फेसबुक लाइभले फसेका गायक रविराज

जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले गायक रविराज साहलाई पक्राउ गरेको छ। सर्लाहीको चन्द्रपुर नगरपालिका ४ घर भई काठमाडौंमा बस्दै आएका उनलाई भत्तपुर प्रहरीले कात्तिक २७ मा नियन्त्रणमा लिएको थियो। 

अहिले उनलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ।

घटना काठमाडौंमा भएको भन्दै भत्तपुर प्रहरीले अनुसन्धानका लागि गायक साहलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको बुझिएको छ। 

एक युवतीले उनीमाथि जवरजस्ती करणी उधोग अन्तर्गत मुद्दा हालेको र अहिले सो विषयमा अनुसन्धान भइरहेको प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्ष्य बस्नेतले जानकारी दिए।

फेसबुक लाइभ गरेर घटना सार्वजनिक 

गायक साहमाथि आफूलाई मोडल बताउँदै आएकी किरन बानियाँले जवरजस्ती करणी र हत्याको प्रयास गरेको आरोप लगाएकी छन्। उनले फेसबुक लाइभमै आएर आफूलाई गायक साहले काठमाडौं बोलाएर जर्वजस्ती करणीको प्रयास र ज्यान मार्ने धम्की दिएको बताएकी छिन्।

पहिलो पटक उनले घटनाबारे कलाकार भरत साहसँग फेसबुकमा लाइभ कुराकानी गरिन्। त्यसपछि आफ्नो फेसबुकमा लाइभ आएर घटना सार्वजनिक गरिन्। कलाकार साहसँगको कुराकानीमा उनले नशालु पदार्थ खुवाएर गायक साहले कुटपिट गरेको र जर्वजस्ती करणीको प्रयास गरेको बताएकी छन्। 

घटना कसरी घट्यो ?

हेटौँडा घर भएकी किरण जनकपुरमा बस्छिन्। आफूलाई मोडल बताउने उनले केही एलबममा मोडलका रुपमा काम गरिसकेकी छिन। रविराज पनि गायक भएकाले उनीहरुबीच चिनजान भएको हुनुपर्छ।

रविराजले फिल्मको सुटिङ छ भन्दै किरणलाई काठमाडौं आउन भन्यो। उनी घरपरिवारसँग पनि नसोधी जनकपुरबाट फ्लाइटका काठमाडौं पुगिन्। उनलाई काठमाडौं एयरपोर्टमै पुगेर रविराजले रिसिभ गरे। त्यहाँबाट सिधा आफ्नो कोठा लगे।

किरण भन्छिन्, ‘रविराजसँगै कोठामा अन्य मानिस पनि थियो। मैले कहाँ सुत्ने भनेर रविराजसँग प्रश्न गर्दा एउटै कोठामा बस्ने भन्यो। त्यसपछि मैले बिरामी छु भनेपछि कोठामा राखिएको मदिरा जस्तो देखिने झोल पदार्थ मलाई रविराजले खुवायो। त्यसपछि म बेहोस् हुँदा कुटपिट र जवरजस्ती गर्ने प्रयास गर्यो।’

घटना काठमाडौंको कुन ठाउँमा भएको भन्ने जिज्ञासामा किरणले त्यो थाहा नभएको बताएकी छिन्। उनले रविराजले सुटिङका लागि नभएर गलत व्यवहार गर्न बोलाएको पनि जिकिर गरेकी छिन्। 

प्रकाशित मिति: : 2020-11-16 21:19:00

प्रतिकृया दिनुहोस्