शुक्रबार, १० अक्टोबर २०२५

अमेरिकामा पनि सुरु भयो कोरोनाविरूद्धको खोप अभियान, अश्वेत नर्स सेन्ड्रा लिन्ड्से पहिलो

संजोग आचार्य

संजोग आचार्य

न्युयोर्क
Photo: msnbc.com
• • •

अमेरिकाका लागि आजको दिन निकै सुखद देखिएको छ। विगत एक वर्षदेखि कोरोना महामारीका कारण अस्तव्यस्त भएको विश्वको सर्वशक्तिशाली देशमा आजदेखि कोरोनाको खोप लगाउने कार्यको शुभारम्भ भएको छ। 

आइतबार मात्र कोरोनाका कारण अमेरिकामा तीन लाख मानिसले ज्यान गुमाएका थिए। अमेरिकामा पहिलो कोरोनाको खोप काला जातिको प्रतिनिधित्व गर्ने नर्स सेन्ड्रा लिन्डसेले लगाएकी छिन। उनी हेल्थ केयरमा कार्यरत थिइन। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडियामार्फत यसको जानकारी दिँदै भने, ‘अमेरिकामा पहिलो खोप लगाइएको छ। अमेरिकालाई बधाई!’

कोरोनाबिरूद्ध खोप अभियानको सुरुवात गर्नुअघि दुई दिनलगाएर तयारी गरिएको थियो। हाल देशको विभिन्न राज्यअन्तर्गत १ सय ४५ स्थानमा खोप पुर्‍याउने काम पुरा भएको छ। 

अमेरिकी समाचार एजेन्सीहरूका अनुसार ह्वाइट हाउसमा काम गर्ने कर्मचारी र अधिकारीलाई खोप लगाउने कार्यमा केही समय लाग्ने छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप–राष्ट्रपति माइक पेन्सलाई पनि खोपका लागि आग्रह गरिने बताइएको छ। 

तर, अझै यो स्पष्ट हुन सकेको छैन, ट्रम्पले खोप लगाउँछन कि छैनन् भन्ने कुरा। किनभने उनी चुनावी अभियानका क्रममा एक पल्ट संक्रमित भइसकेका छन्। हालै राष्ट्रपतिको चुनाव जितेका जो वाइडेन र उप–राष्ट्रपति कमला ह्यारिसले भने खोप लगाउने घोषणा गरिसकेका छन्। 

अमेरिकामा चरणबद्ध रूपमा खोप लगाउने कार्यलाई सुचारु राखिने बताइएको छ। पहिलो चरणअन्तर्गत फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मचारी र केयर होममा बसोबास गर्ने वृद्धवृद्धालाई खोप लगाइने छ। कोरोना भाइरसबिरूद्ध खोप वितरणको कार्य जनरल गुस्ताभ पेरनालाई सुम्पिएको थियो। 

पेरनाका अनुसार यसै साताको अन्त्यसम्म सबै राज्यमा ३० लाख डोज उपलब्ध हुनेछ। हाल ट्रक र हवाई जहाजको सहयोगले खोपको डोज पुर्‍याउने कार्यलाई तिब्रता दिइएको छ। 

अमेरिकी सरकारले यसै साता फाइजर र बायोनटेकलाई इमर्जेन्सी प्रयोगका लागि स्विकृति प्रदान गरिएको थियो। यो खोपलाई फेडरल ड्रग एडमिनिस्ट्रेशन (एफडीए) र डिजीस कन्ट्रोल सेन्टर (सीडीसी) ले सुरक्षित भएको प्रमाण दिएपछि सरकारले खोप वितरणलाई स्विकृति प्रदान गरेको थियो। 

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले पाँच व्यक्तिलाई खोप लगाएर यो कार्यक्रमको शुभारम्भ गरेको हो। 

यसलाई ‘किक अफ इभेन्ट’ को नाम दिइएको छ। यी पाँच जनालाई वासिङ्टन डिसीस्थित जर्ज वासिङ्टन विश्वविधालयको अस्पतालमा खोप लगाइएको थियो। सबै फ्रन्टलाइन स्वास्थ्य कर्मचारी हुन्। 

यसपछि स्वास्थ्य विभागका सिनियर अधिकारी तथा डक्टरहरूलाई पनि खोप लगाइएको थियो। आम अमेरिकीले आउदो सातादेखि खोप लगाउन पाउने छन्।

सोमबार, मंसिर २९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!