तराईमा बढ्दो भ्रष्टाचार: गणतान्त्रिक नेपालका नवसामन्तवाद (भिडियाेसहित)

लक्ष्मीपुर पतारी बेथितिः ८

पटक–पटकको राजनीतिक संघर्षपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रसँगै बिकेन्द्रिकृत शासन व्यवस्थामा गयो। जसअन्तर्गत मुलुकमा अहिले ७ प्रदेश छन्। अधिकारसम्पन्न स्थानीय सरकार पनि छ। 

देशमा राजनीतिक द्न्द् चलिरहँदा करिब दुई दशकसम्म स्थानीय तह जनप्रतिनिधिबिहीन बन्यो। लामो समयपछि हुनलागेको स्थानीय तहको चुनावपछि गाउँमा सिंहदरबार आउँछ भनेर सुनेका नागरिकका लागि त्यो खबर हर्षित बनाउने खालको थियो। 

झण्डै दुई दशकपछि भएको स्थानीय चुनावमा नागरिक उत्साहका साथ सहभागी भए। आफ्नो विश्वासिलो उम्मेदवारलाई भोट हालेर जनप्रतिनिधि चुने। केन्द्रिकृत राज्य व्यवस्थाले सधै उपेक्षा गरेको महसुस गरेका प्रदेश–२ का जनताले पनि स्थानीय तहको गठनपछि आफ्नो गाउँको तिब्र विकास हुने र छिटै समृद्धी आउने अपेक्षा गर्दै बसे। 

तर, यतिबेला जनप्रतिनिधिको राजश्री ढाटले जन अपेक्षामाथि तुषारापात भएको छ। जनताको समृद्धीको सपना ऐठनमा परिणत हुँदै गएको छ। यसको ज्वलन्त उदाहरण बनेको छ, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका। 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले पौराणिक पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिहं देव मन्दिर निर्माणका लागि विनियोजन गरेको १ करोड ५० लाख रुपैयाबाट रकमान्तर गरि अनियमितताको शृंखला सुरु गर्यो। पतारी पोखरी र राजा हरिसिहं देव मन्दिर निर्माण र जिर्णोद्धारका नाममा यस गाउँपालिकाले प्रत्येक आर्थिक वर्ष करोड बढि रकम विनियोजन गर्दै आए पनि हालसम्म पोखरी वरिपरी ढलान गर्ने कार्य मात्रै भएको छ। 

गाउँपालिका प्रमुख रामबल्लभ साह, तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महत, वडा नं. ३ का अध्यक्ष हनुमान मण्डल र उक्त पोखरी जिर्णोद्धार उपभोक्ता समितीमा बसेका वडाध्यक्षका भाई अनरुद्ध कुमार मण्डलको मिलेमतोमा अनियमितता भएको दावी स्थानियको छ। 

यस गाउँपालिकामा कृतिम उपभोक्ता समिती खडा गरेर करोडौँ रुपैयाँ अनियमितता भएको पनि पाइयो। सडक निर्माण, सडक मर्मत, जिर्णोद्धार, ढल निर्माण, सडक ग्राभेल, पुल निर्माण, खानेपानी, उर्जा जडान, सरसफाइलगायत विभिन्न कार्य गर्न भन्दै कृतिम रुपमा खडा गरिएको उपभोक्ता समितीमार्फत पटक–पटक १ लाखदेखि २९ लाख रुपैयाँसम्म निकासा गरेको देखिएको छ। 

त्यस्तै यस गाउँपालिकामा वडाध्यक्ष र सचिवहरुबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी चलेको खुलासा पनि भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले आफ्नै वडा कार्यालयसँग आफैले सम्झौता गरेर आफ्नै नाममा १ लाख ५० हजार रुपैयाँ निकासा लिएको पाइएको छ। 

लक्ष्मीपुर पतारी गाउँपालिकाको विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितीमा बसेर गरेको अनियमितताले पतारी बजारमा घर ठड्याउने होडबाजी चलेको तथ्य पनि खुलेको थियो। 

ती पक्कि घरहरुमा अहिले तल्ला थप्ने प्रतिस्पर्धा पनि चलेको छ। धेरै उपभोक्ता समितीमा बसेका राजेश कुमार साह र पप्पु साहले पतारी बजारमा पक्कि घर ठड्याएका छन्। पतारीबजारस्थित राजा हरिसिहं देवको मन्दिरको पूर्व दिशामा राजेशको घर छ। एकतले उनको घरमा अहिले तल्ला थप्ने र बिस्तार गर्ने काम भइरहेको छ। 

राजेशले उक्त घरमा किरानाको होलसेल खोलेका छन्। राजेशको घरभन्दा करिब ३० मिटर पश्चिम दक्षिणमा रहेको पप्पुको दुईतले घरमा भने एनसीसी बैंकको शाखा भाडामा बसेको छ। 

गाउँपालिकाको बिकास बजेटमा ब्यापक अनियमितता गरेको आरोप लागेका लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले पनि पतारी बजारभन्दा १ सय मिटर दक्षिणमा हालै दुईतले पक्कि घर बनाएको भेटिएको छ भने वडाध्यक्ष मण्डलका भाई अनिरुद्धले पनि धमाधम पक्कि घर बनाइरहेका छन्। 

विभिन्न उपभोक्ता समितीमा मधेशी दलितलाई डमीको रुपमा खडा गरेर सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लाखौँ रुपैयाँ अनियमितता भएको पनि पाइएको छ। 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा मौलाएको बेथितिको विरोधमा स्थानीयले पटक–पटक आन्दोलन मात्र गरिरहेका छैनन्, अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी पनि दिँदै आएका छन्। 

तर यहाँ मौलाइरहेको बेथितिको खोजीनीति र छानविन गर्न कसैले चासो देखाएको छैन। तर यहाँ मौलाएको ब्यापक अनियमिततामा आफ्नो सहभागिता स्विकार गर्दैनन्, गाउँपालिका प्रमुख रामबल्लभ साह। 

बिएल नेपाली सेवामा गाउँपालिकाको बेथितिबारे नियमित समाचार आउन थालेपछि सम्पर्कमा आएका उनले वडाध्यक्षहरुको काम गराइको जनताबाट गुनासो आएको भने स्वीकार गरे। करिब २० बर्षसम्म तत्कालिन नेकपा(एमाले) बाट राजनीति गरेका उनी पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा लागेर गाउँपालिका प्रमुख बनेका हुन्। 

कम्युनिष्ट पृष्ठभुमिका गाउँपालिका प्रमुख साहले आफ्ना जनतासँग गरेको व्यवहारलाई नजिकबाट नियाल्दा भन्न करै लाग्छ, उनी गणतान्त्रिक नेपालका एक नवसामन्तका रुपमा उदाइरहेकाछन्। उनीसँग बिएलकर्मी सन्तोष बराइलीले यसै सेरोफेरोमा लामो कुराकानी गरेका छन्।

प्रकाशित मिति: : 2020-11-29 08:38:00

प्रतिकृया दिनुहोस्