सचिवबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी

लक्ष्मीपुर पतारी गाउँपालिका बेथितिः ५

जनप्रतिनिधि र कर्मचारीबीचको विवादले अधिकांश स्थानीय तह प्रभावित हुँदै गएको तथ्य ‘ओप्पन सेक्रेट’ जस्तै छ। काम गराइमा तालमेल नमिल्दा अथवा स्थानीय निकाय सञ्चालनबारे ऐन नियम बाझ्दा जनप्रतिनिधिको कर्मचारीसँग टसल पर्नु स्वभाविक नै हो। तर, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा भने जनप्रतिनिधि र कर्मचारीबीच पैसा कसले बढि कमाउने भन्ने बिषयमा टक्कर पर्ने गरेको छ।

जनप्रतिनिधिले आफू अनुकुल उपभोक्ता समिती गठन गरेर विकाश निर्माणका नाममा अनियमितता गरिरहँदा लक्ष्मीपुर पतारी गाउँपालिकाका वडासचिवले पनि विभिन्न शिर्षकमा आफ्नै नाममा सम्झौंतापत्र बनाएर निकासा लिने गरेको खुलासा भएको हो। 

आफ्नो नाममा सम्झौंता बनाएर निकासा लिने अग्रपंक्तिमा वडा–६ का वडासचिव फेकु यादवको नाम आउँछ। सचिव फेकु यादवले धेरैचोटी १ लाख रुपैयाँ देखि १ लाख ५० हजार रुपैयाँसम्म आफ्नो नाममा निकासा लिएको पाइएको छ।

वडासचिव फेकु यादवले विकाश निर्माण भन्दै गाउँ कार्यपालिकाको  कार्यालयबाट पटकपटक गरि विभिन्न मितिमा सम्झौंता गरेर रकम निकासा गरेको पाइएको छ। 

यादवको नाममा बजेट निकासाका लागि तयार पारिएको सम्झौंतापत्र तथा कार्यादेशमध्ये एउटा पत्रमा कच्ची कुुलो मर्मतका लागि भनेर उल्लेख गरिएको छ। पत्रमा गाउँ कार्यपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतको हस्ताक्षर छ भने यो सम्झौंतापत्रलाई टेकेर वडासचिव यादवले ९७ हजार रुपैयाँ बजेट निकासा गरेको देखिन्छ। (हे. तस्वीर) 

अर्को एक सम्झौतापत्रमा सितापुर बजारको माछामासु हटिया स्थानान्तरणको नाममा पनि वडासचिव यादवले ९६ हजार ९ सय ९९ रुपैयाँ निकासा गरेको देखिन्छ। यो कामको लागि पनि गाउँ कार्यपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत महतले नै हस्ताक्षर गरेका छन्। (हे. तस्विर) 

मुखिया टोलको पूर्व सडक मर्मत तथा ह्यूम्पाईप हाल्ने कामका लागि सचिव यादवले ८३ हजार ३ सय ६८ रुपैयाँ र वडा कार्यालय कम्पाउण्डमा स्टोर निर्माण शिर्षकमा ७३ हजार ८ सय ६० रुपैयाँ ४३ पैसा निकासा गरेको देखिन्छ। भैपरी आयोजना शिर्षकमा पनि ९७ हजार रुपैयाँ आफ्नो नाममा निकासा गरेको भेटिएको छ। भैपरी आयोजनाको सम्झौतापत्र र कार्यादेशमा पनि गाउँ कार्यपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत महतले नै हस्ताक्षर गरेका छन्।

वडासचिव फेकु यादवलाई नै दिइएको अर्को सम्झौंता पत्रमा पनि गाउँ कार्यपालिका कै प्रमुख प्रशासकीय अधिकृत महतले नै हस्ताक्षर गरेको  देखिन्छ। यो पत्रको आडमा वडासचिव यादवले ९७ हजार नै निकासा गरेका छन्। 

सितापुर कै स्वास्थ्य चौकी मर्मत तथा रंग–रोगन शिर्षकमा पनि वडासचिव फेकु यादवले ३ लाख ५० हजार रुपैयाँ निकासा लिएको देखिन्छ।

वडा–३ का तत्कालीन वडासचिव शकंर बहादुर बिसीले गाउँ कार्यापालिकाको कार्यालयबाट आफ्नै नाममा सम्झौता गरेर १ लाख रुपैयाँ निकासा गरेको पाइएको छ।

गाउँ कार्यापालिकाको लेडरप्याडमा तयार पारिएको सम्झौंतापत्र र कार्यादेशमा योजनाको नाम भैपरी हुने सडक मर्मत तथा विकास कार्यक्रम उल्लेख गरिएको छ। पत्रमा फर्म एंव व्यक्तिको नाम लेख्ने ठाउँमा वडासचिव बिसीको नाम उल्लेख छ भने हस्ताक्षर पनि वडासचिव बिसी आफैले गरेका छन्।

उक्त पत्रमा गाउँ कार्यापालिकाको तर्फबाट कार्यकारी अधिकृत रविन्द्र कुमार महतको नाम उल्लेख गरिएको छ भने हस्ताक्षर पनि उनैले गरेका छन्। ( हे. तस्वीर) 

वडासचिवकै हालिमुहाली

यसै गाउँपालिका वडा–१ का सचिव घुरण यादवले पनि गाउँ कार्यपालिकाको कार्यालयसँग सम्झौता गरि आफ्नो नाममा ९२ हजार १ सय ५० रुपैयाँ निकासा लिएको पाइएको छ। 

वडासचिव घुरन यादवले पनि वडाका खेलाडीको प्रशिक्षण, पोशाक तथा सामाग्री खरिद शिर्षकमा निकासा लिएका हुन्।

सचिव यादवले गाउँपालिकाको कार्यालयबाट पटकपटक आफ्नो नाममा बजेट निकासा गरेको देखिन्छ। माटो र ग्राभेलको काम गर्न भन्दै वडासचिव यादवले पुनः ९७ हजार रुपैयाँ आफ्नै नाममा निकासा लिएका छन्।यसपटकको सम्झौतापत्र र कार्यादेशमा पनि गाउँ कार्यपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले नै हस्ताक्षर गरेका छन्।

यस्तै लक्ष्मीपुर पतारी गाउँपालिका वडा–५ का वडासचिव हनुमान यादवको नाममा पनि गाउँ कार्यपालिकाको कार्यालयले पटकपटक बजेट निकासा गरेको पाइएको छ। 

सचिव यादवको नाममा पञ्जिकरण शिविर चलाउन १४ हजार ५ सय ५० र भैपरी हुने सडक मर्मत तथा विकास कार्यक्रम चलाउन ९७ हजार रुपैयाँ दुईपटक गरि निकासा गरिएको पाइएको छ।

बजेट निकासाका लागि औपचारिकता पुरा गर्नका लागि खडा गरिएको दुबै सम्झौतापत्रमा गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले नै हस्ताक्षर गरेको देखिन्छ।

मनपरी बाँडिन्छ पैसा

कर्मचारीलाई मात्रै होइन, यस गाउँपालिकाले व्यक्तिको नाममा पनि निकासा दिएको पाइएको छ। लक्ष्मीपुर पतारी–१ का मनिकलाल यादवलाई गाउँ कार्यपालिकाले भैपरी हुने सडक मर्मत शिर्षकमा ९७ हजार रुपैयाँ निकासा दिएको भेटिएको छ। (हे. तस्वीर)

भैपरी आउने सडक मर्मतको नाममा मनिकलाल यादवसँग गरिएको सम्झौतापत्र र कार्यादेशमा पनि गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले नै हस्ताक्षर गरेको देखिन्छ।

लक्ष्मीपुर पतारी गाउँपालिका वडा–३ का वडाध्यक्ष हनुमान मण्डलले पनि आफ्नै वडा कार्यालयसँग आफैले सम्झौता गरेर आफ्नै नाममा १ लाख ५० हजार रुपैयाँ निकासा लिएको पाइएको छ। 

वडाध्यक्ष मण्डलले आफ्नै वडाका लागि खेलकुद तथा मनोरञ्जनको सामाग्री खरिद र खेलकुद प्रतियोगिताका लागि आफ्नै नाममा सम्झौतापत्र तयार पारी निकासा लिएका हुन्।

यस बिषयमा प्रतिकृयाका लागि लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसँग बिएल नेपाली सेवाले पटकपटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

हाल सिरहाकै बिष्णुपुर गाउँपालिकामा कार्यरत महत सम्पर्कमा आउन नचाहेपछि बिएल नेपाली सेवाको सम्पर्कमा आएका उक्त गाउँपालिकाका प्रमुख जागेश्वर यादवले महत आफ्नो सम्पर्कमा पनि नभएको प्रतिकृया दिए।

प्रकाशित मिति: : 2020-11-12 07:13:00

प्रतिकृया दिनुहोस्