्झौंतापत्रमा उल्लेख छः

प्रस्तुत बिषयमा लक्ष्मीपुर पतारी गाउँपालिकाको आव ०७४।०७५ को गाउँसभाबाट लक्ष्मीपुर पतारी गापा वडा–३ का लागि खेलकुद तथा मनोरञ्जन तर्फको योजना नं २०५० को सिनं १ मा १ लाख ५० हजार छुट्याइएको हुँदा लक्ष्मीपुर पतारी वडा–३ का युवाहरूको माग बमोजिम जिल्ला अन्तर खेलकुद प्रतियोगिता अमानतमा नै गर्नुपर्ने भएकाले सार्वजानिक खरिद ऐन २०६३ को दफा ४५ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९८ बमोजिम अमानतबाट गराउने निर्णय भएको र तपाईले मिति...।गतेमा दिनुभएको निवेदन अनुसार उक्त कार्य गर्ने ईच्छा प्रकट गर्नुभएको हुँदा सो कार्य तपाईबाट सम्पादन गर्न यो सम्झौता तथा कार्यादेशा दिएका छौँ। तोकेको कार्य अनिवार्य रुपमा म्यादभित्र सम्पादन गरि फरफराक लिनु होला।
उक्त पत्रमा सम्झौंता गर्ने व्यक्तिको नाममा अध्यक्ष मण्डलको नाम उल्लेख छ तर हस्ताक्षर भने गरिएको छैन। वडाध्यक्षलाई दिन तयार पारिएको सम्झौंतापत्र र कार्यदिशामा वडा कार्यालयको तर्फबाट तत्कालीन सचिव शकंर बहादुर बीसी नाम उल्लेख गरिएको छ भने सम्झौतापत्रमा सचिव बीसीको हस्ताक्षर छ। (हे. तस्विर)

No description available.

लहान घर भएका बीसी अहिले अवकाशका जीवन बिताइरहेका छन्। 

प्रतिकृयाका लागि सम्पर्क गर्न खोज्दा वडाध्यक्ष हनुमान मण्डल , तत्कालिन वडासचिव शकंर बीसी, अनिरुद्ध मण्डल बिएल नेपाली सेवाको सम्पर्कमा आएनन्।

बिएल नेपाली सेवाको समाचार प्रभावपछि जिल्ला सम्वन्य समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले बुधबार लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख रामबल्लभ साहसँग स्पष्टीकरण लिने भएका छन्।

प्रकाशित मिति: : 2020-11-10 19:51:00

प्रतिकृया दिनुहोस्