माधवकुमार नेपालले गिरिजाबाबुकाे शैलीमै भने,‘संसद् पुनर्स्थापना हुन्छ हुन्छ हुन्छ’ (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड)का अध्यक्ष माधव कुमार नेपालले संसद् पुनर्स्थापना भइछाड्ने दाबी गरेका छन्। 

काठमाडौंमा मंगलबार संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले ०६२ सालकाे आन्दाेलनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भनेकै शैलीमा भने, ‘संसद् पुनर्स्थापना हुन्छ हुन्छ हुन्छ।’ उनले आन्दाेलनकै भरमा संसद् पुनवाहली गर्ने बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको भन्दै स्वीकार्य नहुने समेत बताए। 

‘जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त छ। यो कदम अस्वीकार्य गर्दछौं। असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेका हौँ,’ नेता नेपालले भने।

उनले निरंकुश बाटो समातेका केपी ओली एन्ड कम्पनीको आयु पूरा भएको पनि बताए। 

‘निरंकुशताको बाटो समातेका ओली र उनको प्रवृत्तिको आयु सकियो। नेपाली जनता दृढताका विरुद्ध उभिएका छन्’, नेता नेपालले भने।

ओलीले संसद् विघटन गर्न पार्टीमा कसैको सहमति नलिएको समेत दाबी गरे।

 ‘पार्टीमा बसेर स्वच्छाचारी रुपमा काम गर्न पाइन्छ? पार्टी भनेको के हो? अनुशासन भनेको के हो? केपी ओलीलाई पार्टीसँग, अनुसानसँग मतलब छैन, व्यक्तिवाद, फुटवाद हावी छ,’ नेपालले भने, ‘ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण छैनन्, लोकतन्त्रवादीमा हुनुपर्ने आचारण पनि छैन त्यही भएर उहाँको कदमलाई अस्वीकार गर्नुबाहेक अरु विकल्प थिएन।’

उनले गल्ती स्वीकार गरेर प्रधानमन्त्री ओलीले माफी मागे बिर्सन तयार रहको बताए।

‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ,’ नेपालको भने,‘अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार छौं।’

केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको दाबी गरे। 

‘बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा केही नेताहरु अझै लागेका छन्। उहाँहरुले ओलीलाई अझै मनाउन सक्नुहुन्छ भने म स्यावास् भन्छु,’ उनले भने।  

प्रकाशित मिति: : 2020-12-29 15:50:00

प्रतिकृया दिनुहोस्