गएनन् जुम्लीका अँध्यारोमा बस्ने दिन

हिउँद हिउँचुली,
नेपालगन्ज झिलिमिलि,
जुम्ला बिजुली।

झण्डै चार दशक अघि चलेको प्रस्तुत गीतको भाका हालसम्म पनि जुम्लीहरुको जिब्रोमा झुन्डिरहेको छ। समकालीन परिस्थितिलाई मध्यनजर गरि गाइएको गीतले हालको समयको समेत प्रतिनिधित्व गरिरहेको छ।

जुम्लीहरु व्यापारमा जोडिएदेखि नै भोट मधेस गर्थे। पछि मधेस झर्ने जुम्लीहरुले नेपालगन्ज बिजुलीले झिलिमिलि भएको देखे। 

दियालोको भरमा रात कटाएका उनीहरुलाई दिन र रात एकैनासे देखिने बिजुलीको भोग जाग्यो। पूरा हुने केही गरि थिएन। त्यसैले माथिको गीतमार्फत् माग गरियो जुम्लामा बिजुली चाहियो।

तर, हालसम्म पनि जुम्लीले बिजुली पाएका छैनन्। हिउचुलीमा हिउँ परिरहन्छ, हिउँ पग्लेर बनेको पानी बगेर नेपालगन्ज पुगिरहन्छ। तर, त्यहाँको जस्तो बिजुली अहिलेसम्म पायाका नाइ जुम्लीहरुले।

कारण, साना जलविद्युत् आयोजनाको घुघुतीस्थित पावर हाउसका दुईवटै मेसिन बिग्रिएपछि सदरमुकाम फेरि अन्धकारमय बनेको छ। 

वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पुर्‍याइएको डिजेल प्लान्ट पनि थन्किएपछि अँध्यारोमा बस्न बाध्य छन् स्थानीयबासी। यद्यपी यो एक पटक भने होइन। 

एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३ सय केभीएको डिजेल प्लान्ट जुम्ला पठाएको थियो। इन्धन अभावमा प्लान्ट सञ्चालन नभएपछि खलंगा अन्धकारमय बनेको छ।

४० सालमा घुघुतीमा उत्पादित साना जल विद्युत्‌ले चार वर्ष अघिसम्म जुम्ला सदरमुकामलाई जेनतेन उज्यालो बनाएको थियो। 

पावर हाउसको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो। समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो। 

नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै बिग्रिए र फेरि खलंगा अँध्यारो भएको छ।

औँसी, पुर्णिमा जस्तो भइरहने बिजुली अनिश्चित बनेको छ। दुईवटै टर्बाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बिएल नेपाली सेवालाई बताए। 

‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ,’ उनले भने, ‘अर्कोको बेरिङ भाँचिएको छ।’ 

मेसिनको वारेन्टी समय सकिएपछि मर्मतमा समस्या भएको उनी गुनासो गर्छन्। उनका अनुसार उक्त मेसीन अरु ठाउँमा मर्मत नहुने भएकाले निर्माण कम्पनीलाई जिम्मा दिनुपर्ने हुन्छ।

वितरण केन्द्रका अनुसार दसैंअघि भारतीय ठेकेदार कम्पनीले एउटा मेसिनको जडान गर्दैगर्दा अर्को मेसिन बिग्रिएको थियो। ठेकेदार कम्पनीका प्राविधिक आएपछि मात्र मेसिन मर्मतको काम सुरु हुने केन्द्रले जनाएको छ।

डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकोले प्राधिकरणको केन्द्रसँग अनुरोध गरिएको साहुको भनाइ छ।

‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजल प्लान्ट सञ्चालन गर्न माग गरेका छौं,’ उनले बिएल नेपाली सेवासँग भने, ‘तर अहिलेसम्म केन्द्रबाट कुनै प्रतिक्रिया आएको छैन। अनुमानि नलिई सञ्चालन गर्न सकिदैन।’

विद्युत् प्राधिकरणको लापरबाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको नागरिक अगुवा राजबहादुर महतो गुनासो पोख्छन्। 

‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ। त्यसमा पनि महिंनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता।’ 

उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहने गर्छ।

प्रकाशित मिति: : 2020-12-02 21:30:00

प्रतिकृया दिनुहोस्