‘भाग्यवाद र विकास’ मा कहाँ र किन गलत छन् डोरबहादुर ? 

हिमाल खबर

काठमाडाै‌ं

सेवा भट्टराई 
मानवशास्त्री डोरबहादुर विष्टले लेखेको चर्चित पुस्तक हो-‘फेटलिज्म् एण्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास), जहाँ भाग्यवाद र विकासको अर्थ र अन्तरसम्बन्ध पर्गेल्ने प्रयास मात्र होइन, नेपालको विकासमा भाग्यवाद नै प्रमुख अवरोधक भएको निष्कर्ष पनि छ।

मानवशास्त्री विष्टले आफ्नो वर्षौंको अध्ययनबाट किन यस्तो निष्कर्ष निकाले ? के साँच्चै हाम्रो विकासको शत्रु भाग्यवाद नै हो त ? के उनको निर्क्योल विवादरहीत छ त ? यसको व्याख्या विष्टको मुख्य अवधारणाबाटै थालौं। 

विष्टका अनुसार, ‘ब्राह्मणवाद’बाट आएको ‘भाग्यवाद’कै कारण नेपालको ‘विकास’ हुन नसकेको हो। उनको लेखाइमा ‘विकास’को अर्थ भौतिक विकास होः सडक, विद्युत, भवन, कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि आदि। 

तर, आज हामी यी तत्वलाई मात्रै ‘विकास’ मान्दैनौं, मानव विकास सूचकांक, लैंगिंक समानता, सामाजिक र आर्थिक समानता, आदिका आधारमा पनि समाजको विकास नाप्छौं। तर, ३० वर्ष अघि लेखिएको पुस्तकको अवधारणा अनुसार विकासको अर्थ भौतिक विकास नै हो। 

‘ब्राह्मणवाद’ भन्नाले विष्टले हिन्दु जात प्रथालाई मानेका छन् भने ‘भाग्यवाद’ भन्नाले संसारमा हुने सबै कुरा पहिल्यै निर्धारण भइसकेको छ भन्ने नियती वा प्रारब्धको हिन्दु अवधारणालाई मानेका छन्। र, खासगरी जात बदल्न सकिन्न भन्ने अवधारणामा यो दर्शन लागू गरेका छन्।

हो, ब्राह्मण अवधारणाहरूमा आधारित जातप्रथा नेपालको ठूलो सामाजिक समस्या हो तर ‘ब्राह्मणवाद’बाट आएको ‘भाग्यवाद’ कै कारण नेपालको ‘विकास’ हुन नसकेको हो भन्ने विष्टको भनाइसँग प्रशस्त असहमति जनाउन सकिन्छ। 

‘भाग्यवाद’
पुस्तकमा विष्ट भन्छन्- भाग्यवाद भनेको त्यस्तो मान्यता हो जसमा मानिसको अवस्था सर्वोच्च देवताले बनाइदिएको हुन्छ, र हरेक मानिसको भाग्य पहिले नै निर्धारण गरिएको हुन्छ। मान्छे खुशी वा सफल छ भने त्यो पुर्वजन्मको फल मानिन्छ। आफ्नो कर्मलाई प्रभावित गर्नमा मान्छेको आफ्नै भूमिकालाई भने बेवास्ता गरिन्छ। बरु कर्म चाहिँ पहिल्यै निर्धारित र मान्छेले केही गर्दा पनि नबदलिने मानिन्छ।

“... भाग्यवादले मानिसको समस्या समाधान र लक्ष्य प्राप्ति गर्ने काममा ठूलो प्रभाव पार्छ। घटनाक्रम पहिल्यै नै निर्धारण भए अनुसार नै हुने हो भने परिणाम परिवर्तन गर्न खोज्नुको कुनै अर्थ छैन। यसरी मानिसहरू विपन्नता र अभावमा बानी परिसकेपछि जीवन निर्वाह गर्न भन्दा बढी मेहनत गर्न रुचाउँदैनन्।”

 

प्रकाशित मिति: : 2021-01-17 14:38:00

प्रतिकृया दिनुहोस्