पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाईस अवार्डको मनोनय सार्वजनिक गरिएकाे छ। मनोनयमा परेका ५ मध्ये ४ महिला खेलाडी छन्।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधातर्फ पौडीकी गौरिका सिंह, भालिबलकी अरुणा शाही, करातेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयन भएका छन्। 

 पौडीकी गौरिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा  १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । उनले ४ स्वर्ण, २ रजत र २ कांस्य गरी कुल ८ पदक जितेकी थिइन्।

यता अरुणाको कप्तानीमा नेपालले गत वर्ष एभिसी सेन्ट्रेल जोनमा स्वर्ण पदक र १३ औं सागमा रजत पदक जितेको थियो। सागको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको महिला भलिबल टोली दुई सेटको अग्रता बचाउन नसक्दा स्वर्ण पदक जित्न असफल भएको थियो।

त्यस्तै सदिनाको नेतृत्वमा नेपालले १३ औं सागमा महिला बास्केटबलमा रजत पदक जितेको थियो।

यता रजत पदक जितेको महिला फुटबल टोलीकी सदस्य सावित्राले गत वर्ष सर्वाधिक गोलकर्ता बनेकी थिइन्। मन्डेकाजीले सागमा दाेहाेराे स्वर्ण दिलाएका थिए। 

भोटिङको आधारमा यो विधामा विजेता घोषणा गरिनेछ। भोटिङलाइन शुक्रबार बाट सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने बताइएको छ।

पुस २८ गते आयोजना हुने पल्सर स्पोर्टस अवार्डकै दौरानमा पिपल्स च्वाई अवार्डको विजेताको घोषणा गरिनेछ। यसवर्षको ‘पल्सर स्पोर्ट्स अवार्ड’ विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई प्रदान गरिने भएको छ। 

‘पल्सर स्पोर्ट्स अवार्ड’काे पुरुष र महिलातर्फ वर्षकै उत्कृष्ट खेलाडी, युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन भने केही दिनमा सार्वजनिक गरिने भएको छ। दीर्घसाधना सम्मान, पारा एथलिट, स्पेसल अवार्ड र टीम अफ दी इयर अवार्ड २८ गते नै घोषणा गरिने भएको छ।

उत्कृष्ट पुरुष तथा महिला, पिपुल च्वाइस र प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ। यसपटक एकजना अन्तराष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिने भएको छ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँले पुरस्कृत गरिनेछ।

 

प्रकाशित मिति: : 2020-12-18 14:20:00

प्रतिकृया दिनुहोस्