कसरी हराउँछन् यति धेरै महिला–बालबालिका ?

माघ ४ गते। दाङ जिल्लाको तुलसीपुर नगरपालिका वडा नम्बर ७ का विष्णुबहादुर रोका कोहलपुरस्थित बसपार्कमा छोरासहित  घर जान आइरहेका थिए। उनी आफ्नो छोरा १६ वर्षीय मनोजका लागि लुगा किन्न कपडा पसलमा छिरे। उनी त्यतै व्यस्त भए। 

१५ मिनेटपछि  बाहिर निस्कदा छोरालाई देखेनन्।  सुस्त मनस्थिति भएका मनोज हराए। विष्णुले  छोरालाई बसपार्क क्षेत्रमा खोजे तर कतै भेटेनन्। अहिले पनि उनी छोराको  खोजीमा विभिन्न अड्डा  धाइरहेका छन्। 

छोराको खोजीका लागि उनले प्रहरी, रेडियो, पत्रिका र टेलिभिजन सबै ठाउँमा  जानकारी गराइसके। सुस्त मनःस्थिति भएका  मनोज हराएको दिनदेखि रोका परिवारमा सान्नाटा छाएको छ।  विष्णु भन्छन्, ‘छोरो राम्रोसँग बोल्नसमेत सक्दैन। के खाएको होला, कहाँ होला। घरमा आमा रोएर हैरान छ। म पनि एकचोटी पनि बस्न पाएको छैन। उनको परिवार कामको सिलसिलामा बाँकेमा बस्दै आएको छ। 

जुम्लाको गुठीचौर गाउँपालिका–४, बाहुली गाउँका प्रकाश न्यौपानेको परिवारलाई मनमा शान्ति छैन। १० महिनायता कोहलपुरमा बस्न थालेका उनी पुस ६ गतेयता बेचैन छन्। उनको परिवार गत वर्षको चैत्र महिनादेखि कोहलपुरमा बस्दै  आएको छ।

विगत चार महिनायता उनी आफ्नो नयाँ घर बनाउनमै व्यस्त थिए तर २०७७ पुस ६ गतेयता भने उनको घरमा सन्ताटा छाएको छ। प्रकाशका एक मात्र १० वर्षीय छोरा दीपेन्द्र न्यौपाने एक्कासी घरबाट हराएपछि उनको परिवारमा सान्नाटा छाएको हो। 

दीपेन्द्र घरबाट हराएको महिना दिन बितिसक्दासमेत कुनै अत्तोपत्तो छैन। नयाँ घरको काममा व्यस्त हुनुपर्ने प्रकाश अचेल हरेक दिन छोराको खोजीमा गाउँ–गाउँ चाहर्छन्। पुस ७ गतेदेखि उनी छोराको खोजीको लागि प्रहरी, संघ संस्था र मिडिया धाइरहेका छन्। 

घरको एक्लो छोरा हराएको दुई साता बित्न लाग्दासमेत नभेटिएपछि उनी हराएको छोरा खोज्दै हारगुहार गरिरहेका छन् तर दीपेन्द्र अझै भेटिएका छैनन्। 
यतिमात्रै होइन, जिल्ला प्रहरी कार्यालय, बाँकेले पुस २९ गते  ‘बालिका हराएको सूचना’ प्रकाशित ग¥यो। उक्त सूचनाको विवरण थियो। 

बालिका हराएको सूचना
नामथर: सेहरी खातुन
वतन: जिल्ला बाँके कोहलपुर न.पा.१४ हवल्दारपुर
हुलिया: वर्ण गहुँ गोरो, उचाइ ४.६ फिट, शरीर पातलो।

उनी २०७७/०९/२१ गते घरबाट एक्कासी हराएकी थिइन्। उनी अझै भेटिएकी छैनन्।

दाङका रोका, जुम्लाका न्यौपाने र बाँकेकी खातुन हराएको त नमूना ‘केस’ पात्र मात्र हो। साविक मध्यपश्चिाञ्चल विकासको क्षेत्रको मुकाम रहेको जिल्ला बाँके अहिलेको लुम्बिनी प्रदेशको ‘ट्रान्जिट प्वाइन्ट’ हो। चेलीबेटी बेचविखन, लागूऔषध, सीमा समस्या यहाँको प्रमुख समस्यासमेत हो।  

बाँके दैनिकजसो सरदर एक दुई जना हराएको सूचना आउने गरेको प्रहरी बताउँछ। जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक हेर्दा पनि विगत तीन वर्षमा सयौँ महिला तथा बालबालिका हराएको देखिन्छ। 

पछिल्ला तीन वर्षमा मात्रै आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन्। हराउनेमा महिला तथा बालबालिकाका साथै जेष्ठ नागरिक समेत छन्। 

तीन वर्षमा आठ सय आठ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै निवेदन परेको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, बाँकेले  हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेको रहेको जनाएको छ। 

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म  कुल चार सय ८१ महिला हराएका छन्।  

यस्तै दुई सय २० जना बालिका, ९९ जना बालक र ८ जना ज्येष्ठ नागरिक हराएको उनले बताइन्। 

प्रहरी सहायक निरीक्षक मगरका अनुसार,  हराएकामध्ये छ सय ८२ महिला तथा बालबालिका घर फर्किसकेका छन्। अझै एक सय २६ जना फेला पर्न नसकेको  उनको भनाइ छ। 

केन्द्रले दिएको जानकारीअनुसार, आर्थिक वर्ष २०७५/७६ मा तीन सय ७० जना, ०७६/७७ मा तीन सय ११ जना र चालू आर्थिक २०७७/७८ मा एक सय २७ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन्। 

चालू आर्थिक वर्षको माघ पहिलो सातासम्म हराउनेमा ८०  जना महिला, ४६ जना बालबालिका तथा एक जना ज्येष्ठ नागरिक छन्। तीमध्ये ९२ महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ। हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुनसक्ने अनुमान प्रहरीको छ।  

विगत तीन वर्षको  तथ्यांक हेर्दासमेत बाँकेमा मानिस हराउने क्रम बढ्दो क्रममा रहेको  देखिन्छ। लुम्बिनी र कर्णाली प्रदेशमा महिला तथा बालबालिका बेचविखन न्यूनीकरणका क्षेत्रमा काम गर्ने ‘थ्री एन्जल, नेपाल’ का प्रदेश को–अर्डिनेटर लोकेन्द्र सुनारका अनुसार, बाँकेमा मानिस हराउने गम्भीर समस्याका रुपमा रहेको छ। उनले संस्थाले लामो समयदेखि घरबारबिहीन भएकाहरुलाई आरक्षण दिँदै आएको उनको भनाइ छ।  

सुनारले घरपरिवारमा हुने मनमुटाव, भगडा तथा बेमेलका कारण मानिस घर छोडेरै हिँड्ने गरेको बताए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर राना बाँकेमा रहेका विभिन्न समस्या समाधानका लागि सक्रिय रुपमा लागि परेको बताउँछन्।  उनले भने, ‘बाँकेलाई शान्तिपूर्ण जिल्लाको रुपमा चिनाउन लागि परेको छु। 

यहाँ धेरै प्रकारका समस्या रहेका छन्। प्रहरीले निकै संम्बेदनशिल भएर काम गरिरहेको छ।’ सीमावर्ती क्षेत्र भएका कारण बाँकेबाट हराएकालाई भारतमा पु¥याइने गरेको प्रहरी सूचना प्रहरीसँग रहेको छ। 

प्रकाशित मिति: : 2021-01-21 20:01:00

प्रतिकृया दिनुहोस्