बबिताकाे लागि न्याय माग्न आएका स्थानीयलाई प्रहरीकाे लाठी (भिडियाे)

हिमा गाउँपालिका ३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाकाे निम्ति न्याय माग्न आएका स्थानीयलाई प्रहरीकाे लाठी गरेकाे छ।

मुद्दा कमजोर बनाएर आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेपछि पीडित पक्ष न्याय माग्न जुम्ला सदरमुकाम पुगेका थिए।

सिंजाबाट जुम्ला पुगेका पीडितले शुक्रबार दोषीलाई कारबाहीको माग गरी आन्दोलन गर्दा पीडित पक्षलाई प्रहरी तथा सशस्त्र प्रहरीले लाठी चार्ज गरेकाे हाे। 

'पीडितलाई न्याय देउ भनी नारा जुलुस गरिरहेका नागरिककाे भिड नियन्त्रण तथा तिरवितर पार्नका लागि प्रहरीले लाडी चार्ज गर्नुका साथै अश्रुग्या प्रहार गरेपछि दुई पक्ष बीच झडप हुँदा ६ जना घाइते भए।

पीडित पक्षबाट खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत गम्भीर घाइते भएका छन्। त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन्। घाइते सबैकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ।

बालिका हत्या आरोपमा हिमा गाउँपालिका ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको थियो। 

आरोपित डाँगीलाई ५ कार्तिकमा र भण्डारीलाई ८ कार्तिकमा प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ। 

पीडित पक्षका विष्णु भण्डारीका अनुसरण घटनाको मुख्य योजनाकार रामचन्द्र डाँगी भएकाे र प्रहरीले मुद्दा कमजोर बनाउन उनलाई नै धरौटीमा रिहा गरेपछि पीडित पक्ष आन्दोलित हुनु परेको हाे। 

'मृतक बालिकाको आमा बाबु कोही पनि छैनन्। उनलाई साइलाबाबु कर्ण रोकायाले संरक्षण गर्दै आएका थिए,' उनले भने, 'उनै बालिकामाथि जघन्य अपराध गर्नेलाई सहजै उम्काउन थालेपछि हामी न्याय माग्न आएका थियाैँ। तर प्रहरीले हामीमाथि लाठीकाे वर्षायाे।'

डिएपी माधव प्रसाद काफ्लेका अनुसार २०७७ असोज १९ गतेको राति घरबाट बेपत्ता भएकी किशोरी कात्तिक एक गते हिमा १ पागरपाली स्थित हिमा नदीको छेउमा मृत फेला परेकी थिइन। 

'नदीको ताल परेकाे ठाउँमा किशोरीको शव फेला परेको थियाे। खुट्टामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा शव भेटिएको हो,' उनले भने, 'पानीमाथि शव तैरनुपर्ने हो, तर घाँटीमा डोरी बाँधिएकोले टाउको पानीमा थिग्रिएर बसेको रहेछ। घटनाको सबै प्रकृति हेर्दा हत्या भएकाे देखिन्छ।' 

किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा पनि भेटिएकोले बरामत गरी प्रहरीले मुचुल्कासमेत गरेको छ। 

उनकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक १ गते पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम रिपाेर्ट अनुसार किशोरीको पेटमा तीन महिनाको बच्चा देखिएको छ। 

'डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ,' डिएसपी काफ्लेले भने, 'प्रहरी आफ्नो बुद्धि विकेक र भरपुर क्षमताले घटना अनुसन्धान गरी मुद्दा अगाडी बढाएको छ। यसमा पीडित पक्षलाई कुनै शंका नगर्न आग्रह गर्छाैं।'

प्रकाशित मिति: : 2020-11-14 13:15:00

प्रतिकृया दिनुहोस्