प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार: ८ मन्त्री र १ राज्यमन्त्री थपिए, विश्वकर्मा र दुगडकाे पद खाेसियाे

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार गरेका छन्।

शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन्। केही मन्त्रीको भने जिम्मेवारी हेरफेर भएकाे छ। 

टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन्।

यता मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन्।

विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए।

विश्वकर्माको स्थानमा प्रचण्ड समूहबाट ओलीलाई साथ दिन आएका दावा लामालाई मन्त्री बनाइएको छ।

लामा सिन्धुपाल्चोकबाट प्रदेशसभा सांसदका पदका लागि उठेर पराजित भएका थिए।

यता यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।

यसअघिका महिला तथा बालबालिकामन्त्री लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

थपिएका मन्त्रीहरू-

टोपबहादुर रायमाझी- उर्जा

मणि थापा- खानेपानी

प्रभु साह- शहरी विकास

प्रेम आले- वन 

गणेश ठगुन्ना- सामान्य प्रशासन 

गौरी शंकर चौधरी- श्रम

दावा लामा- युवा तथा खेलकुद

जुली कुमारी महतो- महिला बालबालिका

विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री

 

मन्त्रालय हेरफेर भएका:

हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

कृष्णगोपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रबिधि)

भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

पदमा अर्याल (कृषि तथा पशुपंक्षी)

शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

प्रकाशित मिति: : 2020-12-25 20:12:00

प्रतिकृया दिनुहोस्